‘कम्युनिस्टले जिते लगानीका स्रोत बन्द’

बिहिबार, १४ मङि्सर २०७४, ०९ : १३ नागरिक

विशन क्षेत्री/मोहन गुरुङ
कास्की/स्याङ्जा – कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टले चुनाव जिते देशमा आन्तरिक तथा बाह्य लगानीका स्रोत बन्द हुने बताएका छन् । कम्युनिस्टहरु विदेशमा असफल भइसकेको साम्यवाद लाद्न खोजेर देशलाई थप अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ । 

‘साम्यवाद लागू भएमा विदेशी लगानीकर्ताले लगानी गर्न पाउँदैनन्, लगानीको स्रोत नभएपछि देशको समृद्धि झन् पछाडि धकेलिन्छ,’ कांग्रेस कास्कीले बुधबार पोखरामा आयोजना गरेको चुनावी सभामा देउवाले भने, ‘देश समृद्ध बनाउँछौ भन्ने तर लगानीको ढोका बन्द गर्ने, यो जनताअगाडि गरिएको झूटको खेतीबाहेक केही होइन ।’ उनले वाम गठबन्धनले गर्दा मुलुक आर्थिक रुपमा पनि जोखिममा पर्ने बताए।

वाम गठबन्धन लोकतन्त्रविरोधी भएको उनले बताएका छन् । उनले एमालेले नेपालमा एकदलीय शासन लाद्न खोजेको आरोप लगाए । अमरसिंहचोकमा आयोजित सभामा सम्बोधन गर्दैै देउवाले जनताको भावनाविपरीत संविधान परिवर्तन गर्ने तयारी भइरहेको बताए । ‘नेपालमा एकदलीय कम्युनिस्ट तानाशाही लाद्न खोजिएको छ,’ देउवाले भने, ‘जनताको भावनालाई र चाहनालाई समान रुपमा अधिकार दिइएको संविधान परिवर्तन गर्न खोज्नु जनताको अधिकार खोस्नु हो ।’
उनले वाम गठबन्धनका नेताहरुबाट संविधानको मर्ममाथि आघात पुग्ने किसिमका अभिव्यक्ति आउन थालेको बताए । उनले वाम दलबीचको गठबन्धनले नेपाल र नेपालीको भलो नगर्ने बताए । ‘यो गठबन्धनले नेपालको भलो गर्दैन, यो अनिष्टको संकेत हो । अहिले संविधानले जुन अधिकार दिएको छ त्यसको कार्यान्वयन संसदीय व्यवस्थामा मात्र हुन्छ,’  देउवाले भने। 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा जे पनि हुने भन्दै वाम एकतालाई विचित्रको संज्ञा दिएका थिए । ‘नेपालमा जे पनि हुन्छ भन्ने वामएकताले देखाएको छ,’ उनले भने, ‘संविधानमा राजनीतिक प्रणालिको टुंगो लाग्दा संविधानमा हस्ताक्षर गर्ने पार्टीका उम्मेदवारको मसी नसुक्दै दुई तिहाइ ल्याएर संविधान संशोधन गर्छु भन्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु हो।’ 

कार्यक्रममा उद्योगी समेत रहेका विनोद चौधरीले कांग्रेसले २०४८ सालमा ल्याएको आर्थिक उदारीकरणको नीतिले नै मुलुकमा अर्थतन्त्रले गति लिएको बताए । कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस चुनाव प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँड, पूर्वअर्थमन्त्री डा. रामशरण महत, धनराज गुरुङ लगायतका नेताहरु वाम गठबन्धनका शीर्ष नेताविरुद्ध खनिएका थिए। 

स्याङ्जामा भएको कार्यक्रममा बोल्दै देउवाले वाम गठबन्धनले लोकतन्त्रमा धावा बोलेको बताए । उनले भने, ‘वाम गठबन्धन एकदलीय, दमनकारी र तानाशाही ल्याउने गठबन्धन हो । केपी ओली महेन्द्र र प्रचण्ड जंगबहादुर बन्ने दाउमा छन् ।’ राष्ट्र र राष्ट्रियताका लागि एक हुनुपर्ने बेला आएको उनले बताए । कांग्रेसलाई भोट दिए देश समृद्धितर्फ जाने उनको दाबी थियो।

