१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको आपत्ति

काठमाडौं– नेकपा एमालेले निर्वाचन प्रभावित गर्नेगरी आचारसंहिता उल्लंघन गर्दै सरकारले राज्यकोषबाट सहयोग वितरण गरेको भन्दै आपत्ति जनाएको छ। 

एमाले केन्द्रीय निर्वाचन कमिटीका प्रवक्ता विष्णु रिमालले बिहीबार विज्ञप्ति जारी गर्दै शान्तिसुरक्षा दिन असफल भएको सरकारले राज्यकोषको दुरुपयोग गरेको उल्लेख गरी त्यसलाई रोक्न माग गरेका छन् । ‘दुःखको कुरा, सरकार शान्तिसुरक्षा कायम गर्ने दायित्वबाट पूर्णतः विमुखमात्र बनिरहेको छैन, त्यसले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै अनधिकृत रुपमा राज्यकोषको दुरुपयोगलाई निरन्तरता दिइरहेको छ’, रिमालले भने, ‘सञ्चारमाध्यममा आएको जानकारीअनुसार पनि निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले नेपाली कांगे्रसका कार्यकर्तालाई प्रधानमन्त्री स्वयंको निर्देशनमा गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट १६ करोडभन्दा बढी रकम बाँडिएको छ।’

नागरिक दैनिकमा असोज र कात्तिकमा मात्रै राज्यकोषबाट आर्थिक सहयोगको नाममा १६ करोड रुपैयाँ विरतण गरिएको समाचार प्रकाशित भएको छ । त्यसैगरी सरकारले एआइजीको दरबन्दी थप गर्न लागेको प्रति पनि एमालेले आपत्ति जनाएको छ । एमालेले भनेको छ, ‘आचारसंहिताविपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुंग पार्ने कार्य तत्काल रोक्न माग गर्छ ।’ एमालेले सरकारले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भन्दै त्यसमा हस्ताक्षेप गर्न निर्वाचन आयोगसँग माग गरेको छ। 

एमालेले कञ्चनपुर–२(क) मा एमाले उम्मेदवारको गाडीमा भएको आगजनीको भत्र्सना गरेको छ।

यसैबीच सो पार्टीका महासचिव ईश्वर पोखरेलले पछिल्लो समयमा देशव्यापी रुपमा भइरहेको हिंसात्मक घटनाबारे सरकार र नेत्रविक्रम चन्दले स्पष्ट पार्नुपर्ने माग गरेका छन्। 

प्रेस चौतारी तथा प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो घटनामा सरकारको भूमिकाका कारण मिलेमतोमै भइरहेको हो कि भन्ने शंका उत्पन्न भएको बताए । ‘गुल्मीमा कांग्रेसका निर्वाचन जनप्रतिनिधिको घरबाट विस्फोटक पदार्थ भेटिएको छ । यसबारेमा प्रधानमन्त्री र कांग्रेस सभापतिको धारणा के हो,’ पोखरेलले भने, ‘विप्लव नेतृत्वका नेकपालाई घटनालाई जोडिने गरिएको छ । जिम्मेवार दल हो भन्ने आफूले गरेको घटनाको जिम्मेवारी लिनुपर्छ कि पर्दैन?’ 

कार्यक्रममा महासचिव पोखरेलले सरकारले गरेको आचारसंहिता उल्लंघनका घटनामा निर्वाचन आयोग निरीह भएको भन्दै आपत्ति जनाएका थिए । उनले वामपन्थी गठबन्धनले प्रत्यक्षतर्फ दुईतिहाइ स्थानमा जित हासिल गर्ने दाबी गरे। 

प्रकाशित: १५ मंसिर २०७४ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App