८ वैशाख २०८१ शनिबार
राजनीति

इतिहास दोहोर्‍याउने दाउमा गठबन्धन

झापा –सधैं प्रभावशाली नेताहरुको चुनावी प्रतिस्पर्धाले सबैको ध्यान तान्ने झापामा यसपटक उत्सुकताको अर्को कारण पनि थपिएको छ । आफूलाई ‘प्रगतिशील’ दाबी गर्ने वाम गठबन्धनको अँगालोमा यसपटक उनीहरुकै भाषामा ‘दक्षिणपन्थी’ राप्रपा पनि बेरिएको छ। 

आफ्नो पुरानो किल्लामा ‘पुरातन’ शक्तिसँगको राजनीतिक तालमेल वाम गठबन्धनका लागि कति फलदायी होला ? देशभर कांग्रेससँग मिलेर वाम शक्तिसँग भिडिरहेको राप्रपा झापामा उनीहरुलाई नै उँभो लगाउन इमानदार होला ? यी र यस्ता अनेका प्रश्नले घेरिएको झापाको चुनाव रोचक बनिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, माओवादी नेता राम कार्की, राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन जस्ता नेपाली राजनीतिका चर्चित अनुहारहरुले प्रतिस्पर्धा गरिरहेको जिल्लामा दुवै पक्ष अब्बल नतिजाको दाबीमा छन्। 

‘डेन्जर जोन’ मा कांग्रेस 

वामपन्थीको पुरानो किल्ला मानिने झापामा यसपटक उनीहरु पुरानो साख फिर्ता गर्ने लक्ष्यमा छन् । २०५१ यताको प्रत्येक चुनावमा मत र जित संख्या बढाउँदै लगेको कांग्रेस पनि त्यस्तै सफलता दोहो¥याउने दाउमा छ । तर, द्विपक्षीय बिरासतको यो लडाइँमा कांग्रेस ‘डेन्जर जोन’ मा उभिएको छ। 

‘गठबन्धनमा सामेल एमाले र माओवादी इमानदार रहे भने झापामा कांग्रेसले हापेर बसे हुन्छ’, मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख चिन्तामणि दाहालले भने ‘तर, एमाले र माओवादीको गठबन्धन भरोसायोग्य छैन । त्यसैले स्थानीय चुनावको मतसंख्याले देखाएजस्तो नतिजा आउँदैन । कांग्रेस पक्षमा राम्रै नतिजा आउँछ ।’ कांग्रेस नेताहरु खुलेर आफूलाई सबै दलका मतदाताले भोट दिने आशा देखाइरहेका छन् । कांग्रेसका उम्मेदवारबाहेककै टोली पनि गाउँगाउँमा परिचालित भएको छ । स्थानीय चुनावको आफू अनुकूल गणित र बलियो गठबन्धनको भरोसामा रहेको वाम गठबन्धनचाहिँ आफ्नो मत सुरक्षित राख्ने काममा लागेको नेताहरु बताउँछन्। 

स्थानीय चुनावको नतिजाअनुसार पाँच निर्वाचन क्षेत्रहरुमध्ये हरेकमा कांग्रेस कम्तीमा १५ हजार मतले पछाडि देखिन्छ । तैपनि कांग्रेस नेताकार्यकर्ताहरु जितबारे आश्वस्त देखिन्छन् । आफू बलियो रहेको कारणले भन्दा पनि विपक्षी गठबन्धन भरोसायोग्य नरहेको विश्वासको जगमा कांग्रेसले यस्तो दाबी गरिरहेको छ । ‘एमालेले माओवादीलाई, माओवादीले राप्रपालाई भोट हाल्छन् भन्ने के आधार छ ?’ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धारत कांग्रेसका डा. खगेन्द्र अधिकारी भन्छन्, ‘त्यसैले वाम गठबन्धनले सोचेजस्तो परिणाम आउँदैन।’

