महोत्तरी- प्रतिनिधि सभा तर्फ राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक तथा मधेसी गठबन्धनका साझा उम्मेदवार समेत रहेका महन्थ ठाकुर चुनावी प्रतिष्पर्धामा उत्रे पछि महोत्तरी ३ को चुनावी वातावरण रोमाञ्चक भएको छ।
संघीय समाजवादी फोरम र राजपा नेपालको गठबन्धनका साझा उम्मेदवार हुनुका साथै नेपाली काँग्रेसले समेत उनैलाई सघाउने निर्णय गर्दै आफ्ना महोत्तरी ३ का उम्मेदवार बंजरग नेपालीको उम्मेदवारी फिर्ता लिए पछि महन्थको जित सहज ठान्नेहरु पनि स्वतन्त्र उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका उम्मेदवार विजय चौधरीको चुनौतीलाई कमजोर मान्न सकिरहेको छैन।
सदरमुकाम तथा मधेसकै पुरानो जलेश्वर नगरपालिका सहित एकडारा गाउँपालिका , मटिहानी नगरपालिका र पिपरा गाउँपालिका समावेश रहेको महोत्तरी क्षेत्र नं. ३ मा राजपा नेपालकै संगठन बलियो छ। स्थानीय तहको चुनावमा यी चार वटै स्थानीय निकायको प्रमुख र उपप्रमुखमा विजयी भएका छन्। प्रमुख र उपप्रमुखमा मात्र नभई चार वटै स्थानीय तहमा राजपा नेपालको प्यानल अधिंकास वडाहरुमा विजयी भएकोले संगठन बलियो छ।
स्थानीय तहको चुनाव जस्तो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोल भने पक्कै पनि छैन। भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावमा महोत्तरी ३ मा खसेको मतको पहिलो जातिय आधारमा , दोस्रो व्यक्तिगत प्रभाव , तेस्रोमा दलिय हिसाव र चौथो मधेसी सेन्टीमेन्टको आधारमा उम्मेदवारहरुलाई मत पाएका थिए।
तर मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी महोल स्थानीय तहको जस्तो छैन। यसपालिको निर्वाचनमा कुनै उम्मेदवारलाई बलियो र कसैलाई कमजोर भनेर व्याख्या गर्न सक्ने अवस्था नरहेको पेशाले निजि स्कुलका शिक्षक रहेका जलेश्वर ४ घर भएका शम्भु ठाकुरको भनाई छ।
सदरमुकाम जलेश्वर समेत रहेको क्षेत्र नं. ३ मा अहिले सम्म दोहोर्याएर जित्ने उम्मेदवार छैनन्। यहाँका मतदाताको मन कहिल्यै पनि एकै जस्तो स्थिर नरहेकोले जनताको अभिमत कता जाने जनतालाई मात्र थाहा हुने तर्क शिक्षक ठाकुरको रहेको छ।
यहाँ स्वतन्त्रबाट उम्मेदवारी दिएका चन्देश्वर झा पहिले राजपाबाटै टिकटका लागि आंकक्षि रहेका थिए । उनी चुनाव भन्दा केहि महिना पहिल्यै मात्रै राजपामा प्रवेश गरेका थिए । तर अन्तिम समयमा आएर राजपा नेपालबाट संयोजक महन्थ ठाकुरले उम्मेदवारी दिने पक्का भएपछि झा वागि भएर उनकै विरुद्ध स्वतन्त्र उम्मेदवारी दिन पुगे।
जानकारहरुका अनुसार महन्थको आफ्नै संगठनका वागि उम्मेदवार झा पनि महन्थका चुनैती हुन्।
यस अघि २०७० को संविधान सभा चुनावमा झाले तात्कालिन क्षेत्र नं. ४ मा स्वतन्त्रबाटै विजयी भएका थिए र यस पटक फेरि पनि दोहोर्याएर उनी स्वतन्त्रबाटै लडेर महन्थलाई पछारेर विजयी हुने कसरतमा कम्मर कसेर लागेको देखिन्छ। माओवादी केन्द्र र नेकपा एमालेको वाम गठबन्धनको उम्मेदवार विजयी चौधरीले संगठनको भोटका कारण ठाकुरलाई नै चुनाती दिइ रहेका छन्।
स्वतन्त्र उम्मेदवार झालाई आन्तरिक रुपमा राजपा नेपालका नेताहरुले मनोनयन पत्र दर्ता अघि पटक पटक झालाई मनाउने निकै प्रयास पनि गरेका थिए। उनलाई राजपा नेताहरुले विभिन्न खाले प्रस्ताव समेत राखेका थिए तर उनी उम्मेदवारी दिएर नै छाडे।
समग्रमा महोत्तरी ३ मा महन्थ, चन्देश्वर र विजयीबीच त्रिकोणात्मक र रोचक भिडन्त हुने देखिन्छ। यस क्षेत्रमा ७८ हजार ९ सय ४ मतदाता रहेका छन्।
प्रकाशित: १३ मंसिर २०७४ १०:२४ बुधबार