कति स्वाधीन छौँ हामी ?

शुक्रबार, १५ मङि्सर २०७४, ०९ : ४२ युवराज गौतम

कठोर, दृढनिश्चयी र प्रवल इच्छाशक्ति भएका सर विन्स्टन चर्चिल सन् १९४० देखि पाँच वर्षसम्म ब्रिटेनका प्रधानमन्त्री भए । सुयोग्य राजनेताहरूको चर्चा हुँदा उनको नाम अग्रपंक्तिमा आउँछ । पत्रकार, सैनिक अधिकृत, लेखक र राजनीतिज्ञको भूमिकामा उनी सक्रिय भए । समकालीन मित्रहरूसँग बहस गर्दा चर्चिल भन्ने गर्थे– भविष्यमा लेखिने इतिहासले हामीतिर औंला ठड्याएर कैयन् प्रश्न गर्न सक्छ । इतिहासले त्यस्तो प्रश्न सोद्धा हाम्रा कारणले हाम्रा सन्तति लज्जित बन्नुहुँदैन।

फ्रयाङ्कलिन रुजबेल्ट र जोसेफ स्टालिनलाई समेत मौन गराउन सक्थे चर्चिल । गहिरो अध्ययन, स्पष्ट दृष्टिकोण, हरेक समस्यालाई सूक्ष्म मीमांसा गरेर निर्णय गर्ने क्षमता, राष्ट्र तथा जनताको हितका लागि समर्पित हुने चरित्र एवं गलत कुरामा सम्झौता नगर्ने स्वाभिमानपूर्ण अडान चर्चिलको परिचय बन्यो । ‘अल–आउट वार’ घोषणा गरेर दोस्रो विश्वयुद्ध जित्ने चर्चिल सन् १९४५ को आमनिर्वाचनमा पराजित भए । ‘बेकारमा युद्ध गरेर जनतालाई दुःख दिएको’ भन्दै चर्चिलको कन्जरभेटिभ पार्टीलाई जनताले परास्त गरे । उनले हरेस खाएनन् । सन् १९५१ मा उनको दल संसदीय चुनावमा पुनः विजयी भयो र सन् १९५५ सम्म चर्चिल प्रधानमन्त्री भए । ब्रिटिस बाबु र अमेरिकी आमाबाट जन्मेका चर्चिलको सन् १९६५ मा ९५ वर्षको उमेरमा मृत्यु भयो । ब्रिटेनका जनता आज पनि उनलाई श्रद्धापूर्वक सम्झन्छन् । 

राष्ट्र जलिरहँदा, कमजोर भइरहँदा, भं्रष्टाचार, बेथिति र विदेशी हस्तक्षेपले थिल्थिलो बनिरहँदा जुन देशका जनता सत्य बोल्ने साहस गर्दैनन्, त्यो राष्ट्र कतिन्जेल जीवित रहला ?

केही वर्ष सत्ताको कुर्सीमा बस्ने व्यक्ति वास्तविक अर्थमा विजयी हुँदैन । जो सयौँ वर्षसम्म जनताको हृदयमा बस्न सफल हुन्छ, विजेता उही ठहरिन्छ । सिमाना, भूगोल, इतिहास, धर्म–संस्कृति, परम्परा एवं जनताको रक्षा गर्न सक्दैन भने त्यस्तो सरकारको कुनै ‘दरकार’ हुँदैन । सामाजिक आधार, राज्य–व्यवस्था, जनताको हक र स्वतन्त्रता, आर्थिक सुरक्षा र जनहितका पक्षमा केही गर्दैन भने त्यस्तो राजनीतिक प्रणालीलाई विदेशीले काँध थापिरहे पनि जनताले महामृत्युञ्जय पाठ गरेर बस्दैनन् । धेरै राष्ट्रमा यही देखिएको छ। 

