coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गरुडामा दोहोरो झडप, प्रहरीसमेत दर्जनौं घाइते

रौतहट – रौतहटको गरुडा नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फ गरी दर्जनौं घायल भएका छन्।

गरुडा नगरपालिकाका ६ महम्मदपुरका चन्द्रदेव साह कलबारको घरअगाडि प्रोजेक्टरमा मधेस आन्दोलनका घटनालाई लिएर बनाइएको भिडियो प्रदर्शन भइरहेको समयमा सशस्त्र र नेपाल प्रहरी गएर रोक्न खोज्दा स्थानीयले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो । करिब डेढ घन्टासम्म चलेको झडपमा प्रहरीतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी पन्ध्र जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले बताएका छन् । यसैगरी सर्वसाधारणतर्फ लक्ष्मी कलवार र प्रमोद दास घाइते भएको प्रहरीको भनाइ छ।

स्थानीयले भने घटनामा प्रहरी नै दोषी भएको आरोप लगाएका छन् । भिडियो प्रदर्शन गरिरहँदा प्रहरीले आक्रमण गरेको र प्रहरीको आक्रमणबाट बच्न आत्मरक्षाका लागि भाग्न खोज्दा प्रहरीले पहिले लखेटी लखेटी लट्ठी प्रहार गरेको र पछि गोली चलाएको स्थानीय सुनील यादवले बताए । प्रहरीले पचासौं राउन्ड अश्रुग्यास र दर्जनौं राउन्ड गोली प्रहार गरेको बताउँदै यादवले दर्जनभन्दा बढी घाइते भएको बताएका छन् । यता प्रहरी निरीक्षक थापाले आफ्नो तर्फबाट संयम अपनाउँदा अपनाउँदै पनि स्थानीयको उत्तेजित भीडले आक्रमण गरेको र आत्म रक्षाका लागि प्रहरीले करिब पन्ध्र राउन्ड अश्रुग्यास सेल चलाएको बताएका छन्।

घटनास्थल पुगेका प्रहरीलाई चारैतिरबाट घेरेर स्थानीयले ढुंगामुढा गरेपछि महम्मदपुर डेढ घन्टासम्म रणक्षेत्रमा परिणत भएको थियो । स्थानीयले घटनास्थलमा प्रहरीलाई चारैतिरबाट घेरा हालेकै अवस्थामा संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रदेश सभाका उम्मेदवार वृजकिशोर यादव र नगरपालिकाका मेयर इन्नु राययादवले प्रहरीलाई बाहिर निकाल्न सहयोग गरेका थिए।

घटनास्थलबाट अहिले प्रहरी बाहिरिएको छ । घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७४ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App