coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मिलानको जिम्मा गाटुसोलाई

मिलान– इटालियन सिरी ‘ए’ को क्लब एसी मिलानले अपेक्षित नतिजा निकाल्न नसकेपछि प्रशिक्षक भिन्सेन्जो मोन्टेलालाई बर्खास्त गर्दै उनको ठाउँमा सोमबार पूर्वमिडफिल्डर गेनारो गाटुसोलाई नियुक्त गरेको छ। 

सात पटकको युरोपियन च्याम्पियन मिलान आइतबार टोरिनोसँग गोलरहित बराबरीमा सीमित भएपछि मोन्टेलालाई बर्खास्त गरेको थियो । टोरिनोसँगको निराशाजनक बराबरीपछि टोली सिरी ‘ए’ अंकतालिकाको सातौं स्थानमा थन्किएको छ । मोन्टेलालाई बर्खास्त गरेपछि टोलीले प्रशिक्षकका रूपमा खास अनुभव नभए पनि आफ्नो स्वर्णकालका एक खेलाडी ३९ वर्षे गाटुसोलाई नियुक्त गरेको हो । 

गाटुसोले १९९९ देखि २०१२ को बीचमा मिलानबाट ४ सय ५० भन्दा बढी खेल खेल्ने क्रममा जब्बर रक्षात्मक मिडफिल्डरका रूपमा छवि बनाएका थिए । उनी इटालीले २००६ मा विश्वकप जित्दाका महत्त्वपूर्ण खेलाडी पनि हुन् । मिलानसँग अनुबन्ध हुनुअघि उनले एक सिजन ग्लास्गो रेन्जर्समा बिताएका थिए। 

खेलाडीका रूपमा संन्यास लिएपछि उनले मिलानमै युवा टोलीको प्रशिक्षकका रूपमा नयाँ करियर सुरु गरेका थिए । त्यसपछि उनले स्विट्जरल्यान्डमा सियोन, इटालीमा पालेर्मो र पिसा तथा ग्रिसमा ओएफआई क्रेटेबाट पनि प्रशिक्षकको रूपमा अनुभव बटुलेका थिए। 

पछिल्ला चार सिजनमा एसी मिलानले शीर्ष ६ भन्दा माथिको उपलब्धि हासिल गर्न सकेको छैन । त्यसैले नयाँ चिनियाँ मालिक ली योङहङले टोलीलाई पहिलाकै जस्तो युरोपेली महारथीका रूपमा पुनस्र्थापित गर्ने लक्ष्यका साथ यसपालि २३ करोड युरो खर्चेका थिए। 

टोलीले युभेन्ट्सबाट लियोनार्दो बोनुचीलाई ३ करोड ८० लाख युरोमा सान सिएरो भित्र्याएको थियो । यसका साथै त्यतिकै रकममा टोलीले एफसी पोर्टोबाट पोर्चुगाली स्टार आन्द्रे सिल्भा तथा बायर लेभरकुसनबाट हाकान काल्हानोग्लुलाई अनुबन्धित गरेको थियो । थुप्रै स्टार खेलाडी भिœयाउनाका बावजुद मोन्टेलाले नतिजामा त्यसलाई रूपान्तरण गर्न सकेनन् । फलत कुनै बेला इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको शानको रूपमा रहेको क्लबबाट उनी १७ महिनामै बाहिरिनुपर्‍यो। 

पाउलो माल्डिनी, आन्द्रिया पिर्लो र फिलिपो इन्जाघीजस्ता सहयात्रीको साथमा खेलाडीका रूपमा २००३ मा युभेन्ट्सलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेका गाटुसोका लागि पनि मिलानको जागिर सहज पक्कै हुने छैन । मालिकको महत्त्वाकांक्षी योजनाअनुसार नतिजा ल्याउनुपर्ने दबाब उनीसँग सधैं हुनेछ । गाटुसो २००५ को नाटकीय च्याम्पियन्स लिग फाइनलमा लिभरपुलसँग पराजित हुँदा पनि टोलीका सदस्य थिए । मिलानले पहिलो हाफमा ३–० को अग्रता लिए पनि लिभरपुलले दोस्रो हाफमा तीन गोल फर्काएपछि पेनाल्टी सुटआउटमा युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको उपाधि जितेको थियो । इटालीका लागि ७२ पटक अन्तर्राष्ट्रिय खेलमा मैदान उत्रिएका गाटुसोले खेलाडीका रूपमा मिलानबाट दुई पटक सिरी ‘ए’ को उपाधि जितेका थिए। 

इटालियन सिरी ‘ए’ को अर्को टोली सासौलोले पनि सोमबार क्रिस्टियन बुच्चीलाई बर्खास्त गर्दै गुइसेप इचिनीलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। 

लगातारको खराब नतिजाका कारण सिरी ‘ए’ मा संघर्षरत अवस्थामा पुगेपछि प्रशिक्षक परिवर्तन गरेको क्लबको आधिकारिक वेभसाइटमा जनाइएको छ । १४ खेलको समाप्तिमा ११ अंकका साथ १६औं स्थानमा रहेको सासौलो रेलिगेसन क्षेत्रभन्दा एक अंकले मात्र माथि छ। 

प्रकाशित: १३ मंसिर २०७४ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App