नेपाल समाजशास्त्री संघका अध्यक्ष प्रा. चैतन्य मिश्रले दलकै कारण नेपालको लोकतन्त्र जोखिममा परेको विश्लेषण गरेका छन् भने अन्य कतिपय प्राध्यापक, लेखक, विश्लेषक र पुराना पत्रकारको तर्क त्यस्तै छ । निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले गणतन्त्रको आवरणमा डनतन्त्र, धनतन्त्र, गनतन्त्र (बन्दूकतन्त्र) र बमतन्त्र फस्टाउने निश्चित छ । करोडपति–अर्बपतिलाई पति (स्वामी) मान्न दलका अधिपतिहरू तयार छन् । उनीहरू चिन्तक, विश्लेषक, राजनीतिशास्त्री, विद्वान्–विदुषी, समाजसुधारक एवं त्यागी–इमानदारहरू रुचाउँदैनन् । तर्क गर्ने मानिसलाई छेउमा जानै दिँदैनन् । जे भने पनि ‘हजुरको कुरा ठीक’ भनिदिने दासहरूको घेरामा बस्न चाहन्छन् । तुलनात्मकरूपमा वस्तुपरक मानिने बुद्धिजीवी तथा राजनीतिज्ञ नीलाम्वर आचार्य भन्छन्– समाजले बुद्धिजीवी मानेका व्यक्तिले व्यक्तिगत लाभ नहेरी बृहत् सामाजिक चासोमा देखेको कुरा प्रष्ट बोल्नुपर्छ । तर, पार्टीकै झन्डा बोक्ने बुद्धिजीवीहरूको दबदबा भएको देशमा निष्पक्ष र निर्भीक बुद्धिजीवी कहाँ पाउनू ? 

नेता र बुद्धिजीवी पाल्न नेपालमा विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायमार्फत प्रत्येक वर्ष अर्बौं रुपियाँ अपारदर्शी ढंगबाट खर्च हुने गरेको सञ्चारमाध्यमले पटकपटक उजागर गर्दै आएका छन् । उच्चपदस्थ कर्मचारी एवं राजनीतिज्ञहरूको मिलेमतोमा त्यस्तो रकम दुरुपयोग भइरहेको पाइन्छ । राष्ट्र बैंक र सरकारी बैंकहरूमार्फत विदेशी संस्थाले आर्थिक कारोबार गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन भइरहँदा पनि सरकार मौन, निरीह र लाचार देखिएको छ । आफ्ना हजारौँ कार्यकर्ता र उनीहरूले सञ्चालन गरेका कतिपय गैसरकारी संस्था विदेशी दानापानीमा आश्रित भएका कारण ठूला दलहरू यस विषयमा मौन बसेकोे देखिन्छ । 

लेवनानमा मात्र होइन, अफ्रिकी राष्ट्रहरूमा दाताको भेषमा त्यहाँका पिता र माता बन्न खोज्ने पश्चिमाहरूले जात, धर्म, भाषा र क्षेत्रको किचलो गराएझैँ नेपालमा दातृनिकायका रूपमा प्रवेश गरेका कैयन् संस्थाका क्रियाकलाप सन्देहको घेरामा छन् । राष्ट्रलाई माया गर्ने व्यक्तिहरूका हातमा वागडोर भइदिएको भए शंकास्पद र राष्ट्रविरोधी गतिविधि गर्नेहरूलाई ‘पर्सोना–नन्–ग्राता’ घोषित गरेर देश निकाला गरिन्थ्यो । विदेशीका आदेश पालना गर्दा गर्वको अनुभूति गर्नेहरूले कैयन् वर्षअघिदेखि देश ‘चलाउने’ नाममा जलाउने काम गर्दै आएका छन् । टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित केही सुरक्षाकर्मीको हत्या र २०६२/६३ सालपछि ठाउँठाउँमा भएका जघन्य अपराधका घटना आगामी दिनमा ‘दिन दोब्बर, रात चौबर’ बढ्न सक्ने देखिन्छ । किनभने हरेक दलले छात्रावास खोलेर अपराधीका बथान पालेका छन् । रहस्यमय अजेन्डामा हात हालेका छन्।

