८ वैशाख २०८१ शनिबार
राजनीति

दलका पुरानै एजेन्डा, मतदातामा छैन उत्साह

बाँके – चुनाव नजिक आए पनि बाँके, नरैनापुरका नन्कौं अन्सारी हर्षित देखिँदैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेका बेला गाउँमा चुनावी गतिविधि बिस्तारै बढ्न थालेका छन् तर तिनले नन्कौंलाई छुन सकेका छैनन्। 

‘आजभोलि नेताहरुले हात जोडेर नमस्कार गरिरहेका छन्, जितेर गएपछि नमस्कार गर्दा पनि फर्काउँदैनन्,’ चियानास्ता पसल सञ्चालन गर्दै आएका नन्कौंले नागरिकसँग भने, ‘जसले जितेर गए पनि हाम्रो समस्या सुन्दैनन्, चुनाव आए पनि मनमा खुसी छैन ।’  उनको पसलमा थरीथरी दलका स्थानीय नेता कार्यकर्ता जम्मा हुन्छन् र राजनीतिक गफ चुट्छन् तर नन्कौंलाई यसमा खासै चासो हुँदैन।

मधेसी र मुस्लिम समुदायको बसोबास रहेको नरैनापुर क्षेत्र जिल्लाको सबैभन्दा पछाडि परेको ठाउँ हो । यो क्षेत्र वर्षौंदेखि सडक, विद्युत्, सिँचाइ सुविधाबाट वञ्चित छ ।

बाँकेको नरैनापुर सुगम जिल्लाको दुर्गम ठाउँका रुपमा परिचित छ । यहाँका साविक ६ वटा गाविस गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइयाँ मिलेर नरैनापुर गाउँपालिका बनेको छ । मधेसी र मुस्लिम समुदायको बसोबास रहेको नरैनापुर क्षेत्र जिल्लाको सबैभन्दा पछाडि परेको ठाउँ हो । यो क्षेत्र वर्षौंदेखि सडक, विद्युत्, सिँचाइ सुविधाबाट वञ्चित छ। 

२०५१ सालमा गाडिएका विद्युत पोल अझैसम्म तार टाँगिएको छैन । विकास निर्माणमा देखिएको सुस्तताले गर्दा नरैनापुरबासी राजनीतिक दलप्रति आक्रोशित छन् । ‘जब चुनाव आउँछ, त्यसपछि मात्र नेता गाउँमा देखिन्छन्,’ नरैनापुर गाउँपालिका–१ कटकुइयाँ निवासी इब्रार खाँले भने, ‘चुनाव आउन थालेपछि नेताहरुको उपस्थिति बिस्तारै बाक्लो हुँदै गएको छ, अघिपछि भने अनुहारै देखाउँदैनन्।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेसम्म नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरमले भोट मागेर गइसकेको बताए । उनले थपे, ‘कसलाई जिताएपछि यो ठाउँको विकास गर्न सक्छ, त्यसको विचार गरेर चुनावकै दिन एउटालाई भोट हाल्ने हो, अहिले कुनै सोच बनाएको छैन।’ 

नरैनापुर गाउँपालिका वर्षौंदेखि विकासले पछाडि पारिएको बताउँदै यहाँको प्रमुख समस्या सडक, विद्युत् र सिँचाइ सुविधा रहेको अवगत गराए । ‘अन्य समस्या पनि यहाँ धेरै छन्, यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी समस्याले पनि जरो गाडेको छ,’ इब्रारले भने। 

पछिल्लो समयमा यस क्षेत्रमा बर्खायामका बेला डुबान समस्या निम्तिने गरेको छ । भारतले अन्तर्राष्ट्रिय नियम मिचेर बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण नरैनापुर गाउँपालिकाअन्तर्गत पर्ने थुप्रै गाउँ डुबानमा पर्छन् ।
 बघौडा क्षेत्रको ‘उपनाम’ ले चिनिने नरैनापुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेशसभा १ (क) मा पर्छ । प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुने उम्मेदवारका लागि नरैनापुरका मतदाता निर्णायक मानिन्छन् । कुल ६ वडा रहेको नरैनापुरमा स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरम र नेपाली कांग्रेसले जितेका थिए । फोरमले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ३ वडाध्यक्ष र नेपाली कांग्रेसले ३ वडाध्यक्ष जितेका थिए। 

 नरैनापुरलाई २०४८, २०५१ र २०५६ सालमा क्षेत्र नम्बर १ मा राखिएको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा भने नरैनापुरलाई क्षेत्र नम्बर २ मा राखिएको थियो । हाल भने पुनः क्षेत्र नम्बर १ मै राखिएको छ । नरैनापुर समेटिएको क्षेत्रबाट २०४८ र २०५६ सालमा नेपाली कांग्रेस तथा २०५१ मा राप्रपाले जितेका थिए भने २०६४ मा संघीय समाजवादी फोरम र २०७० मा नेकपा एमाले विजयी भएका थिए । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका माधवराम खत्री र वाम गठबन्धनबाट माओवादी केन्द्रका महेश्वरजंग गहतराज प्रतिनिधिसभातर्फ प्रतिस्पर्धामा छन्। 

  यस्तै प्रदेशसभा १ (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी कृष्णा केसी, लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शरदचन्द्र बर्मा, संघीय समाजवादी फोरमबाट कमसर खाँ र राष्ट्रिय जनता पार्टीबाट रामकुमार दीक्षित प्रतिस्पर्धामा छन् । अधिकांश उम्मेदवारले नरैनापुर पुगेर मतदातासँग मत मागिसकेका छन् । प्रायः दलले मतदातासमक्ष पुरानै अजेन्डा प्रस्तुत गरेका छन् । दलहरुले नरैनापुर क्षेत्रका लागि सडक, बिजुली, सिँचाइलगायतलाई यसपटक पनि जोड दिएका छन्।

 २०४८ सालदेखि २०७० सालको निर्वाचनसम्म नरैनापुरबासीले कांग्रेस, राप्रपा, एमाले र संघीय समाजवादी फोरमलाई जिताएर पठाइसकेका छन् । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसलाई भोट हाल्ने ? यहाँका अधिकांश मतदाता अन्योलमा छन् । ‘अहिलेसम्म कसलाई भोट हाल्ने भनेर सोचेका छैनौं, चुनावको दिन विचार गरेर हालौंला नि,’ नरैनापुर–१ का ७० वर्षीय सबिर खाँले भने।

नरैनापुर गाउँपालिका लक्ष्मणपुर निवासी जमाल खाँ बघौडाको विकासका लागि नेतृत्व गर्न सक्ने क्षमता बोकेको उम्मेदवारलाई भोट हाल्ने बताउँछन् । ‘हामी चुनावका बेलामा मात्र प्रयोग भएका छौं,’ उनले भने, ‘यो चुनावमा यस्तो व्यक्तिले जितोस्, जसले चुनाव जिते पनि गरिबका समस्या राम्ररी सुनिदेओस् र हाम्रो ठाउँको विकासमा ध्यान देओस् ।’

प्रकाशित: १४ मंसिर २०७४ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App