coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निधि र महतोबीच कडा टक्कर

जनकपुर – बिहीबार जनकपुरको पिराडीचोक स्थित चियापसलमा भेटिएका हरि राउतले चुनावमा महतो र निधि आमनेसामने भएपछि प्रचारमा खट्न समस्या भइरहेको बताए । उनी मधेस  आन्दोलनताका दिनभर जुलुसमा हिँड्थे। प्रहरीसँगको झडपमा दुई पटक समान्य घाइते पनि भए । ३२ वर्षीय उनले अहिलेसम्म कुनै पार्टीको सदस्यता लिएका छैनन् तर वैचारिक रूपले मधेस वादी दलप्रति समर्थन रहेको बताउँछन्।

चुनावी प्रचारमा खट्न के समस्या प¥यो त भन्ने जिज्ञासामा उनले भने, ‘प्रचारमा गएपछि कुनै एक उम्मेदवारको पक्षमा उभिनै पर्छ । निधि र महतो दुवै मधेस को मुद्दामा उतिकै महत्त्वपूर्ण छन् तर कसको पक्षमा बोल्ने र कसको विरोध गर्ने दुविधा छ।’

दोस्रो जनआन्दोलन अवतरण भएलगत्तै सुरु भएको मधेस आन्दोलनलाई अहिलेसम्म नजिकबाट नियाल्ने प्राध्यापक डा. सुरेन्द्र लाभले निधि र महतोबीचको प्रतिस्पर्धालाई ‘मधेसको दूर्भाग्य’ बताउँछन् । संसद्मा उनीहरू दुवैको उपस्थिति आवश्यक रहेको लाभले बताए । ‘निधि र महतो प्रतिस्पर्धीका रूपमा मैदानमा उत्रँदा अब मधेसले एक महŒवपूर्ण प्रतिनिधि गुमाउनेछन्,’ उनले बताए।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा दोस्रो चरणको मतदान गर्ने दिन नजिकिँदै जाँदा दलहरूबीच चुनावी प्रतिस्पर्धा बढ्दैछ । प्रस्तावित मधेस  प्रदेशको राजधानी जनकपुरको चुनावी प्रतिस्पर्धा भने चिन्ताजनक अवस्थामा पुगेको लाभको ठम्याइ छ । ‘निधि र महतोजी सत्तासाझेदार हुन् । उनीहरूमध्ये जसको जितहार भए पनि राजनीतिक तालमेल गरिहाल्ने छन् । तर, पक्ष र विपक्षको नाउँमा युवावर्गबीच भएको अस्वस्थ संस्कारलाई पुर्न भने वर्षौं लाग्छ’ उनले भने।
मधेस  आन्दोलनको समीक्षा गर्ने अभियन्ताहरू धनुषा–३ को प्रतिस्पर्धाका विषयमा मुख खोल्नै चाहँदैनन् । मधेसी अभियन्ता तुलानारायण साह र दिपेन्द्र झाले धनुषा–३ बाहेकको विषयमा मात्रै कुरा गर्न आग्रह गरे । ‘दुई नम्बर प्रदेशकै कडा प्रतिस्पर्धा भइरहेको यस क्षेत्रमा को कति प्रभावशाली भन्ने विषयमा कुरा नगरेकै राम्रो’ झाले बताए।

मधेसका विश्लेषक चन्द्रकिशोर झाले धनुषा ३ मा देशभरकै सबैभन्दा कडा प्रतिस्पर्धा रहेको बताए । कांग्रेसका निधि एक हप्ते काठमाडौं बसाइपछि बुधबार आफ्नो चुनावी क्षेत्रमा फर्किंदा निकै उत्साहित देखिएका तर राजपाका महतोको आत्मविश्वासमा पनि कुनै कमि नआएको सुनाए । ‘वास्तवमा यस क्षेत्रका मतदातालाई प्रतिनिधि चुन्न कठिन भएकै हो’ झाले भने, ‘यो चुनाव नागरिकलाई प्रशिक्षित पनि गर्नेछ ।’ निधि र महतो दुवैको सबल र दुर्बल पक्षलाई मिहिन ढंगले विश्लेषण  भइरहेको बताउँदै उनले थपे, ‘विगतको राजनीतिक भूमिका र राष्ट्रिय राजनीतिमा तुलनात्मक रूपमा बलियो प्रभाव राख्न सक्ने नेतृत्वलाई जनताले छनोट गर्नुपर्ने हुन्छ।’

महतोलाई बाहिरिया उम्मेदवार भनेर होच्याउने काम हुनु गलत भएको झाको भनाइ छ । ‘यो स्थानीय चुनाव होइन, राष्ट्रिय नेतृत्व चयन गर्ने चुनाव हो । त्यस कारण जोकोही उम्मेदवारले जहाँबाट पनि लड्न पाउने नै हो,’ उनले भने।

पूर्व उप–प्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले ०५१ सालमा पहिलो पटक जनकपुर क्षेत्रबाट चुनाव लडेका थिए । त्यसयता ०५६ सालको चुनावबाहेक निरन्तर विजयी हुँदै आएका छन् । उनी विगतमा शिक्षा, भौतिक पूर्वाधार र गृह मन्त्रालय सम्हालिसकेका छन्। 

निधिका प्रतिद्वन्दी महतो २०४८ मा सर्लाहीबाट निर्वाचित भएका थिए तर २०५१ र २०५६ मा पराजित भए । उनी २०६४ विजयी भए तर २०७० मा पराजित । उनी पहिलो पटक सर्लाही बाहिर धनुषा–३ बाट चुनावी मैदानमा छन् । उनले विगतमा उद्योग, आपूर्ति र स्वास्थ्य मन्त्रालय सम्हालिसकेका छन्। 

प्रकाशित: १५ मंसिर २०७४ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App