coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेघौलीमा सात वर्षपछि जहाज

मेघौलीमा बुधबार उत्रेको नेपाल वायुसेवा निगमको जहाज । तस्बिर : नागरिक

चितवन – पश्चिम चितवनको मेघौली विमानस्थलमा बुधबारबाट जहाज आउन जान थालेको छ । जिल्लाको निकै पुरानो सो विमानस्थल पछिल्लो सात वर्षदेखि बन्द भएको थियो । बुधबारदेखि नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले उडान सुरु गरेको छ । आइतबार, बुधबार र शनिबार सो विमानस्थलबाट काठमाडौंसम्म नियमित उडान हुने विमानस्थल कार्यालयले जनाएको छ।

‘हप्तामा तीन दिन एक–एक नियमित उडान हुनेछ,’ विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर केशव लम्सालले भने। लम्सालका अनुसार सो विमानस्थल २०६७ मंसिरदेखि बन्द थियो । २०१७ सालमा स्थापना भएको सो विमानस्थलमा चितवन निकुञ्जभित्र रहेको टाइगर टप्स जंगल लजमा आउने पाउना ल्याउने विमानले उडान भर्दै आएका थिए।
सरकारले निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि ६७ सालको मंसिरदेखि विमानस्थल बन्द भएको थियो । ‘नभए कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सबै जहाजमा टाइगर टप्स जंगल लजमा आउने खास गरेर विदेशी पाहुना नै हुने गर्दथे,’ एयर ट्राफिक कन्ट्रोलर लम्सालले जानकारी दिए । सो विमानस्थलमा ४५ जना अट्ने एभ्रो विमानसम्म उड्ने उत्रने गर्दथे।

बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा उनको विमान मेघौली एयरपोर्टमै उत्रेको इतिहास छ । विमानस्थल अधिकारीका अनुसार २०५० सालतिर एभ्रो विमान सो विमानस्थलमा दुर्घटना भएको थियो । यात्रुलाई खासै केही नभए पनि जहाज क्षतिग्रस्त भएको थियो । त्यसपछि विसं २०५५ सालदेखि सरकारले विमानस्थलमा आधुनिक उपकरणयुक्त टावर राखेको थियो।

माओवादी शसस्त्र संघर्षका बेलामा सो टावरमा पनि आक्रमण भएको थियो । काठमाडौंबाट उडेको लगभग आधा घन्टामा विमान मेघौली आउँछ । हवाई भाडा नेपालीका लागि एकतर्फी तीन हजार एक सय ६५ रुपैयाँ र विदेशीका लागि ९९ सय डलर कायम भएको छ । सदरमुकाम भरतपुरबाट २५ किलोमिटर पश्चिममा सो एयरपोर्ट छ । काठमाडौं भरतपुरको एकतर्फी भाडा योभन्दा धेरै छ।

‘पर्यटकका साथै स्थानीयले पनि यहाँबाट सुविधा पाउने सम्भावना छ,’ मेघौली पर्यटन विकास समितिका उपाध्यक्ष हरिचन्द्र महतोले भने । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले मेघौलीको पर्यटन विकासमा हवाई उडानले निकै मद्दत गर्ने बताए । चितवन पर्यटन विकास समितिका महासचिव विश्वराव सुवेदीले पश्चिम चितवनको पर्यटन उकासिने समय आएको बताए।

‘मेघौलीमा राम्रा र ठूला होटल छन् । विदेशी पर्यटक लगातार आइरहेका छन् । मुग्लिन–नारायणगढ सडकको दुरावस्थाले हवाई मार्गबाट पर्यटक ल्याउनुपर्ने बाध्यता छ । भरतपुरको साटो सिधै मेघौली नै पर्यटक बोकेका जहाज उत्रने भएपछि धेरै राम्रो भयो,’ महासचिव सुवेदीले भने । यात्रुको चाप बढे सातै दिन उडान हुने सम्भावना रहेको अधिकारीहरुले बताएका छन्। 

 

प्रकाशित: १४ मंसिर २०७४ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App