coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दुईपक्षीय टक्कर

लहान –आसन्न निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार सुरेशचन्द्र दास यादव प्रत्यक्षतर्फ दोहो¥याउन खोज्ने एक्ला नेता हुन् । उनी यसपटक ‘हयाट्रिक’ गर्ने कसरतमा छन् । त्यसका लागि उनको चुनौती बनेका छन् फोरम–राजपा गठबन्धनका बलिया उम्मेदवार शत्रुधनसिंह कोइरी। 

यादवलाई पछाडि पार्नसके गठबन्धनका कोइरीका लागि संसदीय राजनीतिको ढोका खुल्नेछ । धनगढीमाई नगरपालिका ३ देखि १४ नम्बर, लक्ष्मीपुर पतारी गाउँपालिकाको १, गोलबजार नगरपालिकाको १३, सुखीपुर नगरपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका र औरही गाउँपालिका समेटिएको सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा  वाम गठबन्धन र फोरम– राजपा गठबन्धन अमनेसामने छन्।


उम्मेदवारहरु ग्रामीण सडक विस्तार, सडक सुधार, गाउँगाउँमा कृषि सहकारी, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धतासहित  घरदैलोमा व्यस्त छन् ।

स्थानीय निर्वाचनमा फोरम एक्लै लड्दासमेत कांग्रेस र एमालेलाई टक्कर दिएकाले राजपासँगको गठबन्धनले चुनाव जित्न सहज हुने कोइरी बताउँछन्।

वाम गठबन्धन बलियो र कसिलो भएकाले जित सहज भएको गठबन्धनका उम्मेदवार यादव बताउँछन् । ‘स्थानीय तह निर्वाचनपछि कांग्रेस र फोरमबाट धेरै नेताकार्यकर्ता वाम गठबन्धनमा प्रवेशले हाम्रो जित सुनिश्चित बनाएको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन परिणामको गणितले पनि हामी बलियो देखिएका छौं ।’ 

६१ वर्षीय यादव भने मतदाताले एकपटक आफूलाई जिताउनेमा आशावादी छन् । प्रतिस्पर्धीलाई आफूले लोकप्रिय मतले जबाफ दिने दाबी गर्दै उनले भने, ‘मेरा लागि यो अग्निपरीक्षा हो । जनताले मलाई छान्नेछन् ।’ उनी ४८ र २०५१ सालका चुनावमा विजयी भएका हुन्। 

यादव उत्साहसाथ आमसभा र घरदैलोमा सहभागी भइरहेका छन् । ०५१  सालमा विजयी भएपछि उनी ०५२ सालमा स्वास्थ्य सहायक मन्त्री भए । त्यसबेला गाउँका अधिकांश युवालाई स्वास्थ्य क्षेत्रमा रोजगारी दिलाएको भन्दै उनी मतदाता फकाइरहेछन् । ‘वाम गठबन्धनले जित्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भने । वाम गठबन्धनको बहुमतले देशमा दिगो सरकार र आर्थिक क्रान्तिको बाटो खोल्ने भएकाले त्यसका लागि आफूले जित्नुपर्ने यादव बताउँछन्। 

पहिलो मधेस आन्दोलनपछि २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट सिरहा क्षेत्र नं. ४ मा संविधानसभा सदस्य निर्वाचित कोइरी पार्टी विभाजनपछि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरे ।  त्यसपछि उनी पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बने । तेस्रो मधेस आन्दोलनताका उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरे । उनी भन्छन्, ‘मैले मन्त्री भएका बेला जनता आवास कार्यक्रम, जिल्लाको चार ठाउँमा पुल निर्माणसहित पर्यटन पूर्वाधार विकासका लागि काम गरेको छु । त्यसैले जनताले मलाई जिताउँछन्’ उनले भने।

पहिलो संविधानसभा निर्वाचनमा जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा फोरमले झन्डा फहराएको थियो । एउटा क्षेत्रमा माओवादीले जितेको थियो । दोस्रो संविधासभा निर्वाचनमा जिल्लामा फोरम शून्य भयो । तीनवटा क्षेत्रमा कांग्रेस दुईवटामा एमाले र एक क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।

