coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतपेटिका जाेगाउन चिसाेले सकस

जुम्ला सदरमुकाम खलंगास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका राखिएको कोठा बाहिर सुरक्षा दिन बसेका दलका प्रतिनिधि । तस्बिरः नागरिक

डिबी बुढा/ विष्णु देवकोटा

डोल्पा/जुम्ला–प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ। तर, ती मतपेटिकालाई पहरा दिएर सुरक्षित राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्ग्रिदो चिसो चुनौती बनेको छ। 

जुम्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न मतदान केन्द्रबाट संकलन गरी मतपेटिका ल्याइएको छ।  ती मतपेटिका मतगणना नहुँदासम्म सुरक्षित राख्न सुरक्षाकर्मीसँगै वाम गठबन्धन र कांग्रेस प्रतिनिधि खटिएका छन्। कठ्याङ्ग्रिँदो चिसोमा २४ सैं घन्टा मतपेटिकालाई पहरा दिनुपर्दा समस्या भएको वाम गठबन्धनबाट प्रदेशसभा (ख) का उम्मेदवार पदमबहादुर रोकायाले बताए । उनले भने, ‘मतगणना नहुँदासम्म पहरा दिँदा बिरामी भइने पो हो कि भन्ने चिन्ता थपिएको छ।’ 

राजनीतिक दलले मतपेटिकाको पहरा दिन खटिएका प्रतिनिधिलाई बाक्लो सिरक, डस्ना र खानाको व्यवस्था गरेका छन्। पालो बाँधेर मतपेटिकाको सुरक्षाका लागि पहरा दिन थालेको रोकायाले बताए । ‘कठ्याङ्ग्रिँदो चिसोमा पालैपालो रातदिन कार्यकर्तालाई खटाएका छौं,’ उनले भने । कांग्रेस र वा गठबन्धनका उम्मेदवारले पनि मतपेटिका सुरक्षास्थलमा प्रतिनिधि खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कांग्रेसले जिल्ला समन्वय समिति सदस्य जयराज भारतीको संयोजकत्वमा मतपेटिका सुरक्षा समिति बनाएको छ । वाम गठबन्धन प्रचारप्रसार संयोजक पूर्णप्रसाद धितालले आफैं लत्ताकपडा लिएर मतपेटिका राखिएको स्थलबाहिर बस्ने गरेको बताए। 

यस्तै जिल्लाका विभिन्न केन्द्रबाट डोल्पा सदरमुकाम दुनैमा मटपेटिका ल्याइसकिएको छ । दुनैस्थिति मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएका मतपेटिकाको सुरक्षाका लागि कठ्याङ्गिँ्रदो चिसोेको पर्वाह नगरी दलका प्रतिनिधि पनि खटिएका छन् । जिल्ला अदालतमा राखिएका मतपेटिकाको सुरक्षाका लागि पहिलो घेरामा नेपाल  प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना तथा मतपेटिका राखिएको कोठाबाहिर प्रत्येक राजनीतिक दलका प्रतिनिधि खटिएका छन्। 

डोल्पाका ६६ मतदान केन्द्रका एक सय ९८ मतपेटिकामध्ये मंगलबारसम्म एक सय ७१ मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइसकिएको छ । सेनाको हेलिकप्टरमार्फत् शेफोक्सुन्डो गाउँपालिकाका फोतगाउँ, कुगाउँ र भिजेर तथा छार्काताँगसोग गाउँपालिकाका छार्काभोट, घेराग, सप्तकोसी केन्द्रका मतपेटिका प्रतिकूल मौसमका कारण ओसार्न नसकिएको मुख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले बताए। 

तीन घेरामा सुरक्षाकर्मी 

सरकारले मतपेटिकाको सुरक्षाका लागि तीनवटा सुरक्षा घेरा बनाएको छ । जुम्ला सदरमुकाम खलंगामा संकलन गरिएको दुई सय ७० मतपेटिका रेखदेख गर्न सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जुम्लाका सम्पूर्ण राजनीतिक दल र जिल्ला सुरक्षा समितिको रोहबरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका सिलबन्दी गरेर कोठामा राखेको सहायक निर्वाचन अधिकृत ईन्द्र खड्काले जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको संयोजकत्वको सुरक्षा समिति बैठकले मतपेटिका सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ । ‘सेनाभित्र पस्दैन, तर बाहिरी घेरा निकै कडा बनाउने रणनीति अपनाइएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढाथापाले भने। 

प्रकाशित: १३ मंसिर २०७४ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App