१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुलमा अल्झेको ग्रामीण सपना

अलपत्र मैनावत्ती पुल निर्माणमा नेताले देखाएको उदासिनता सुनाउँदै बलकावाका स्थानीय ।तस्बिर : मिथिलेश

बलकावा – सहरसँग गाउँको द्रुत सम्पर्क बनाउन ०६७ सालमा सिरहाको मैनाबत्ती खोलामा पुल शिलान्यास हुँदा गाउँ र सहर (गोलबजार र बलकावा) दुवैतिर खुसी सञ्चार भयो । पञ्चायतदेखिको आश्वासन बल्ल पूरा हुने भएपछि ग्रामीण बासिन्दादेखि सहरीयासमेत मख्ख परे।

०४६ सालताका बोलपत्र आह्वान नहुँदै सेलाएको योजना झन्डै तीन दशकपछि शिलान्यास हुँदा स्थानीयमा आशा पलाएको थियो । तर, ठेकेदारले पुलको जग उठाएर काम अलपत्र छाडिदिँदा गाउँले पुलको ‘कंकाल’मा खुसी बिसाउन बाध्य भए। 

एकैदिन सिलान्यास भएको अर्को गागनखोलाको पुल निर्माण कार्य सम्पन्न भएर राजमार्ग र गाउँबीच सहज आउजाउ सुरु भइसक्यो । तर, मैनावत्ती पुलको जगकै काम पूरा हुन सकेको छैन। 

०६७ सालमा तत्कालीन भैतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको जिल्लाका आधा दर्जन पुलमध्ये अरु पुलको निर्माण लगभग सम्पन्न भइसक्यो । यो पुल भने ‘कंकाल’मा परिणत हुँदैछ । पुल सिलान्यास गर्न गच्छदारसँगै तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री शत्रुधनसिंह कोइरी पनि थिए । स्थानीय भन्छन्, ‘उनकै पहलमा पुल शिलान्यास भएको थियो ।’ पछि पुल निर्माण कार्य रोकिँदा स्थानीयले पटक–पटक ताकेता गरेपनि सुनवाइ भएन।

पहिलो संविधानसभा निर्वाचनमा यो गाउँ समेटिएको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ५ बाट तत्कालीन नेकपा माओवादी (हाल माओवादी केन्द्र)का महेन्द्र पासवानले चुनाव जितेका थिए। 

यहाँबाट चुनाव जितेका सभासददेखि नदीपारी गोलबजारनिवासी सिरहा तत्कालीन सिरहा क्षेत्र नम्बर ४ का सभासदलाई समेत पुल निर्माण कार्यमा भइरहेको ढिलासुस्ती हटाइदिन बलकवाबासीले गुहारेका थिए।

दोस्रो संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट माओवादीका पुष्पकमल दहाल  उम्मेदवार बन्दा बलकावाबासीमा खुसीको सीमा नै रहेन । यहाँका जनतामा खुसीको कारण थियो वर्षौदेखि अल्झेको मैनाबत्ती नदीको पुल निर्माण सम्पन्नको सपना । दाहालले बलकावाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मैनाबत्ती नदीको पुल निर्माण छिट्टै सम्पन्न गराउन पहल गर्ने आश्वासन बाँडे । ‘उनले (दाहाल) मैनाबत्ती नदीको पुल निर्माण छिट्टै पूरा हुन्छ भन्दा हामी हौसिएका थियौं,’ स्थानीय जमिर खाँले भने, ‘यो क्षेत्रका बासिन्दाको मतले उनी चुनाव जितेर गए तर, पुलको अवस्था उस्तै छ।’

‘पुलमाथिबाट नदी तर्ने सपना सजाएका बलकावाका अवधी उराउ गत वर्ष संसार छाडेर गए,’ स्थानीय शुभनारायण सदाय उराउले सपना सम्झँदै भने, ‘बिहान बेलुका पुल निर्माणस्थल पुगेर पुलमाथिबाट नदी तरेरमात्र मर्छु भन्थे तर, उनको सपना पनि पूरा भएन।’

स्थानीय रामकुमारी साह नेता सपना देखाउन मात्रै आउने गरेको बताउँछिन् । ‘आसन्न निर्वाचनमा पनि नेता भोट माग्न आउँन थालेका छन्,’ उनले भनिन्, ‘यसपालि झुठो आश्वासन बाँड्ने र ठग्नेलाई होइन हाम्रा सपना पूरा गराउनेलाई भोट हाल्छौ।’

