coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले जितेमात्र लोकतन्त्र संस्थागत: नेता निधि

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको साटो नेकपा एमाले, नेकपा माओवादी केन्द्रीसहितको बाम गठबन्धले मुलुकमा एकदलीय अधिनायकवादी स्थापना गरेर मुलुकलाई अस्थीरतातिर धकेल्न लागेको आरोप लगाएका छन्।

 एक साता लामो स्वास्थ्य उपचारपछि सोमबार मात्र घर फर्केका नेता निधिले मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधि र प्रदेशसभा निर्वाचन कांग्रेसले जितेमात्र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने दाबी गरेका हुन।

‘एमाले, माओवादीसहितका दलहरुको बाम गठबन्धन संविधान कार्यान्वयन र प्राप्त उपलब्धी संस्थागत गर्नका लागि भएको होइन,’ निधिले पत्रकारहरुसँग भने, ‘त्यसलाई संस्थागत हुन नदिने र मुलुकमा एकदलीय कम्युनिष्ट अधिनायकवादी शासन ल्याउन एक ठाउँमा उभिएका हुन।’

आन्दोलनबाट प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने बेलामा उनीहरु अस्थीरता निम्त्याउन उद्धत भएको उनले बताए। जनता अस्थीरताको पक्षमा नरहेको बताउँदै उनले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन परिणाम पार्टीको पक्षमा आउने दाबी गरे । ‘कांग्रेसको पक्षमा राम्रो माहोल र जनसमर्थन छ,’ उनले भने, ‘बाम गठबन्धन भन्दा कांग्रेस अघि हुन्छ।’

धनुषा –३बाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेता निधिले आफ्नो गृह जिल्ला मात्र नभएर प्रदेश नम्बर–२मा कांग्रेसको बहुमत आउने जिकिर गरे ।

धनुषामा प्रभाव रहेका नेता सञ्जय साहसहित निटक नेताहरुको समर्थन आफुलाई रहेको बताएका निधिले जेलमा रहेका साहसँग भने भेट नभएको बताए । ‘नविन यादव, साहकी पत्नीसहितका नेताहरुसँग कुराकानी भइरहेको छ,’ उनले भने, ‘साहसँग मेरो भेट भएको छैन उहाँहरुमार्फत समर्थन र सहयोग गर्ने बचनसहित प्रचारमा जुट्नु भएको छ ।’

मधेसी जनताको अधिकार मधेसवादी दलको आन्दोलनमा आफुले मध्यस्थता गरेपनि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले उम्मेदवारी दिएपनि त्यसले कुनै असर नपर्ने उनले दाबी गरे । ‘मधेस मुद्दालाई स्थापित र सम्बोधन गर्न मैले मध्यस्थकर्ताको भूमिका खेलेकै हुँ,’ निधिले थपे, ‘यदि मलाई मित्रवत अनुहार मान्ने हो राजेन्द्र महतोको उम्मेदवारी मेरोविरुद्ध नपर्नु पर्ने हो । तर, मलाई कुनै चिन्ता छैन, चुनाव जित्छु ।’

आफ्नै गृह जिल्लामा उम्मेदवार बन्न नसक्ने भएपछि महतो धनुषा आएको उनले बताए । निधिसँग राजपा अध्यक्ष मण्डलका सदस्य महतो र वाम गठबन्धनका रामसिंह यादव प्रतिष्पर्धामा छन्।

प्रकाशित: १२ मंसिर २०७४ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App