स्थानीय निर्वाचनमा १७ स्थानीय तहमध्ये ६ वटामा माओवादी केन्द्र, पाँचमा समाजवादी फोरम, चार तहमा एमाले र दुई तहमा कांग्रेस विजय भएको छ । पछिल्लो निर्वाचनमा प्राप्त मतअनुसार एमाले पहिलो र समाजवादी फोरम दोस्रो स्थानमा छन् । कांग्रेस तेस्रो स्थानमा छ। 

कांग्रेस फोरम–राजपा गठबन्धनसँग चुनावी तालमेल गरी वाम गठबन्धनलाई धक्का दिने दाउमा देखिन्छ ।
सिरहा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रदीप गिरी र वाम गठबन्धनका गंगाप्रसाद यादवबीच टक्कर हुँदैछ । दुवैजनाको जिल्लामा अलग्गै पहिचान छ । उनीहरुले लामो समयदेखि यस क्षेत्रलाई राजनीतिक ‘गढ’ बनाउँदै आएका छन् । राष्ट्रिय राजनीतिमा छाउँदै आएका ‘बुद्धिजीवी नेता’ गिरी र जिल्लाको राजनीतिमा छाउँदै आएका यादवबीच यसपालि ‘प्रतिष्ठा’ जोगाउन प्रतिस्पर्धा हुँदैछ । यहाँ संघीय समाजवादी फोरमका प्रत्यासी राजलाल यादव साख जोगाउन कसरत गर्दैछन्।

निर्वाचन क्षेत्र नम्बर २ मा तीनजना पूर्वसांसद चुनावमा भिड्दैछन् । लामो समय कांग्रेस राजनीतिमा सक्रिय भई लगातार दुईपटक (२०४८ र २०५१ ) प्रतिनिधिसभा सदस्य निर्वाचित सुरेशचन्द्र दास आसन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य प्रत्यासी छन् । सिरहा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य निर्वाचित शत्रुधनसिंह कोइरी दासलाई टक्कर दिँदैछन् । यस क्षेत्रमा दास र कोइरीबीचमै प्रतिष्ठा जोगाउने प्रतिस्पर्धा हुने देखिन्छ।

निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका साझा उम्मेदवार लीलानाथ श्रेष्ठ र फोरम राजपाबाट साझा उम्मेदवार असेश्वर यादवबीच प्रतिस्पर्धा हुँदैछ । श्रेष्ठ दोस्रो संविधासभा निर्वाचनमा तत्कालीन सिरहा क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा असेश्वर नयाँ प्रत्यासी हुन् ।
सिरहा क्षेत्र नम्बर ४ मा फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार एवं राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादव र वाम गठबन्धनका साझा उम्मेदवार एवं पूर्वकानुनमन्त्री अजयशंकर नायकबीच प्रतिस्पर्धा छ । यादव ०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी कांग्रेसका गणेश मण्डलसँग पराजित भएका थिए । नायक ०७० सालको संविधानसभापछि समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य चुनिएका थिए । उनी पहिलो पटक प्रत्यक्षबाट चुनाव लड्दैछन् । 

उस्तै–उस्तै नारा 
वाम गठबन्धन, कांग्रेस र फोरम राजपा गठबन्धन तीनवटैका उम्मेदवार उस्तैउस्तै चुनावी नारा लिएर मतदाताकहाँ पुगेका छन् । उनीहरुले ग्रामीण सडक, हुलाकी सडक, सिँचाइ, मलखादको सहज उपलब्धता,  युवा स्वरोजगारजस्ता नारालाई मुख्य चुनावी मुद्दा बनाएका छन् । त्यस्तै, व्यवसायमूलक शिक्षा, गाउँमा भरपर्दो स्वास्थ्य सेवा, स्थानीय पर्यटनको विकासजस्ता काम गर्ने उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन्।

उम्मेदवारहरुले बेरोजगार भत्ता, वृद्धभत्ता वृद्धि, भौतिक पूर्वाधार निर्माणलाई समेत जोड दिएका छन् । ग्रामीण सडक विस्तार, सडक सुधार, गाउँगाउँमा कृषि सहकारी, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धतासहित उनीहरु घरदैलोमा व्यस्त छन् ।