‘हाम्रो सपना यो नदीमा पुल बनेको देख्नु हो,’ स्थानीय युनुस खाँले भने, ‘पुल बन्ने ठोस प्रतिबद्धता जनाउनेलाई हाम्रो भोट जान्छ ।’ आफ्नो लागि सुविधा खोज्नेले हाम्रो सपना पनि पूरा गराउन सक्नुपर्ने उनको भनाइ छ।

यसरी सेलाउँदै गयो पुल 
०७० सालसम्म पुल निर्माण कार्य सक्ने गरी सडक डिभिजन नम्बर ५ लहानसँग चार करोड सात लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको नेपाल प्रगती रायमाझी लोकबिरबेताली जेभीले काम छाडेपछि सहरसँग ग्रामीण पहुँचको योजना अलपत्र पर्‍यो।

पुलको पिलर (वेल) निर्माण कार्य पनि अधुरै छ । रकम निकासा पाउँदै गएपछि कामको गति सुस्त हुँदै गएको सडक कार्यालयले जनाएको छ । बिस्तारै ठेकेदार काम अलपत्र छाडेर सम्पर्कबिहीन भएपछि पुल निर्माण अल्झेको कार्यालयको भनाइ छ।

सडक कार्यालयका अनुसार उक्त पुल निर्माणका लागि विभिन्न समयमा ठेकेदारले एक करोड ३० लाख रकम भुक्तानी पाइसकेको छ । पुलका लागि निर्माण गरिएका चारवटा वेलको काम पूरा भएको छैन । वेलका फलामे डन्डीमा खिया लागिसकेको छ । प्राविधिकका अनुसार अब पुल निर्माण कार्य शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ।

नेताले सडक कार्यालयलाई र कार्यालयले समयमै ठेकेदारलाई कडाइ गर्न नसक्दा पुल निर्माणको अवस्था बेहाल बनेको बलकावासीको गुनासो छ । ‘ठेकेदारको मनपरीलाई समयमै सडक डिभिजन कार्यालयले नियन्त्रण गर्न सकेको भए आज यस्तो अवस्था आउने थिएन,’ बलकावाका रहमतुला हुसैन भन्छन्, ‘ठेकेदार र सडकको लापरबाहीमा नेताले लगाम लगाउन नसक्दा हामी दुःख खेप्न बाध्य छौं।’

झन्डै तीन दशकपछि मैनाबत्ती पुल शिलान्यास भई निर्माण काम सुरु भएपछि खोलामा खुट्टा चोपल्दै गाउँ छिर्नुपर्ने नियती अन्त्य हुने आशा बलकावाबासीले गरेका थिए । तीन दशकदेखि पुल बन्ने सपना पालेर बसेका बलाकावाका रहमतुला हुसैन भन्छन्, ‘नेताले बेवास्ता गर्दा ठेक्केदारले हामीलाई ठगे।’ 

‘यो पुल निर्माणले बलकावासहित छिमेकका एक दर्जन गाउँ र राजमार्गबीच सेतुको काम गर्छ,’ हुसैन भन्छन्, ‘पुरानो र ऐतिहासिक बजार भएपनि बलकावाको समृद्धिलाई मैनाबत्ती पुलले रोकेको छ ।’ यहाँको उत्पादन सहरसम्म पुर्‍याउन मैनाबत्ती नदी तगारो रहेको उनले बताए । पुल  निर्माण सम्पन्न भए यो बाटो जिल्लाकै सबैभन्दा चल्तीको ग्रामीण सडक बन्ने बलकावाबासीको भनाइ छ।

वर्षायाममा नदीमा बाढी आएर सवारी आउजाउ ठप्पै हुन्छ । कोही बिरामी भए एम्बुलेन्स ल्याउनसमेत नसकिने अवस्था हुन्छ । ‘नुनदेखि सुनसम्म किन्न बलकावा आउनेहरु अब गोलबजारममै रोकिन्छन्,’ स्थानीय कमालुदिन खाँ भन्छन्, ‘नदीले पुरानो यो बजारको रौनकता नै खोस्यो ।’ पुल बने अहिले पनि यहाँ समृद्धि र विकासका प्रचुर सम्भावना रहेको उनको भनाइ छ । ‘गाउँका प्रत्येक घरबाट रोजगारीका लागि युवा विदेसिएका छन् । उनीहरुले कमाएर गाउँमै व्यापार व्यवसाय गर्ने सोच राखेका छन्,’ उनी भन्छन्, ‘राजमार्गसँग द्रुत र सहज सम्पर्क स्थापित भए यो गाउँमा समृद्धिको ज्योति फर्कन बेर लाग्दैन।’

प्रकाशित: १४ मंसिर २०७४ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App