coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेम्बाङलाई विप्लवको ‘सुरक्षा थ्रेट’

इलाम- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङलाई निशाना बनाएर चुनावविरोधी गतिविधि बढाएका छन् । जिल्लाको क्षेत्र २ बाट वाम गठबन्धनको उम्मेदवार रहेका नेम्बाङको चुनावी प्रचार अभियान नै प्रभावित गर्नेगरी नेकपाका कार्यकर्ताले गतिविधि थालेका हुन् ।

बुधबारको चुनावी सभालाई सम्बोधन गर्न नेम्बाङ सदरमुकामबाट देउमाई नगरपालिकास्थित मंगलबारे बजार गएका थिए । साखेजुङस्थित रक्सेको बाटो भएर त्यहाँ पुगेका नेम्बाङ फर्किंदा साङरुम्बाको बाटो हुँदै सदरमुकाम आए । ‘बिहान गएको बाटोमा अवरोध हुँदैछ भन्ने थाहा पाएपछि हामी बेलुका अर्कै बाटो आयौं,’ एमाले विश्वस्त स्रोतले भन्यो, ‘मंगलबारे–रक्से सडकमा उनीहरू (नेकपाका कार्यकर्ता) तयारीसाथ बसेका छन् भन्ने सुरक्षा निकायबाटै सूचना पाएपछि अर्काे बाटो भएर फर्कियौं ।’

नेम्बाङ अर्काे बाटो फर्किएको थाहा पाएपछि विप्लवका कार्यकर्ताले मंगलबारेको तपेवामा मसाल जुलुस निकालेको नेम्बाङनिकट एमालेजनलाई स्थानीयले सूचना दिएका थिए । जिल्लास्थित एमाले नेतृत्वले प्रहरीलाई तत्काल खबर गरेपछि जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा त्यस स्थानमा प्रहरी परिचालन गरेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी विपीन कर्माचार्यले मसाल जुलुस निकालेको सूचना आएपछि ५० भन्दा बढी प्रहरी त्यही स्थानमा परिचालन गरेपनि उनीहरू पत्ता नलागेको बताए । ‘जुलुस नै निकालेको हल्ला पुष्टि हुन सकेको छैन,’ कर्माचार्यलले नागरिकसँग भने, ‘अरू नै कोही स्थानीयले होहल्ला गरेको भन्नेसम्म पत्ता लाग्यो ।’

उनले नेम्बाङलाई सुरक्षा ‘थे्रट’ छ भन्ने सूचना पाएपछि सुरक्षाकर्मीको संख्या बढाएको बताए । ‘नेम्बाङ जिल्लाको मात्रै होइन, देशकै विशिष्ट व्यक्तित्व हुनुभएकाले हामीले २–४ दिनयता सुरक्षाकर्मीको संख्या बढाइदिएका छौं । सुरक्षामा कुनै कमी गरेका छैनौं,’ कर्माचार्यले भने, ‘नेम्बाङलाई मात्रै होइन, सबै उम्मेदवारलाई भरपूर सुरक्षा दिएका छौं ।’

स्रोतका अनुसार केही दिनयता नेम्बाङलाई विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीको थ्रेट बढेको छ । नजिकैका पाँचथर र ताप्लेजुङमा गत १० गतेको चुनावअघि विप्लव नेतृत्वको माओवादीले चुनावविरोधी गतिविधि बढाएको थियो । ठाउँ–ठाउँमा बम विष्फोटको प्रयास गरेको थियो । नेम्बाङ पाँचथर गएका बेलासमेत विप्लवका कार्यकर्ताले बम विष्फोटको प्रयास गरेको थियो । त्यहाँ चुनाव सकिएपछि उनीहरू संख्या बढाएर सीमावर्ती क्षेत्र (इलाम क्षेत्र नम्बर २) मा आएको हुनसक्ने आशंका राजनीतिक दलका नेता–कार्यकर्ताको छ ।

बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने महमाईमा आयोजित चुनावी सभा छाडेर नेम्बाङ अकास्मात पार्टीको बैठकका लागि काठमाडौं गएका छन् । ‘नेम्बाङ स्वयंले पनि पछिल्लो समय आफूलाई सुरक्षा थ्रेट बढेको अनुभव गर्नुभएको छ,’ एमाले स्रोतले भन्यो, ‘उहाँ दुई दिनको बैठकका लागि काठमाडौं जानुभएको हो, १७ गते जिल्ला फर्कनुहुनेछ ।’

प्रकाशित: १४ मंसिर २०७४ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App