कहाँ कसको पल्ला भारी
लहान नगरपालिका, धनगढीमाई नगरपालिकाको वडा नम्बर १ र २, लक्ष्मीपुरपतारी गाउँपालिकाको वडा नम्बर २,३,४,५,६, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका समेटेर कायम गरिएको सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा ८८ हजार ७२ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट एमालेले २० हजार ६ सय १९ र माओवादी केन्द्रले ३ हजार ७ सय ७५ मत प्राप्त गरेका थिए । दुवै दलको मत जोड्दा २४ हजार ३ सय ९४ हुन आउँछ । यस क्षेत्रमा नेपाली कांग्रेसले १५ हजार २ सय १०, संघीय समाजवादी फोरमले १४ हजार ६ सय ७२ र राजपाले ११ सय ६३ मत पाएका थिए । फोरम–राजपा गठबन्धनको मत जोड्दा १५ हजार ८ सय ३५ हुन आउँछ । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको मत पहिलो, फोरम राजपा गठबन्धनको मत दोस्रो र कांग्रेसको मत तेस्रो स्थानमा छ । यद्यपि यो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार गंगाप्रसाद यादव र कांग्रेसका प्रदीप गिरीबीच कडा टक्कर छ।


धनगढीमाई नगरपालिकाको वडा नम्बर ३ देखि १४ नम्बर, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर १, गोलबजार नगरपालिकाको वडा नम्बर १३, सुखीपुर नगरपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका औरही गाउँपालिका समेटिएको सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा स्थानीय निर्वाचनमा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले २४ हजार ५ सय ७३ मत प्राप्त गरेको थियो । यस क्षेत्रमा नेपाली कांग्रेसले १५ हजार २ सय ८६ मत ल्याएको थियो भने फोरम–राजपा गठबन्धनले १८ हजार ६ सय १३ मत पाएको थियो । यस क्षेत्रमा पनि वाम गठबन्धन पहिलो, फोरम राजपा गठबन्धनको दोस्रो र कांग्रेस तेस्रो नम्बरमा छ । यो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार सुरेशचन्द्र दास यादव र फोरम–राजपा गठबन्धका  शत्रुधनसिंह कोइरीबीच प्रतिस्पर्धा छ । 

गोलबजार नगरपालिकाको १ नम्बर वडा देखि १२ नम्बर वडा, नरहा गाउँपालिकाको वडा १ र २, विष्णुपुर गाउँपालिकाको वडा नम्बर १ र ५, अर्नमा गाउँपालिकाको वडा नम्बर १,२,३, सिरहा नगरपालिका समेटर कायम गरिएको निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले गत स्थानीय तह निर्वाचनमा २७ हजार २ सय ९८ मत ल्याएको थियो । नेपाली कांग्रेसले १३ हजार ३२ मत ल्याएको थियो भने फोरम– राजपा गठबन्धन (संघीय समाजवादी फोरम–राष्ट्रिय जनता पार्टी) ले १५ हजार ६ सय ३४ ल्याएको थियो । यो निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धन मतका हिसाबले पहिलो नम्बरमा देखिन्छ भने फोरम राजपा गठबन्धन दोस्रो र कांग्रेस तेस्रो नम्बरमा छ । यो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार लीलानाथ श्रेष्ठ र फोरम–राजपा गठबन्धनबाट असेश्वर यादव मैदानमा छन्।

कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिकाको वडा नम्बर २,३ र ४, नरहा गाउँपालिकाको वडा ३,४ र ५ समेटेर कायम गरिएको निर्वाचन क्षेत्र नम्बर ४ मा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले २३ हजार ५ सय ३ मत पाएको थियो । नेपाली कांग्रेसले १० हजार ५ सय ३१ मत ल्याएको थियो भने फोरम राजपा गठबन्धन (संघीय समाजवादी फोरम (राष्ट्रिय जनता पार्टी) ले १६ हजार ५ सय ३१ मत ल्याएको थियो । यहाँ पनि वाम गठबन्धन पहिलो , फोरम राजपा गठबन्धन दोस्रो र कांग्रेस तेस्रो नम्बरमा छ । यो क्षेत्रमा वाम गठबन्धनबाट प्रनिनिधिसभा सदस्य उम्मेदवार अजयशंकर नायक र फोरम राजपा गठबन्धनबाट राजकिशोर यादवबीच प्रतिस्पर्धा हुँदैछ। 

प्रकाशित: १४ मंसिर २०७४ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App