coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सडक ढाकेर वामपन्थी सभा

काठमाडौं – एमाले–माओवादी नेतृत्वको गठबन्धनले राजधानीमा सडक अवरुद्ध गरेर चुनावीसभा गरेको छ । गठबन्धनले नयाँ बानेश्वरस्थित संसद् भवन पश्चिमतर्फको सडकमा मञ्च बनाएर सभा गरेपछि पाँच घन्टा यातायात सेवा अवरुद्ध भयो । सडक ओगटेर सभा गर्दा यात्रु समस्यामा परे। 

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्न आयोजना गरिएको उक्त सभामा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनले माओवादी केन्द्रका नेता अनील शर्मालाई उम्मेदवार बनाएको छ।  

साझा–विवेकशील पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई केटाकेटीको उपमा दिँदै केपी शर्मा ओलीले व्यंग्य गरे– समाचार भनेजस्तो राजनीति होइन, यो अलि फरक छ । 

सडकमै सभा गरिएपछि पुरानो बानेश्वरबाट गएका गाडीलाई थापागाउँतर्फ पठाइएको थियो भने नयाँ बानेश्वर चोकबाट पुरानो बानेश्वरतिर छिर्नै दिइएन । दुवैतर्फका गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले निर्देशन दिइरहेका थिए। 

सभास्थलमा ओली दिउँसो २ बजे आउने भनिए पनि पौने ४ बजेमात्र पुगेका थिए । उनी साढे पाँच बजेसम्म मञ्चमा बसेका थिए । सडक ओगटेर गरिएको चुनावीसभामा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि उपस्थित थिए ।  पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने चितवन भएका कारण उपस्थित हुन सकेनन् । भाइ अनिलको चुनावीसभामा सहभागी हुन दाजु जनार्दन शर्मा रुकुमबाट  आएका थिए।

सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले स्थिर सरकार बनाउन वामपन्थी दलहरूबीच एकता भएको तर नेपाली कांग्रेसले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए । मुलुकमा भएका ठूलाठूला परिवर्तनको नेतृत्व वामपन्थीले गरेको स्मरण गर्दै ओलीले कांग्रेसबाट राजनीतिक स्थिरता सम्भव नभएको दाबी गरे । ‘जुन पार्टीले गणेशमान सिंहलाई धुरुधुरु रुवायो, त्यो पार्टीमा किन बस्नुहुन्छ, एमालेमा आउनुहोस्,’ ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दै भने, ‘दुईतिहाइ बहुमत ल्याएर देशमा स्थिर सरकार बनाऔं, देश विकास गरौं ।’ उक्त क्षेत्रमा गणेशमान सिंहका छोरा प्रकाशमानसिंह कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। 

कांग्रेस उम्मेदवार सिंहले तत्कालीन समयमा राष्ट्रसंघीय सम्मेलनमा भाग लिन जाँदा नेपालमा भारतको नाकाबन्दी नभएको बताएको आरोप लगाउँदै ओलीले भने, ‘नाकाबन्दीले जनताको चुलो बलेको छैन, राष्ट्रसंघमा गएर नाकाबन्दी छैन भनिदिनुभयो उहाँले ।’ ओलीले यस क्षेत्रबाट सिंह पटकपटक निर्वाचित भए पनि जनहितका पक्षमा काम नगरेको आरोप लगाए । 

विवेकशील–साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई पनि ओलीले कटाक्ष गर्न बाँकी राखेनन् ।  फुटबल र मेसीको उदाहरण दिँदै ओलीले ठूला मान्छे खेलिरहेको ठाउँमा साना र नयाँ अनुहार खेल्न आएको भन्दै कटाक्ष गरे । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा विवेकशील–साझा पार्टीबाट मिश्र उम्मेदवार छन् । ‘केही भाइबहिनीहरू अहिले राजनीतिमा आएका छन्, यो आकर्षणका लागि धन्यवाद दिन चाहन्छु, खेलाडीहरू मैदानमा खेलिरहेका छन, छेउपट्टि केटाकेटीहरू  सिको गरिरहेका छन,’ ओलीले भने, ‘सिक्नु र खेल्नु बेग्लै कुरा हो, अहिले हामी यस्तो म्याच खेलिरहेका छौं, जहाँ गोल हान्नैपर्छ । मेसीले गोल गरेको ठाउँमा कस्तो हुदोरहेछ ? कत्तिको सा¥हो छ भुकुन्डो ? म पनि हानेर हेर्छु भन्ने केटाकेटी खेलाडीले काम चल्दैन ।’ 

राजनीतिमा आएकोमा स्वागत गर्दै ओलीले मिश्रप्रति थप व्यंग्य गरे, ‘समाचार भनेजस्तो राजनीति होइन, यो अलि फरक छ ।’ तर, ओलीले वाम गठबन्धनका उम्मेदवार शर्मालाई भने कलिलो उमेरका भनेर कम नआँक्न अनुरोध गरे । शर्मा कलिलो देखिए पनि उनमा विकासको अजेन्डा बोक्न सक्ने क्षमता रहेको ओलीले बताए । 

शर्माले आफ्नै उमेरमा एमालेका तत्कालीन अध्यक्ष मदन भण्डारीले यही क्षेत्रबाट निर्वाचन जितेको स्मरण गर्दै आफूसँग क्षमता भएको बताए । सभामा माओवादी केन्द्रका नेता जनार्दन शर्मालगायतले बोलेका थिए।

प्रकाशित: १३ मंसिर २०७४ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App