विगतलाई जति गाली गरे पनि नेपालले विश्वसामु मान्यता, सम्मान र प्रसिद्धि पाएको राजतन्त्रकालमै हो । ब्रिटेन र भारतसँग सीमित कूटनीतिलाई विस्तार गरेर राजा महेन्द्रले ५३ राष्ट्रसँग दौत्य सम्बन्ध बढाए । पुरेन्द्रविक्रम शाह परराष्ट्रमन्त्री, नरप्रताप थापा परराष्ट्र सचिव र हृषिकेश शाह संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली दूत (.राजदूत) रहेका बेला राजा महेन्द्रले उनीहरूलाई बोलाएर ‘चीनलाई राष्ट्रसंघको सदस्य बनाउन नेपालले राष्ट्रसंघको महासभामा आवाज उठाउनुपर्छ’ भन्ने निर्देशन दिएका थिए । २०१५ सालमा नेपालले चीनका पक्षमा खुलेर समर्थन गरेकै कारण चीनका नेता माओ र राजा महेन्द्रबीचको सम्बन्ध अरु प्रगाढ बन्दै गयो । चीनमा गणतन्त्र स्थापना भएको दशौँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालबाट गएका कम्युनिस्ट नेता डा. केशरजंग रायमाझी र पि.बी. मल्ल तथा कांग्रेसका नेताहरू तुलसी गिरी र अच्युतराज रेग्मीसँग माओले भेट गर्दा ‘राजा महेन्द्र साम्राज्यवाद र विस्तारवादसँग लड्न सक्ने प्रखर नेता’ भन्दै खुलेर प्रशंसा गरेको डा. रायमाझीले आफ्ना अन्तर्वार्ता र आलेखमा उल्लेख गरेका छन्।

‘योग्यं योग्याय दातव्यम्’ भन्ने शास्त्रको वचन छ । पृथ्वीनारायण शाहले आफ्ना प्रियपात्र विराज बखेतीलाई मन्त्री (काजी) पद दिन चाहेका थिए तर छरछिमेक र जनताको राय बुझ्दा विराजभन्दा कालु पाँडे लोकप्रिय, क्षमतावान, योग्य र बुद्धिमान छन् भन्ने सुझाव आयो । त्यसैलाई आधार मानेर राजाले व्यक्तिगत इच्छा त्यागिदिए । जनमत कालु पाँडेका पक्षमा भएकाले राजइच्छाभन्दा जनइच्छाको कदर भयो । आजका शासक जनताको भावनाअनुसार होइन, बाहिरी शक्तिको इसारामा हिँड्छन् भन्ने स्पष्ट देखिएको छ। 

नेपालको हजारौँ वर्ष पुरानो धर्मसंस्कृति निर्मूल गर्न खोज्ने विदेशी पादरीलाई पृथ्वीनारायणले लखेटेको भन्दै माओवादीलाई इसाइ फौज बनाएर २४० वर्ष पुरानो रिसइबी साँध्दै उनका सालिकहरु ढालियो । राष्ट्रिय एकता दिवस (पुस २७) लाई नालीमा फालियो । २०६२÷६३ सालपछि बनेका कुनै पनि सरकारले पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस स्वीकार गरेनन् । किनभने त्यसो गर्दा दाताहरू रिसाएर आर्थिक सहायताको खाता बन्द गर्नेछन् भन्ने कुरा दलहरूले बुझेका छन् । गत वर्ष पुस २७ गते बागलुङमा आयोजित समारोहमा यो पंक्तिकारले भनेको थियो–सभ्य व्यक्तिले मात्र राष्ट्रिय विभूति र राष्ट्रनिर्माताको सम्मान गर्छन् । पराधीन र असभ्यहरूबाट हामी राष्ट्रवाद र राष्ट्रियताको सम्मान हुन्छ भन्ने आशा गर्दैनौँ ।

वि.सं. १७९९ देखि १८३१ सम्म ३२ वर्ष अहर्निश संघर्ष गरेर नेपाललाई बलियो बनाए पृथ्वीनारायणले । लिच्छविकालको अन्त्यपछि टुक्रिँदै कमजोर बनेका सबै राज्यलाई एकीकृत गरे उनले । अमेरिका स्वतन्त्र भएकै समयमा लेखिएको महान् अर्थशास्त्री एडम स्मिथको ‘वेल्थ अफ नेसन’ ग्रन्थमा उनले राष्ट्रका प्रत्येक नागरिकलाई राष्ट्रको पुँजी भनेका छन् । सन् १७७६ मा अमेरिका स्वाधीन हुनुभन्दा आठ वर्षपहिले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहले ‘राजाका भण्डार (सम्पत्ति) भनेका रैतानहरू हुन्’ भनेका थिए । कानुनी राज्यको परिकल्पना गर्दै राम शाह, जयस्थिति मल्ल र महिन्द्र मल्लको विधिको शासन (रुल अफ ल) को प्रशंसा गरेका छन् उनले । तर पृथ्वीवादलाई मूल नीति मान्नुको साटो दलहरू माक्र्स, लेनिन, माओ, स्टालिन, गान्धी, लोहिया र चारु मजुमदारपथमा हिँडेका छन्। 

