१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यस कारण कम खस्यो मत

खोटाङ– प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ५७ प्रतिशत मात्र मत खस्यो। जब कि असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६३ प्रतिशत मत खसेको थियो। स्थानीय तहमा खसेको मतको तुलनामा मंसिर १० गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा ६ प्रतिशत कम मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुशार स्थानीय तहको निर्वाचनमा १ लाख १५ हजार ६४४ मतदाता रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मतदाता संख्या बढेर १ लाख २५ हजार १८३ पुगेको थियो। तर, ९ हजार ५३९ नयाँ मतदाता थपिए पनि तुलनात्मकरुपमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खसेको मत कम छ।

स्थानीय तहको निर्वाचनमाजस्तो प्रत्येक मतदातालाई छुने आयम नभएका कारण पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उपस्थित कम भएको देखिएको हो।

भोटका लागि धाएर अनुनयविनय गरेकै कतिपय मतदाता मतदानकाक्रममा नआएको स्वयं दलका नेता तथा कार्यकर्ता बताउँछन्। स्थानीय तहको निर्वाचनभन्दा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कम मत खस्दाको प्रत्यक्ष अशर उम्मेद्वारको हातजीतमा समेत पर्ने हुन्छ। यसको प्रभाव राम्रा या नराम्रा उम्मेद्वार चयनमा समेत पर्छ। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा अपेक्षित मत नखस्नुका कारण विविध छन्।

‘पहिलो चरणको निर्वाचनमा खसेको मत प्रतिशत किन थोरै भन्ने प्रश्न अस्वभाविक होईन, तर यसको उत्तरमा धेरैको ध्यान पुगेको देखिन्न,’ खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका स्थानीय इन्द्र नारथुंगेले भने, ‘मतदाता नामावली अधावधिक गर्नेक्रममा मृतकको नाम नहटाइनु, वैदेशिक रोजगारमा गएका युवाले मतदान गर्न नपाउनु, बसाई सरेका मतदाता नामावली पुरानै स्थानमा कायम रहनु र कामको चटारोले केही मतदाता मतदानमा उपस्थित हुन नसक्नुका कारण कम मत खसेको हो।’

निर्वाचनमा मत प्रतिशत घट्नुका मूख्या कारण राजनितीप्रतिको बितृष्णालाई मान्ने पनि कम छैनन्। २०४६ साल यता जिल्लाबासीले पटक–पटक भोट हाले। दर्जनौं नेतालाई जिताएर पठाए। मतदानसँगै पात्र फेरिए तर, प्रबृत्ति फेरिएन। छिमेकी जिल्लामा ओखलढुंगा हुँदै सोलुखुम्बु जाने सडक कालोपत्रे भएको वर्षौँ बित्दा खोटाङका सडकमा बुङबुङ धुलो उँडिरहेको छ। चार दशक बित्दा समेत सदरमुकाम दिक्तेल जोड्ने सडक कालोपत्रे हुन सकेको छैन।

खोटाङको सिमाना बनेको सुनकोसी र दुधकोशी तथा विद्युतीय उर्जाको श्रोतकारुपमा रहेको रावा खोला, साप्सु खोला, सावा खोला, टुवा खोला लगायतका स्थानीय खोलानाला उपयोग बिहीन छन्। हलेसी, रुपाकोट, ट्याम्के, बराहपोखरीजस्ता धार्मिक तथा पर्यटकीयस्थलको उचिव पर्यटन प्रवद्र्धन हुन सकेको छैन। ठूला उद्योग तथा कलकारखाना खुल्ने मेसो छैन। उच्च शिक्षा र भरपर्दो स्वास्थ्यपचारको प्रवन्ध हुन नसक्दा अन्यत्र जानुपर्ने बाध्यता छ। कृषिको व्यवसायीकरण हुन सकेको छैन। जिल्लाबासीको जीवनस्तरमा सुधार आउन सकेको छैन। पटक–पटक भोट हाले पनि परिवर्तन नआउँदाको परिणाम निर्वाचनप्रति मतदाताको विश्वास घटेको स्थानीय महेन्द्र थुलुङ बताउँछन्। ‘मूख्या कारण राजनितीप्रतिको बितृष्णाले मत कम खसेको हो,’ थुलुङले भने, ‘अरु कारण सहायक हुन्।’ 

स्थानीय तहको निर्वाचनमाजस्तो प्रत्येक मतदातालाई छुने आयम नभएका कारण पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उपस्थित कम भएको देखिएको हो। स्थानीय तहको निर्वाचनमा जिल्ला बाहिर बसोबास गरिरहेका अधिकांश मतदाता मत हाल्न आए पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा बाहिरबाट मतदाता कम आएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए। ‘स्थानीय तहको निर्वाचनलेजस्तो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनले सबैलाई छुँदैन,’ जिल्ला निर्वाचन अधिकारी खत्रीले भने, ‘स्थानीय तहको चुनावमा बाहिरका मतदाता जसरी मरिमेटेर आए यो चुनावमा त्यसरी आएको देखिएन।’ 

निर्वाचन आयोगले २०६७ सालदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको हो। त्यस यता कैयौँ मतदाताको मृत्यु भइसकेको छ। तर, त्यी अधिकांश मृतकको नाम मतदाता नामावलीको सूचीबाट अझै हटाइएका छैनन्। वडा सचिवले मृतक मतदाताको नाम अद्यावधिक नगर्दा पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खसेको मतको परिमाण कम देखिएको खत्रीले बताए। 

 

प्रकाशित: १३ मंसिर २०७४ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App