७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘लोकतन्त्र सिध्याएर एकदलीय व्यवस्था ल्याउने वाम षड्यन्त्र’

रुपन्देहीको सालझन्डीमा आयोजित चुनावी आमसभामा सहभागी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत । तस्बिर : रेखा

रेखा भुसाल/देवेन्द्र बस्नेत
भैरहवा/दाङ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको जित अनिवार्य भएको बताएका छन् । वाम गठबन्धनका नाममा देशमा लोकतन्त्र सिध्याएर एकदलीय शासन व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको बताउँदै कांग्रेस सभापति देउवाले यसपालिको निर्वाचनमा एकदलीय तानाशाही कम्युनिस्ट शासन कि जनतालाइ मालिक मान्ने लोकतान्त्रिक व्यवस्था कायम राख्ने भन्ने कुरामा सही निर्णय लिन मतदातालाई आग्रह गरे। 

मंगलबार रुपन्देहीको क्षेत्र नं. ५ स्थित सालझन्डीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले वामपन्थी जनता माथि शासन गर्ने पार्टी भएको उल्लेख गर्दै वाम गठबन्धनले जिते हालसम्मका सबै उपलब्धि गुम्ने र नेपाली जनतालाई त्रासमा बाच्नुपर्ने अवस्था आउने दाबी गरे । ‘वाम गठबन्धनको मूल उद्देश्य समावेशी र समानुपातिक सिद्धान्त मासेर अधिनायकवाद ल्याउने, संविधान खारेज गरेर नेपाली जनतालाइ दास बनाउनु हो । त्यसैले कुनै हालतमा उनीहरुलाई जित्न दिनु हँुदैन’, देउवाले भने । कम्युनिस्टले झुटा नारा लगाएर साम्यवादी शासन नेपालमा लाद्न खोजेको जिकिर गर्दै देउवाले लोकतन्त्र रक्षाका लागि कांग्रेसलाइ बहुमतले जिताउन आग्रह गरे।

कांग्रेसले जिते रुपन्देहीमा सबैभन्दा ठूलो समस्याका रुपमा रहेको सुकुमबासी समस्या समाधान गर्ने देउवाले बताए । त्यस्तै अन्तर्राष्ट्रिय पवित्र धार्मिक स्थल लुम्बिनीलाई विश्वकै सबैभन्दा सुन्दर शान्तिवाटिकाका रुपमा विकास गर्ने, यहाँका ठूलासाना सबै आयोजनालाई प्राथमिकतामा राखिने, युवा बेरोजगार भत्ताको व्यवस्था, सामाजिक सुरक्षा भत्ता वृद्धिलगायतका महत्त्वपूर्ण काम गर्ने प्रतिबद्धता उनले जनाए। 

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई द्वन्द्वमा फसाउने कम्युनिस्टहरुको गठबन्धन राष्ट्रहितका लागि हुनै नसक्ने टिप्पणी गरे । अबको जमाना कम्युनिस्टको नभई लोकतन्त्रवादीको भएको उल्लेख गर्दै पौडेलले यसपालि जनताले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले जिताउने र वाम गठबन्धनको सपना ध्वस्त हुने दाबी पनि गरे । वाम गठबन्धनका केपी ओली र प्रचण्डले कम्युनिस्ट शासन ल्याएर संविधान फेर्न र देशलाइ अनिश्चय र अनिष्टतातर्फ धकेल्न खोजेको आरोप लगाउँदै पौडेलले नेपाललाई साम्यवादको ‘डम्पिङसाइट’ बनाउन नदिने बताए। 

महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रको विकल्प नभएकाले जनताले लोकतान्त्रिक शक्तिलाई भारी बहुमतले विजयी गराउने बताए । वाम गठबन्धनको कम्युनिस्ट शासन ल्याउने प्रयासलाई जनताले कुनै हालतमा सफल हुन नदिने कोइरालाले दाबी थियो । बिपीले देखेको सपना पूरा गर्ने समय आएको बताउँदै कोइरालाले लोकतन्त्रका माध्यमबाट आर्थिक क्रान्ति गरेर देशलाई समृद्ध र जनतालाई धनी बनाउने कांग्रेसको अभियानमा साथ दिन आग्रह गरे । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले कम्युनिस्ट शासन आए देशमा अशान्ति, अस्थिरता र बेरोजगारी सिर्जना भई सिंगो देश जेलमा परिणत हुने बताए । विश्वमा कहीं नटिकेको एकदलीय कम्युनिस्ट शासन नेपालमा ल्याउँछौं भन्नु दिवास्वप्ना भएको टिप्पणी गरे ।  उद्योगपति विनोद चौधरीले कांग्रेसले २०४८ सालमा ल्याएको आर्थिक नीतिले देशलाई अहिलेसम्म विकासको गतिमा डो¥याएको बाए । कांग्रेसको खुला अर्थनीतिको विकल्प अरु कुनै व्यवस्था हुनै नसक्ने दाबी उनले गरे।

कार्यक्रममा केन्द्रीय सदस्य पुष्पा  भुसाल, रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार भरत शाह, प्रदेशसभा उम्मेदवारहरु विष्णु पोख्रेल र फकरुद्दिन मुसलमानलगायतले बोल्दै देशमा स्थायी शान्ति, विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे।

यसैबीच दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन कम्युनिस्ट शासन रोज्ने या लोकतान्त्रीक शासन रोज्ने भन्ने निर्णायक प्रतिस्पर्धा भएको बताए । मंगलबार घोराहीमा आयोजित चुनावी आमसभामा देउवाले दमन रोज्ने कि खुला शासन रोज्ने निर्णय गर्ने जिम्मा जनताको काँधमा रहेको बताए । ‘अहिलेको चुनाव दमन शासन कि खुला शासन भन्ने प्रतिस्पर्धाको लडाईं हो,’ उनले भने, ‘आमजनतालाई मेरो आग्रह छ, लोकतान्त्रिक शासन व्यवस्थाका लागि कांग्रेसलाई विजयी बनाउनु अपरिहार्य छ ।’ कार्यक्रममा नेता पौडेलले पनि सम्बोधन गरेका थिए।

प्रकाशित: १३ मंसिर २०७४ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App