वरिष्ठ नेता पौडेलले चुटकिला भनेर देश नबन्ने बताए । ‘मुखले समृद्धि भनेर मात्र हुन्छ ? समृद्धिका लागि योजना चाहिन्छ’ पौडेलले भने ।   नेपाल र नेपालीको भाग्यको जिम्मा कांग्रेसले लिने उनले बताए । ‘सुखी नेपाली, समृद्ध नेपाल र समृद्धि नेपालका लागि कांग्रेसले जिम्मा लिन्छ’, उनले भने।

एकदलीय शासन लाद्न खोजेको आरोप
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका वाम गठबन्धनले संविधानसभाबाट निर्माण भएको समावेशी संविधानलाई च्यातेर एकदलीय शासन लाद्न लागि परेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर पाँचले बुधबार महाराजगन्जमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले वाम गठबन्धनका नाममा राज्यसत्ता कब्जा गरी एकतन्त्रीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन्।

एमाले, माओवादीसहितका दलहरुले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन जिते मुलुक फेरि अस्थिरतामा फस्ने बताउँदै कांग्रेसको पक्षमा अउभिन आममतदातालाई आह्वान गरे । ‘७० वर्ष लामो संघर्षपछि संविधानसभाबाट मधेसी, महिला, दलित जनजातिसहित सबैको अधिकार सुरक्षित गरिएको संविधान जारी भएको छ,’ देउवाले भने, ‘समावेशी संविधानलाई च्यातेर वाम गठबन्धन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित एकदलीय कम्युनिस्ट शासन ल्याउन लागिपरेका छन् । त्यसविरुद्ध सबै एकजुट हुने बेला आएको छ।’

आन्दोलनका सबै उपलब्धि संस्थागत गर्ने बताउँदै देउवाले मुलुकको आर्थिक समृद्धिको नेतृत्व कांग्रेसले गर्ने दाबी गरे । नेपालका कम्युनिस्ट पार्टीहरु नै आर्थिक समृद्धिको बाधक रहेको आरोप लगाउँदै देउवाले भने, ‘कांग्रेस जनतालाई मालीक बनाउन चाहन्छ । तर, कम्युनिस्टहरु जनतालाई दमन र दास बनाउन चाहन्छन्।’

महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट पार्टीहरुकै कारण मुलुकको विकास हुन नसकेको बताउँदै अबको दस वर्षमा मुलुकको कायापलट गर्ने दाबी गरे । ‘प्रजातन्त्र आएपछि २०१५ सालमा गठन भएको कांग्रेस नेतृत्वको सरकारलाई काम गर्न दिइएन, २०४६ मा प्रजातन्त्र स्थापना भयो माओवादीले जनयुद्ध गरेर विकासलाई अवरुद्ध ग¥यो,’ कोइरालाले भने, ‘संविधानसभाबाट संविधान लेखनको काम कांग्रेसले पूरा गर्‍यो तर यसलाई परिर्वतन गर्ने कुरा गरेर फेरि देशलाई पछाडि धकेल्ने प्रयास भइरहेको छ । त्यसविरुद्ध सबै एकजुट हुनुपर्छ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रजातान्त्रिक क्षितिजमा पाँच वर्ष टिक्ने सरकार गठनका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे। 

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ठूलो नारा र आश्वासन बाँड्ने कम्युनिस्ट दलहरुले अवसर पाउँदा केही गर्न नसकेको आरोप लगाए। 

काठमाडौं–५बाट प्रतिनिधिसभा उम्मेदवार प्रकाशशरण महतले मुलुकमा सम्भावना र सिर्जनाको ढोका खोल्न कांग्रेसले जित्नुपर्ने बताए । 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad