७ वैशाख २०८१ शुक्रबार
खेल

आयोजकलाई रोक्दै मनाङ फाइनलमा

काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (निलाे)र मनाङका खेलाडी बल खाेसाखाेस गर्ने क्रममा । तस्बिर :नागरिक

झापा – आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सडन डेथमा ८–७ गोलले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बुधबार ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’ को फाइनलमा प्रवेश गरेको छ। 

दुवै टिमका एक÷एक जना स्टार खेलाडी रातो कार्ड खाँदै बाहिरिनु, मैदानभित्र खेलाडीबीच पटक–पटक नोकझोँक चल्नु तथा पाएको गोलका धेरै  अवसर खेर फाल्नु बुधबारको खेलका विशेषता थिए । आयोजकका कप्तान खमिर गिल्सन कन्दङ्वा र मनाङका सुजल श्रेष्ठ रातो कार्ड पाउँदै बाहिरिएपछि अन्तिम २२ मिनेट दुवै टोलीले १०–१० खेलाडीमा खेलेका थिए। 

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि नतिजाका लागि सोझै टाइब्रेकरको विकल्प छनोट गरिएको थियो । टाइब्रेकरमा पनि बराबरी गोल भएपछि  सडन डेथमा सफलता पाउँदै मनाङले त्रिभुवन आर्मीसँगको फाइनल भेट निश्चित गरेको हो। 

विजेता टोलीका लागि अनिल गुरुङ, विमल बस्नेत, कमल श्रेष्ठ, हेमन गुरुङ, विमल घर्तीमगर, विराज महर्जन, विशाल राई र अनन्त तामाङको प्रहार गोलमा परिणत भएको थियो । विक्रम लामाको प्रहार भने आयोजकका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए । आयोजकका तर्फबाट नीराजन खड्का, प्रकाश बुढाथोकी, सरोज दाहाल, हेमन्त थापा मगर, भूषण लिम्बु, सुरज विक, विष्णु सुनारको प्रहार गोलमा परिणत भएको थियो । निशान लिम्बुको प्रहार मनाङका गोलरक्षक दिनेश श्रेष्ठले रोकेका थिए।

 तर, सडन डेथमा आयोजकका अफ्रिकी खेलाडी फ्लोरेन्स चुकेपछि मोफसलकै सर्वाधिक राशि भएको प्रतियोगिताको फाइनलमा मनाङले स्थान सुरक्षित गरेको हो । सडन डेथमा सात–सात गोलको अवस्था हुँदा  फ्लोरेन्सले प्रहार गरेको बल पोस्टको क्रसबारमा लागेर फर्किनु आयोजकको यात्रा रोकिने मुख्य कारण बन्यो।

 शुक्रबार हुने फाइनलमा मनाङले आर्मीसँग प्रतिस्पर्धा गर्दा एक साताअघिको सताक्षी गोल्डकपकै फाइनल समीकरणको दृश्य पुनरावृत्ति हुनेछ । सताक्षी गोल्डकप फाइनलमा आर्मीले मनाङलाई २–१ ले हराएको थियो । काँकडभिट्टाको विजेताले ८ लाख र उपविजेताले चार लाख रुपैयाँ पाउनेछन्। 

मनाङका  प्रशिक्षक विजय घलेले मैदानको खराब अवस्थाले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘हामीले उत्कृष्ट खेल प्रदर्शन गरेका हौं’, उनले भने ‘तर, नमिलेको मैदानमा हाम्रा खेलाडीलाई बल नियन्त्रण गर्न र सन्तुलन मिलाउनै गाह्रो भयो । त्यसैले खेल सडन डेथसम्म पुग्यो।’ 

आयोजक टोलीका प्रशिक्षक पेमा नोर्बु शेर्पाले भने कप्तान खमिर गिल्सन कन्दङ्वा ५८औं मिनेटमा रातो कार्डको सामना गर्दै बाहिरनु नै टिमको दुर्भाग्य भएको बताउँछन् । ‘हामीले मनाङविरुद्ध दबाब बनाएर राखेका थियौं, त्यहीबेला टिमका स्ट्राइकरले नै मैदान छाड्नुपर्यो’, उनले भने ‘अन्यथा हामी गोल गरेरै जित्ने अवस्थामा थियौं।’ 

घरेलु दर्शकको साथ पाएको आयोजकले दोस्रो हाफको शुरुदेखि नै मनाङविरुद्ध दबाब सिर्जना गरिरहेको थियो। त्यहीबेला कप्तान कन्दङ्वाले मनाङका सुजल श्रेष्ठलाई आफ्नो पोस्टनजिकै लडाए । रेफ्री नवीन्द्र महर्जन कन्दङ्वालाई पहेँलो कार्ड दिने क्रममा थिए, उनले रेफ्रीको हातबाट कार्ड खोसेर फालिदिए । महर्जनले तत्कालै रातो कार्ड देखाउँदै उनलाई मैदान बाहिर पठाएका थिए । त्यसको १० मिनेटपछि  मनाङले पनि सुजल श्रेष्ठलाई गुमाउनुप¥यो । मैदानको मध्यभागमा उनले निशान लिम्बुविरुद्ध फाउल गरेपछि  पहिल्यै ‘बुकिङ’ भइसकेका उनलाई रेफ्रीले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए। 

प्रकाशित: १४ मंसिर २०७४ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App