कांग्रेसको अनुमानअनुसार वाम गठबन्धनभित्रैबाट ‘सहयोग भए’ बेग्लै कुरा अन्यथा २०४८ पछिका चुनावमा लगातार वाम किल्लामा बलियो बन्दै गएको कांग्रेसलाई यसपटक पुरानो सफलता दोहो¥याउन चुनौती छ । २०४८ को निर्वाचनमा मेची अञ्चलका कुनै पनि क्षेत्रमा जितको झन्डा फहराउन नसकेको कांग्रेसले त्यसपछिका चुनावमा भने मत र जितसंख्या दुवै बढाउँदै लग्यो । यसलाई वाम नेताहरु ‘आफूहरुबीचको बेमेलले कांग्रेसलाई पुगेको फाइदा’ का रुपमा अथ्र्याउँछन् । ‘वाम दलहरुभित्रको लगातारको विभाजनले बीचमा कांग्रेसले झापाका केही स्थान जितेको हो’, एमाले नेता देवेन्द्र दाहालको दाबी छ, ‘यसपटक वामपन्थी मत एकताबद्ध छ । वाम मत चुहिएला र जितिएला भन्ने कांग्रेसको अपेक्षा नै कारुणिक छ।’ 

झापामा चुनावी प्रतिस्पर्धा गरिरहेका दुवै पक्षलाई इतिहास दोहो¥याउने मोहले गाँजेको छ । 
वाम गठबन्धन २०२८ को झापा विद्रोहको ‘लिगेसी’ का बलमा स्थापित पुरानो किल्ला, स्थानीय चुनावको मत र राप्रपाको सहयोगलाई इतिहास पुनरावृत्ति हुने आधार बनाइरहेको छ भने कांग्रेस पार्टीको इतिहास र लोकतन्त्रप्रतिको निष्ठा, वाम गठबन्धनभित्रको अविश्वास र लगातार सुधारिएको नतिजालाई जितको आधारका रुपमा प्रस्तुत गरिरहेको छ।

२०४८ को आमनिर्वाचनमा मेची अञ्चलका सबै निर्वाचन क्षेत्र एमालेले जितेको थियो । त्यसेबला कुनै पनि निर्वाचन क्षेत्रमा जित निकाल्न नसकेको काँग्रेसका लागि २०५० सालको उपनिर्वाचन ‘लालकिल्ला’ तोड्ने अवसर बनेको थियो । झापा–१ का तत्कालीन सांसद द्रोणाचार्य क्षेत्रीको निधनपछिको उपनिर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौलाले जित हात पारेका थिए । त्यसबेला कांग्रेस कार्यकर्ताले ‘मेची–काली जोडियो, लालकिल्ला तोडियो’ भन्ने नारा गुञ्जाएका थिए । ०५१ को मध्यावधिमा सिटौला फेरि हार्दा चक्रप्रसाद बाँस्तोलाले झापा–४ मा जितेर कांग्रेसको साख जोगाएका थिए। 

२०५६ को निर्वाचनको मुखैमा एमाले विभाजित बन्यो । त्यसबेला ६ वटामध्ये तीन वटा क्षेत्रबाट सिटौला, बाँस्तोला र नरेन्द्र नेम्वाङ विजेता बनेका थिए । बाँकी तीनमा एमालेले जितेको थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जिल्लाका सात मध्ये पाँच वटा क्षेत्र माओवादी एक्लैले जितेर कांग्रेस र एमालेलाई १–१ सिटमा खुम्च्याइदियो । तर, उसको सफलता ०७० सम्म पनि टिकेन । संविधानसभाको दोस्रो निर्वाचनमा एमालेले ४ र कांग्रेसले तीन क्षेत्र जिते । यसपटक वाम गठबन्धन २०४८ सालको जस्तै एकतर्फी नतिजाको अपेक्षामा रहँदा कांग्रेस सिट संख्या बढाउने आशामा छ । कांग्रेसका लागि यो अपेक्षा ज्यादै चुनौतीपूर्ण हुने निकट अतीतको मत परिणामले देखाउँछ । 

