coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

घरदैलोमा काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

चुनाव प्रचारका क्रममा राजधानीको बौद्धमा पन्चेबाजासहित घरदैलो गर्दै नेपाली कांग्रेसका नेता कार्यकर्ता । तस्बिर : नागरिक

काठमाडौं – मोटरसाइकलमा राखिएको लाउड स्पिकरमा पार्टीको गीत घन्किएको छ । पन्चेबाजामा लोकधुन  बजिरहेको छ । सडकको दुवै किनारमा मान्छेको ताँती छ । त्यही ताँतीमा फूलमालाले सजिएकी एउटी महिला यताउता गरिरहेकी छन् । उनका अगाडिपछाडि पनि माला र अबिर पहिरिएका मान्छेको ताँती देखिन्छ । पछाडिबाट झट्ट हेर्दा विवाह जाँदैरहेछ भनेझैं हुन्छ । पन्चेबाजाको आवाजले विवाहजस्तो मानेर सर्वसाधारण घरका कोठाकोठाबाट बाहिर निस्केर हेरिरहेको देखिन्थे तर यो विवाह महोत्सव थिएन, न कुनै विजय जुलस नै । यो थियो चुनाव प्रचारको घरदैलो कार्यक्रम । बिहीबार राजधानीको बौद्धस्थित मूल सडकमा देखिएको दृश्य हो यो।

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएकी अम्बिका बस्नेत पन्चेबाजासहित घरदैलो गरिरहेकी छिन् । यस क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिका वडा नं. १, २, ३ पर्छन्।

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएकी अम्बिका बस्नेत पन्चेबाजासहित घरदैलो गरिरहेकी छिन् भने उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका कृष्ण राई धिमेबाजासहित घरदैलो गरिरहेका छन्।

बस्नेत जनताको घरदैलोमा पन्चेबाजासहित पुग्ने गरेकी छन् । जनताको मन जितेर चुनाव जिती महिला सक्षम छन् भनेर देखाउन पनि उनी पन्चेबाजासहित पुग्ने गरेकी हुन्।

‘घरदैलोमा जाँदा जनतालाई मनोरञ्जन दिन पन्चेबाजा प्रयोग गरेका हौं,’ बस्नेतले भनिन्, ‘यसले कार्यकर्तादेखि मतदातासमेतलाई मनोरञ्जन दिन्छ ।’ उनका अनुसार घरभित्र रहेका मतदाता बाहिर बोलाउनसमेत पन्चेबाजाले सहयोग गर्छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु सुनुवारले क्षेत्र नं. ३ का अधिकांश ठाउँमा घरदैलोमा जाँदा पन्चेबाजासहित जानेगरेको बताए।

यता बस्नेतको प्रतिद्वन्द्वीमा वाम गठबन्धनबाट कृष्ण राई छन् । उनी मतदाताको घरमा धिमेबाजासहित जाने गरेका छन् । ‘मैले केही ठाउँमा धिमेबाजाको प्रयोग गरेको छु,’ राईले भने, ‘यसले स्थानीयको मौलिकता समेत झल्काउँछ ।’ उनका अनुसार धिमेबाजा सोही संस्कृति भएका समुदायमा जाँदा बजाउने गरिएको छ। 

क्षेत्र नं. ३ का मतदाता भने पन्चेबाजा, धिमेबाजाभन्दा पनि काम गर्ने नियत बोकेर मत माग्न आउनु उचित रहेको बताउँछन् । ‘बाजाले एकछिन आँखा र कानलाई रमाइलो दिन्छ,’ बौद्धका मतदाता लोकनाथ दुलालले भने, ‘काम गर्ने नियत बोकेर आउनेलाई मत दिने विचारमा छु।’ 

स्थानीय तहको निर्वाचनलाई हेर्दा यस क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा १९ हजार ७ सय ६० मत खसेको थियो । खसेको मतमध्ये लोकतान्त्रिक गठबन्धनले ९ हजार ९ सय ९८ र वाम गठबन्धनले ९ हजार ६ सय २१ मत पाएको थियो । यो क्षेत्रमा लोकतान्त्रिकले वाम गठबन्धनको भन्दा ३ सय ७७ मत बढी ल्याएको थियो । बस्नेत यही मत जोगाउन पन्चेबाजासहित घरदैलोमा छिन् । स्थानीय तहको मात्रै आधार नभएर यस क्षेत्रमा आफूले धेरै काम गरेकाले जित निश्चित भएको दाबी बस्नेतको छ । बहालवाला मन्त्रीसमेत रहेकी बस्नेत आफ्नो हार हुनै नसक्ने बताउँछिन्।

यता वाम गठबन्धनका राई पनि जनताका लागि धेरै काम गरेकाले यहाँका जनताले आफूलाई रुचाएको बताउँछन् । गठबन्धन नहुँदै पनि जित निश्चित रहेको क्षेत्र नं. ३ मा गठबन्धनपछि धेरै मत अन्तरले आफूले जित्ने दाबी उनले गरे ।
यस क्षेत्रअन्तर्गतको प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनबाट छिरिङ दोर्जे लामा चुनावी मैदानमा छन् भने वामबाट रुद्र बराइलीले उम्मेदवारी दिएका छन् । यहाँ काठमाडौं महानगरपालिकाको वडा नं. ६ र गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५ र ९ पर्छन् । गत स्थानीय निर्वाचनमा यहाँ लोकतान्त्रिक गठबन्धनले ३ हजार ९ सय ५४ मत ल्याएको थियो भने वाम गठबन्धनले ३ हजार ७ सय ४९ पाएको थियो। 

त्यस्तै क्षेत्र नं. ३ (ख) मा लोकतान्त्रिक गठबन्धनबाट विमल ठकुरी चुनावी मैदानमा छन् । उनी स्वर्गीय सभासद् चक्रबहादुर ठकुरीका छोरा हुन् । वाम गठबन्धनबाट रामेश्वर फुयाँलले उम्मेदवारी दिएका छन । उनी निवर्तमान सांसद् हुन् । क्षेत्र नं. ३ (ख) मा गोकर्णेश्वर नगरपालिका वडा नं. १, २, ३, ४, ६, ७, ८ र कागेश्वरी नगरपालिकाका वडा नं. १, २, ३ पर्छन् । गत स्थानीय निर्वाचनमा यहाँ वाम गठबन्धनले ६ हजार ६ सय १६ र लोकतान्त्रिक गठबन्धनले ५ हजार ५ सय १६ मत पाएका थिए। 

 

प्रकाशित: १५ मंसिर २०७४ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App