coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उत्तरी मोरङका मतदाताको माग : सडक र बिजुली

सुमन घिमिरे

उर्लाबारी (मोरङ)—मोरङ भन्ने बित्तिकै एउटा सुगम जिल्लाको रुपमा चिनिन्छ। तर मोरङ जिल्लाका कतिपय यस्ता विकट क्षेत्र छन् जहाँ अहिलेसम्म पनि सहज यातायात सेवा, बिजुली र स्वास्थ्य सेवा पुग्न सकेको छैन।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा दलका उम्मेदवार यसपटक पनि ती विकट क्षेत्रमा सडक र बिजुली पुर्‍याइदिने पुरानै प्रतिबद्धता बोकेर मतदाताकहाँ पुगेका छन्। निर्वाचनमा भोट माग्न आउने नेतासँग २२ वर्षदेखि गाउँमा सुविधा सम्पन्न सडक र बिजुलीको माग गरे पनि पूरा हुन नसकेको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलाकी लिला लिम्बूले बताए।

गाउँमा सुविधा सडक र बिजुली माग गरेको दुई दशक पार गर्दा पनि पूरा हुन सकिरहेको छैन। उनका अनुसार निर्वाचन आउँदा नेताहरुले वर्षौंदेखि सडक र बिजुलीको एजेण्डा मात्रै बोकेर आउने गरेका छन्। निर्वाचनका बेला नेताका लागि रमितेखोला सडक र बिजुलीको मुख्य एजेण्डा बन्ने स्थलका रुपमा मात्रै परिचित भएको लिम्बूले बताए। बिसं २०५२ बाट टाँडीदेखि आइतबारेसम्मको १३ किलोमिटर सडकको ट्रयाक खोलिए पनि त्यहाँबाट स्तरोन्नतिको कुनै काम हुन सकेको छैन।

वि.सं २०६० सम्ममा ट्रयाक खोल्ने काम पनि सकियो। तर त्यसको १४ वर्षसम्म सडकको स्तरोन्नतिका लागि कुनै काम हुन सकेको छैन। मोरङको साविक टाँडी गाविस हालको मिक्लाजुङ गाउँपालिका–३ देखि साविकको रमितेखोला गाविस हालको मिक्लाजुङ–१ सम्म सडकको ट्रयाक खोल्ने काम स्थानीयस्तरको दबाबमा भए पनि त्यसपछि सडक विकासका कुनै काम भएका छैनन्।  सुगम जिल्लाका रुपमा चिनिने मोरङको रमितेखोला जिल्लाकै कर्णालीका रुपमा परिचित छ। अतिनै दुर्गम र विकट स्थानका रुपमा रहेको रमिते खोलासम्म पुग्ने सडक जीर्ण छ।

खोलिएको ट्रयाकमा सवारी आवागमन गर्न एकदमै गाह्रो छ। स्थानीय बासिन्दा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन्। स्थानीय बताहा खोलामा बर्खामा आउने बाढीका कारण टाँडी र रमिते खोलासम्म सवारी आवागमन ठप्प भएर आवतजावत बन्द हुनुका साथै रमितेखोलाको पूर्वी मोरङसँग सम्पर्कनै विच्छेद हुने गरेको छ। रमितेखोलामा हालसम्म केन्द्रीय प्रसारणको विद्युत् पनि पुग्न सकेको छैन।

रमितेखोलास्थित टाँडी माविका प्रधानाध्यापक अमृत राईले नेतामा इच्छा शक्तिको कमी हुँदा सुगम जिल्ला भनेर चिनिने मोरङको दुर्गम र विकट क्षेत्रका बासिन्दा सधैँभरि पीडामा हुने गरेको बताए।

स्थानीय समाजसेवी पर्वत राईले स्थानीयस्तरमा सडक, बिजुली, स्वास्थ्य र शिक्षाको समस्या रहेको बताए। उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी सुविधा सम्पन्न सहरसम्म पुग्नुपर्ने बाध्यता छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने मिक्लाजुङमा धेरै नेता भोट माग्न पुगिसकेका छन्।

स्थानीयवासीका अनुसार सबै नेताले रमितेखोलामा विद्युत् र सुविधासम्म सडक आफ्नो प्राथमिकतामा रहेको भाषण गर्ने गरेका छन्। रमितेखोलामा एक हजार ३०० मतदाता छन्। रासस

 

प्रकाशित: १४ मंसिर २०७४ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App