भविष्यमा लेखिने इतिहासले हामीलाई कैयन् प्रश्न गर्न सक्छ– किन बिर्सियौ राष्ट्रवाद ? किन हेलाँ गर्‍यौ राष्ट्रिय स्वाभिमानलाई ? किन बुझ्न सकेनौ पुर्खाको गाथा ? किन कुल्चिँदै हिँड्यौ इतिहास ? किन त्याग्यौ इमानदारी र साहसको बाटो ? राजा, जनता र सेना मिलेर निर्माण गरेको राष्ट्रमा किन गरायौ विदेशीको ढलिमली ? राजतन्त्र फ्याँकेपछि राष्ट्रमा सुख, शान्ति र समृद्धि आउँछ भन्नेहरू अझै टाढिरहेका छन् तर हामी प्रश्न गर्ने साहस गरिरहेका छैनौँ ।

हो, राष्ट्रलाई ‘धर्म निरपेक्ष’ बनाउनुपर्छ भन्नेहरूले धर्मको अर्थ बुझेकै रहेनछन् । नेपाली बृहत् शब्दकोशमा लेखिएको छ–धर्मको अर्थ ‘व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति, प्रकृति, स्वभाव’ । त्यसो भए राष्ट्रको धर्म के त ? राष्ट्रको मुख्य धर्म सरहद, जनता, संस्कृति, परम्परा सबैको रक्षा गर्दै इतिहास बचाउनु हो । राष्ट्रले त्यो सधैँ रहिरहने गुण त्यागेर ‘धर्म निरपेक्ष’ हुन पाउँछ ? पश्चिमाहरूले करोडौँ डलर खर्चेर उनीहरूले अपनाएको ‘क्रिस्चियनिटी’ फैलाउन नेपालमा हजारौँ वर्ष पुराना धर्म संस्कृति निर्मूल गर्न दल, एनजिओ, प्रेस, बुद्धिजीवीलगायतको भीडबाट लोभीपापीलाई खुवाबिर्ता दिए । उनीहरू धर्म निरपेक्षता, गणतन्त्र, संघीयता आदि विषवृक्षको मलजल गर्ने माली भएका छन् । जनतालाई किनाराको साक्षी बनाइएको छ।

संसारका पचासवटा दरिद्र राष्ट्रमा सबै गणतन्त्रवादी राष्ट्र किन दरिद्रतम हुँदै गएका छन् ? गोराहरूको आदेशमा ती ‘धर्म निरपेक्ष’ भए तर धनी, सुखी, शान्त र समुन्नत भएनन् किन ? समाचारमा रोग भोक र शोकका भकारी र गृहयुद्धका सिकारी बनेर छाइरहने कंगो, मोजाम्बिक, अंगोला, बुरुन्डी, सियरालिओन, हाइटी, अफगानिस्तान, किरिबाटी, इरिट्रिया, मलावी, नाइजर, लाइबेरिया, बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिकलगायतका दरिद्रहरू किन ‘गणतन्त्रवादी’ भएर पनि भोकै छन् ? अजरबैजान, अल्वानिया, टर्की, कोसोभो, कजाखस्तान, इन्डोनेसिया र लेवनानदेखि सेनेगलसम्म सेक्युलारिजम (धर्म निरपेक्षता ?) फैलाएर पश्चिमाहरूले त्यहाँका प्राचीन धर्म संकृति, सभ्यता  विभिन्न जात–जातिको मौलिक पहिचान मास्न चाहेको देखिन्छ । साम्राज्यवाद र विस्तारवादको नयाँ जामा लगाइदिएर नेपालीलाई पश्चिमाका तालमा छम्छमी नचाउने काम भइरहेको छ । चुनाव जितेर हजारौँले गाउँगाउँमा अबिर दलेका छन् तर राष्ट्र दिन÷प्रतिदिन हारिरहेको छ । स्वाभिमान गुमाइरहेको छ । तपाईँ हामीले २०६२/६३ सालपछि देखेका सबै प्रधानमन्त्री किन ‘मुख्यमन्त्री’ जति पनि भएनन् ? किन साहसपूर्वक उनीहरूले विदेशीको हुकुम–प्रमांगी (हुप्र) नमान्ने साहस गरेनन् ? भारतले भकुर्दा चीन पुग्ने र चीनले चिमोट्दा भारत पुग्नेहरूबाट के आशा गर्ने ? के नेपाली जनताले आफैँ निर्णय गर्न नपाउने ?