उम्मेदवारका आशा  
 झापाका दुवै पक्षका उम्मेदवारको चुनाव जित्ने आशाका पछि समान तर्क  छन् । वाम गठबन्धनका उम्मेदवार सांगठनिक र मत संख्याको आधार देखाउँदै जितको दाबीमा छन् भने कांग्रेस उम्मेदवारहरु ‘जनताले लोकतन्त्रको रक्षक कांग्रेस’ रोज्ने आशामा छन् । ‘वाम होइन आम गठबन्धनले मात्रै देश बन्छ भन्नेमा जनता ढुक्क छन्’, झापा १ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा भन्छन्, ‘त्यसैले मतदाताले कांग्रेस उम्मेदवारलाई रोज्नेछन्।’  

झापा १ मा १ लाख ५ हजार ४ सय ७५ मतदाता छन् । यस क्षेत्रमा स्थानीय चुनावका आधारमा संयुक्त मोर्चाको मत ३९ हजार ३ सय ३२ छ भने कांग्रेसको मत २२ हजार २ सय ८१ छ । यहाँ वाम गठबन्धनबाट माओवादी नेता राम कार्की, प्रदेशमा एमालेका श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी उम्मेदवार छन् । कांग्रेसबाट विश्वप्रकाश शर्मा, प्रदेशमा केशवराज पाण्डे र अशोक पोखरेल उम्मेदवार छन्। 

कांग्रेस सभापति उद्धव थापा र एमाले नेत्री पवित्रा खरेलको मुख्य प्रतिस्पर्धा रहेको  झापा २ मा १ लाख १८ हजार १ सय ९६ मतदाता छन् । यहाँ गठबन्धनको मत ४० हजार ४ सय २० छ भने कांग्रेसको मत २२ हजार ८ सय ९० छ । यहाँ वाम गठबन्धनबाट प्रदेशमा एमालेका एकराज कार्की र बिर्ख प्रधान, कांग्रेसबाट लक्ष्मण खड्का र खड्ग प्रसाई प्रतिस्पर्धामा छन्। 

एमाले, माओवादी र राप्रपा तीन दलको घेरामा परेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्दैछन् । लिङ्देनलाई वाम गठबन्धनको साथ छ । २०७० मा एक्लाएक्लै चुनाव लड्दा पनि निकटतम प्रतिस्पर्धी बनेका लिङ्देनको चुनौती झेल्न सिटौला सम्पूर्ण शक्ति लगाएर मैदानमा छन् ।  झापा ३ मा १ लाख १४ हजार ५ सय ८६ मतदाता छन् । यस क्षेत्रमा गठबन्धनको मत कांग्रेसको तुलनामा दोब्बरभन्दा बढी छ । गठबन्धनको मत ४४ हजार ३ सय ३० छ भने कांग्रेसको मत १८ हजार २ सय ६० छ । यो क्षेत्रमा प्रदेशमा एमालेका वसन्त बानियाँ र माओवादीका पूर्णसिंह राजवंशी तथा कांग्रेसबाट भूमि राजवंशी र भगिरथ पोद्धार मैदानमा छन् । 

झापा ४ मा १ लाख ९ हजार ३ सय ९१ मतदाता छन् । वाम गठबनधनबाट एमालेका एलपी साँवा र  कांग्रेसका देउकुमार थेवे प्रतिस्पर्धामा रहेको क्षेत्रमा प्रदेशमा वाम गठबन्धनबाट माओवादीका झलकसिंह दर्लामी र एमालेका हीरा थापा तथा कांग्रेसबाट उत्तम सुवेदी र किरण भट्टराई प्रतिस्पर्धामा छन् । स्थानीय चुनावको परिणामअनुसार  गठबन्धनको मत ३७ हजार ७ सय ११ र  कांग्रेसको २२ हजार ९ सय ७३ छ । 

एमाले अध्यक्ष ओली चुनाव लडिरहेको क्षेत्र नम्बर ५ मा कांग्रेसबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् । यहाँ प्रदेशमा एमालेका हिक्मत कार्की र अर्जुन राई, कांग्रेसबाट राजन ढुंगाना र अनिलकृष्ण प्रसाई उम्मेदवार छन् । १ लाख ३७ हजार ५ सय ११ मतदाता रहेको क्षेत्रमा गठबनधनको मत ५२ हजार ८ सय ११ र  कांग्रेसको २१ हजार १ सय ५१ छ । 

प्रकाशित: १३ मंसिर २०७४ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App