६ वैशाख २०८१ बिहीबार
अर्थ

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा

काठमाडौं – वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिका सन्तानले अबदेखि निःशुल्क रूपमा प्राविधिक शिक्षा प्राप्त गर्ने भएका छन्। 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलोपटक प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई तीन वर्षे सिभिल इञ्जिनियरिङ, नर्सिङ तथा कृषितर्फ डिप्लोमा तहको प्राविधिक शिक्षा र साधारण लेखपढ गर्न सक्ने पीडितका सन्तानलाई एक वर्षे प्राविधिक शिक्षा निःशुल्क रूपमा लिन पाउने  व्यवस्था मिलाएको हो।

आउँदो चैतदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको उक्त कार्यक्रम अन्तर्गत तीन ्वर्षे डिप्लोमा कोर्षका लागि एक सय २० र एकवर्षे पेसागत तालिमका लागि दुई सय कोटा निर्धारण गरिएको छ

‘वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिका परिवारलाई सक्दो सहयोग पुर्‍याउन निःशुल्क रूपमा प्राविधिक शिक्षा लिन पाउने व्यवस्था मिलाएका हौं,’ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, ‘पहिलो चरणमा सुरु गरिएको कार्यक्रममा राम्रो सहभागिता भयो भने यो वर्षदेखि सुरु गरिएको कार्यक्रमलाई आगामी वर्ष अझै विस्तार गर्दै लैजाने छौं।’ 

आउँदो चैतदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको उक्त कार्यक्रम अन्तर्गत तीनवर्षे डिप्लोमा कोर्षका लागि एक सय २० र एकवर्षे पेसागत तालिमका लागि दुई सय कोटा निर्धारण गरिएको छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा दिन प्रतिदिन बिदेसिनेको संख्या वृद्धि भएसँगै गन्तव्य मुलुकमा मृत्यु तथा अंगभंग हुनेको संख्या तीव्र रूपले बढिरहेको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीको क्रममा बर्सेनि करिब एक हजारजनाको निधन र अंगभंग हुने गरेको बोर्डले जनाएको छ । परिवारको गुजारा तथा सन्तानको शिक्षा, दिक्षा दिलाउने मुख्य लक्ष्यसहित रोजगारीमा पुगेका व्यक्तिको उतै निधन हुँदा त्यस्ता व्यक्तिको परिवार लथालिंग हुने गरेको छ । त्यस्ता व्यक्तिका परिवारलाई रोजगारीमा जाँदा लिएको ऋण चुक्ता गर्नसमेत कठिन हुँदै आएको पाइन्छ। 

वैदेशिक रोजगारीको क्रममा निधन भएका तथा अंगभंग र गम्भीर प्रकारको रोगबाट सताइएका व्यक्तिका सन्तानलाई प्राविधिक शिक्षा र तालिम उपलब्ध गराउन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) लाई चयन गरेको छ । बुधबार वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिका सन्तानलाई प्राविधिक शिक्षा र तालिम सञ्चालनका लागि बोर्ड र सिटिइभिटीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका तर्फबाट कार्यकारी निर्देशक काफ्ले र सिटिइभिटीका तर्फबाट निर्देशक टेकबहादुर मल्लले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

बोर्डले तोकेको कोटा अनुसार प्राविधिक शिक्षा र तालिम सञ्चालनका लागि सिटिइभिटीको मापदण्ड अनुसार आवश्यक सबै रकम उपलब्ध गराउने काफ्लेले बताए । ‘तीन वटा ट्रेड (सिभिल, नर्सिङ र कृषि) तथा अन्य प्राविधिक तालिम सञ्चालन गर्न जति रकम आवश्यक पर्छ त्यो सबै रकम बोर्डले उपलब्ध गराउँछ,’ कार्यकारी निर्देशक काफ्लेले भने । बोर्डले सञ्चालन गर्न लागेको प्राविधिक शिक्षा र तालिमका लागि आवश्यक पर्ने  शिक्षण शुल्क, ड्रेस, आतेजाते भाडा सहित खाने र बस्ने सम्पूर्ण खर्च विद्यार्थीलाई निःशुल्क हुने उनले बताए। 

बोर्डका अनुसार २०६५ यता वैदेशिक रोजगारीको क्रममा ६ हजारभन्दा बढीले गन्तव्य मुलुकमा ज्यान गुमाउनुका साथै अंगभंग भएका छन् । बोर्डले गत साउनयता वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तलाई सात लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ । त्यसअघि त्यस्ता व्यक्तिका परिवारले बोर्डबाट तीन लाख रुपैयाँ सहयोग पाउँथे । साउनयता बोर्डले उपलब्ध गराउने सहयोग रकमको साथै बिमा कम्पनीले दिने क्षतिपूर्ति पनि वृद्धि गरिएको छ । हाल वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई बिमा कम्पनीले १५ देखि २० लाख रुपैयाँसम्म उपलब्ध गराउनुपर्ने प्रावधान छ। 

वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तलाई क्षतिपूर्ति रकम उपलब्ध गराउँदै आएपनि सन्तानलाई शिक्षा दिने व्यवस्था नहुँदा पीडित परिवारले अन्यायमा परेको गुनासो गर्दै आइरहेका थिए । सिटिइभिटीका निर्देशक मल्लले यसअघि नै सिटिइभिटीले प्राविधिक शिक्षातर्फ विभिन्न ट्रेडमा डिप्लोमा तहका कार्यक्रम सञ्चालन गरिरहेकाले बोर्डसँगको सहकार्यमा हुन गइरहेको प्राविधिक शिक्षा र तालिमलाई विशेष प्राथमिकताका साथ सञ्चालन गर्ने बताए । प्राविधिक शिक्षा र तालिममा पीडितका सन्तानको चाहना बढ्यो भने आगामी वर्ष संख्या वृद्धि गर्दै लैजाने बोर्डले जनाएको छ। 

प्रकाशित: १४ मंसिर २०७४ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App