हरेक वर्ष सरकार ढाल्ने र नयाँ भेडीगोठ पाल्ने खेल अन्त्य हुन्छ भन्ने पंक्तिकारलाई लाग्दैन । स्थायी र भरपर्दो पद्धति नभएसम्म रोग बल्झिइरहनेछ । प्रदेश र केन्द्रबीचको तनाव, प्रदेश–प्रदेशबीचको कलह, मन्त्री बन्ने होडवाजी, विदेशी शक्तिको चरम हस्तक्षेप, करोडौँ डलर खर्च गरेर दलनायकहरूलाई मारुनीझैँ नचाउने प्रवृत्ति र राष्ट्रलाई अरु कमजोर बनाउने प्रयत्न यथावत् रहने देखिन्छ । तर प्रतिवाद गर्ने कसले ? गलत भयो भन्ने कसले ? जनताले सांसदसम्म बनाउँछन् तर सरकार बनाउँछन् विदेशीले, किन ?

हत्यारा, डाँका, चोर, बलात्कारी, घुस्याहा, देशद्रोही र जघन्य अपराधीलाई भोट दिनैपर्ने कस्तो बाध्यता हो ? करोडौँ रुपियाँ खर्च गर्न नसक्नेहरू जतिसुकै योग्य भए पनि घरमै थन्किएका छन् । यही हो लोकतन्त्र ? यही विकृतिको रक्षाका लागि जनताले कर तिरिरहनुपर्ने ? थपडी मारिरहनुपर्ने ? यो कस्तो पद्धति हो ?

बेबिलोनको सभ्यताबाट जुरुक्क उठे हिब्रुहरू र आफ्ना परम्परा बचाउँदै अघि बढे । नर्डिक सभ्यता बचाउन के त्याग गरेनन् त्यहाँका बासिन्दाले ? चीन, जापानलगायतका प्राचीन राष्ट्र समृद्धिको शिखरमा पुगे पनि ‘आफ्नोपन’ बचाइरहेका छन् । ब्रिटेन र अमेरिकाभन्दा समृद्ध बन्न खोजेको फ्रान्स इतिहासमा गर्व गर्छ । जर्मनहरू हामी कमजोर छैनांैँ भन्दै सगर्व उभिएका छन् । मुसलमान राष्ट्रहरू आफ्ना धर्म–संस्कृति र परम्पराप्रति गर्वोन्मत्त छन् । भौगोलिक दृष्टिले सानो राष्ट्र इजरायल ज्युँदो र जीवन्त छ । सग्लो र सजीव छ । हामी क्रान्तिकारी हुने रहरमा दिनहुँ पशुवत् बन्दै गएका छौँ । पशु, जो पेटभरि खान पाउँदा खुसी हुन्छ । दाम्लोमा बाँधेर मालिकले जता डोर्‍याए पनि लुरुलुरु पछि लाग्छ । हामी पनि एक÷एकवटा दलको दाम्लोमा बाँधिएका छाैँ । दाम्लो चुँडाउन सक्दैनौँ । स्वतन्त्र चिन्तन हराउँदै गएको छ । दलका मालिकहरूले पद, पैसा, पुरस्कार बकस केही दिन्छन् कि भनेर उनीहरूकै जय÷जयकार भन्दै महिमामण्डित गर्दै बुर्कुसी मारिरहेका छौँ हामी । राष्ट्र जलिरहँदा, कमजोर भइरहँदा, भष्टाचार, बेथिति र विदेशी हस्तक्षेपले थिल्थिलो बनिरहँदा जुन देशका जनता सत्य बोल्ने साहस गर्दैनन्, त्यो राष्ट्र कतिन्जेल जीवित रहला ? जहाँ ‘चेतनशील’ भनिने वर्ग नै युरो, डलर, भारुलगायतका विदेशी द्रव्यको ‘क्लोरोफर्म’ सुँघेर लठ्ठ छ, त्यहाँ सत्य बोल्ने कसले ? जनतालाई उठाउने कसले ? वैचारिक दासत्वबाट मुक्ति दिने  कसले ? प्रश्न अनुत्तरित छन्।  







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...