६ वैशाख २०८१ बिहीबार
खेल

युनाइटेडको जितमा योङ नायक

लन्डन– एस्ले योङको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले मंगलबार वाट्फोर्डलाई ४–२ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीसँग अंक दूरी कम गरेको छ ।

१९औं मिनेटमा जेसी लिंगार्डको पासमा योङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । २०१६ मे पछि योङले युनाइटेडका लागि गरेको यो पहिलो गोल हो । त्यसको ५ मिनेटपछि योङले फ्रिकिकमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए। 

३२औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दा युनाइटेडले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । मार्सियलले रोमेलु लुकाकुको पासलाई पोस्टको दिशा दिएका थिए।

७७औं मिनेटमा वाट्फोर्डका ट्रोनी डिनेले पेनाल्टीमा गोल गर्दै पुनरागमनको संकेत गरेका थिए । युनाइटेडका मार्कुस रसफोर्डले रोबेर्टो प्रियरामाथि खराब फाउल गरेपछि वाट्फोर्डले पेनाल्टीको अवसर पाएको थियो । 
खेल सकिन ६ मिनेट बाँकी रहँदा एब्डाउले डोकोरेले आन्द्रे कारिल्लोको पासमा गोल गर्दै वाट्फोर्डको पुनरागमन सम्भावना थप बलियो पारेका थिए । तर त्यसको दुई मिनेपछि लिंगार्डले गोल गर्दै युनाइटेडका लागि तीन अंक पक्का गरे।
यस जितपछि  १४ खेलको समाप्तिमा ३२ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम छ । एक खेल कम खेलेको सिटी ३७ अंकका साथ शीर्ष स्थानमा यथावत् छ  २१ अंक जोडेको वाट्फोर्ड आठांै स्थानमा कायम छ।

‘सुरुमा लिएको ३–० को अग्रताले हामी सहजै खेल जित्ने स्थितिमा थियौं । तर वाट्फोर्डले दोस्रो हाफमा दुई गोल फर्काएपछि खेल केही प्रतिस्पर्धात्मक बन्यो,’ युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘जेसी लिंगार्डले अन्तिम समयमा गोल गरेपछि हाम्रो तीन अंक पक्का भएको थियो।’

यता घरेलु मैदान किंग्स पावर रंशगालामा टोटेनह्याममाथि २–१ को रबाफ जमाएपछि लेस्टर सिटी १७ अंकका साथ नवौं स्थानमा उक्लिएको छ। 

स्ट्राइकर जेमी भार्डेले १३औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । प्रिमियर लिगमा उनको यो एक सयौं गोल हो । भार्डेले मार्क अल्ब्राइटनको पासलाई पोस्टको दिशा दिएका थिए । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा रियाद माहरेजले गोल गर्दैै लेस्टरको अग्रता दोब्बर पारेका थिए।

खेल सकिन ११ मिनेट बाँकी रहँदा स्ट्राइकर ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

यस नतिजापछि लेस्टर नवौं स्थानमा उक्लिँदा २४ अंक जोडेको टोटेनह्याम पाँचौं स्थानमा यथावत् छ । टोटेनह्यामले पछिल्ला पाँच लिग खेलमा एक मात्र जित दर्ता गरेको छ। 

‘हामीले पहिलो हाफमा खराब प्रदर्शन गर्‍याै‌। त्यसैले खेलमा फर्कन निकै कठिन भयो,’ टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने, ‘यो निराशाजनक नतिजा हो । हामीले खेलमा सुधार गर्न आवश्यक छ ।’
प्रिमियर लिगअन्तर्गत मंगलबारै सम्पन्न अन्य खेलमा वेस्ट ब्रोम र न्युक्यासल युनाइटेडले २–२ को बराबरी खेल्दा क्रिस्टल प्यालेस र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित: १४ मंसिर २०७४ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App