८ वैशाख २०८१ शनिबार
अर्थ

सरकारप्रति बजार सशंकित

काठमाडौं- कम्युनिस्ट नेतृत्वको सरकारलाई सेयर बजारले स्वागत गर्दैन। कम्युनिस्टलाई उदार अर्थव्यवस्थाका बाधकका रुपमा लिने गरेका कारण पुँजीवादको एक सशक्त अस्त्रको रुपमा लिइएको सेयर बजारका लगानीकर्ताले उनीहरुको नेतृत्वको सरकारलाई स्वागत नगरेका मान्न सकिन्छ।

लोकतान्त्रिक सरकारले धेरै लगानी गर, कमाऊ र कर तिर अनि नाफा खाऊ भन्ने सिद्धान्तमा काम गर्ने भएकाले लगानीकर्ता उत्साहित हुन्छन्। वामपन्थी सरकार त्यसविपरीत हुने भएकाले लगानीकर्ता निरुत्साहित हुने गरेका मान्यता छ। हुन त नेपालका वामपन्थी दलहरु पनि खुला बजारलाई स्विकार्ने र निजी लगानीको विरोध नगर्ने बारम्बार भाषण गर्छन् तर व्यवहारमा खुला बजार तथा लगानीमा अवरोध गर्ने नीति लिने गरेको कारण पनि लगानीकर्ता हच्केका हुन सक्छन्।

संविधानसभाको पहिलो निर्वाचनपछिको बजार हेर्दा वामपन्थी सरकारभन्दा लोकतान्त्रिक सरकारका पालामा बजार बढ्ने प्रवृत्ति देखिएको छ। लोकतान्त्रिक सरकार सेयर बजारप्रति सकारात्मक हुनेे हुँदा सेयर बजार बढने पुगेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीको शपथ ग्रहण गरेकै दिन बिहीबार ४५.१२ बिन्दुले घट्न पुग्यो। दाहालको नेतृत्वमा सरकार निर्माण हुने निश्चित भएपछि सेयर बजार निरन्तर घटिरहेको छ।

यसअघि २०६५ भदौ २ गते दाहाल नै प्रधानमन्त्री हुँदा पनि सेयर बजार ओरालो लागेको थियो। त्यसबेला उनी  प्रधानमन्त्री भएकै दिन नेप्से परिसूचक ८.८९ बिन्दुले घटेर १०७५.८७ अंकमा झरेको थियो।  दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका बाबुराम भट्टराईले सेयर बजारप्रति सार्वजनिक गरेको अभिव्यक्तिले २०६५ भदौ १५ गते ११७५ अंकमा रहेको नेप्से परिसूचक विस्तारै घट्न थालेको थियो। उनले सेयर बजारलार्ई जुवा घरको संज्ञा दिएका थिए। उक्त अभिव्यक्तिपछि माओवादी सरकारले सेयर बजारमैत्री नीति नल्याउने मूल्यांकन गरी लगानीकर्ता हच्चिएका थिए।

अहिले पनि त्यस्तै प्रवृत्ति देखिएको छ। यो साताको सुरुदेखि दाहोरो अंकले घट्न थालेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार ४५.१२ बिन्दुले घट्न पुग्यो।

यो साताभर नेप्से १०९ बिन्दु भन्दा बढीले ओर्लेको छ। सेयर बजार उच्चतम बिन्दु १८८१.४५ बाट निरन्तर झरिरहेको छ। बिहीबार परिसूचक ओर्लिएर १७६८.६० मा आइपुगेेको छ।

प्रायजसो वामपन्थी नेतृत्वको सरकार निर्माण हुने समयमा र बनिसकेको केही समयसम्म सेयर बजार बढने गरेको छ। तर, पछि बिस्तारै सेयर बजार बढने गरेको छ।

'लोकतान्त्रिक होस वा वामपन्थीको सरकार लगानीकर्ताले भने उसले लिने नीतिका आधारमा सेयर बजार बढ्ने र घट्ने गरेको पाइन्छ,' एक विश्लेषकले भने, 'अहिले वामपन्थी पनि उदार अर्थतन्त्रका हिमायती भएकाले सेयर बजारमा खासै प्रभाव पारेको देखिँदैन।' वामपन्थीले सरकारको नेतृत्व गर्ने बेलामा लगानीकर्ताको मनोविज्ञानले पनि असर पार्ने हुँदा सेयर बजार प्रभावित हुन पुग्ने तर्क पनि उनले गरे।

दाहाल प्रधानमन्त्री हुनु र सेयर परिसूचक घट्नुलाई सेयर विश्लेषक रविन्द्र भट्टराई संयोग मात्र भन्छन्। 'सेयर बजार निरन्तर उकालो लागेेको बेला थोरै घट्नुलाई करेक्सन भएको भन्नु उपयुक्त हुन्छ,' उनले भने, 'एक वर्षदेखि निरन्तर बढेको बजार केही घट्नु स्वभाविकै हो।'

एक वर्षमा ८ सय अंकले नेप्से बढेको छ। '१०३४ अंकबाट निरन्तर बढेर १८८१ अंकमा पुगेको छ,' उनले भने, '८ सय अंक निरन्तर बढेको बजारमा सय अंक घट्नुलाई सामान्य मान्नु पर्छ।'

सामान्यतया साउनदेखि भदौसम्म सेयर बजार बढ्ने गर्छ। अरु बेला भने बजार घट्ने गर्छ।

त्यस विपरीत यो साताको सुरुदेखि बजार दैनिक दोहोरो अंकले ओरालो लाग्न थालेको छ। कम्युनिस्टको सरकारलाई सेयर बजारलाई रातो रंग (बजार घटेको संकेत)ले स्वागत गरेको छ।

आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक हुने हुँदा पनि बजारमा त्यसले सकारात्मक प्रभाव पार्ने गर्छ तर त्यस विपरीत अहिले उच्च नाफासहितका वित्तीय विवरण सार्वजनिक भइरहँदा बजार ओरालो लागेको छ। उर्लंदो बजारमा नाफा कमाएका लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारमा घट्न पुगेको विश्लेषकको भनाइ छ।

करिब एक दर्जन वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उनीहरुले सार्वजनिक गरेको विवरणमा सबै बैंकको नाफा बढेको देखिन्छ। 'बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण राम्रो देखिएकोले पनि आत्तिहाल्नु पर्ने अवस्था छैन्,' विश्लेषक भट्टराईले भने, 'पुँजी बढाउन बोनस सेयर, हकप्रद सेयर जारी गर्ने भएकाले पनि डराउनु र आत्तिनुपर्ने अवस्था छैन।'

सेयर बजारमा कालो धनको लगानीबारे छानबिन गर्न धितोपत्र बोर्डले समिति गठन गर्नु, लगानीकर्तामा आत्मबल कमजोर हुनु लगायतका कारण सेयर बजारमा लगातार गिरावट आएको कतिपयको भनाइ छ।

आकर्षक कमाई सहितका वित्तीय विवरणहरु सार्वजनिक भईरहेको अवस्थामा बजार घट्नुलाई कतिपय विश्लेषकले आर्श्चजनक रुपमा समेत लिएका छन्। कतिपयले अर्थतन्त्रका अन्य क्षेत्रहरु कमजोर हुँदा समेत सबल बनेको बजार राजनीतिक घटानाक्रमले प्रभावित भएको भन्न नमिल्ने तर्क समेत गरेका छन्।

प्रकाशित: २१ श्रावण २०७३ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App