८ वैशाख २०८१ शनिबार
राजनीति

कान्छो जिल्लामा निर्वाचन तयारी पुरा

कास्की- प्रदेश निर्माणको क्रममा प्रदेश नं. ४ मा परेको एकमात्र तराईको जिल्ला नवलपुर (बर्दघाट सुस्ता पूर्व) मा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ। ७७ औँ जिल्लाको मान्यता पाएको नवलपुरमा दोश्रो चरणमा मंसिर २१ गते निर्वाचन हुँदैछ।

भर्खरै जिल्लाको मान्यता पाएको नवलपुरमा प्रशासनिक कार्यमा अपुग जनशक्ति भएतापनि निर्वाचनका लागि आवश्यक जनशक्ति खटाउने तयारी पुरा भईसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।

‘सबै प्रशासनिक कार्यालय स्थापना भईसकेका छन्, मन्त्रालयले पुरानो नवलपरासी जिल्लाका कर्मचारीलाई नै प्रदेश निर्माणको क्रममा बनेको दुवै जिल्लामा बाँड्न भनेको छ, सोही अनुरुप दुई जिल्लामा कर्मचारी अपुग रहेका छन्,’ सुवेदीले भने, ‘निर्वाचन प्रभावित हुन नदिन बढी मात्रामा शिक्षकहरुलाई खटाईएको छ, अपुग कर्मचारीहरु निर्वाचन पश्चात पूर्णता पाउनेछन्।’

कार्यालयको तर्फबाट हुने सम्पूर्ण तयारी पुरा भईसकेको उनले जानकारी दिए । सुवेदीले भने, ‘कार्यालयको तयारी अन्तिम चरणमा पुगेको छ, १४ र १५ गते मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने छ।’

यो जिल्लामा नै पहिलोपटक स्थानीय तहको निर्वाचन भएको थियो। मुलुक संघीय प्रणालीमा गईसकेपछि यो जिल्लामा दोश्रो चरणमा प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनको तयारी सकिएको छ।

‘प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि नवलपुर क्षेत्रको कावासोतीको खानेपानी हलमा र परासी क्षेत्रको जिल्ला बालकल्याण समिति र महिला विकास कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ,’ मुख्य निर्वाचन अधिकृत सुवेदीले भने, ‘जिल्लाभरि २५८ मतदान केन्द्र तथा ११२ मतदान स्थल रहेका छन्, सम्पूर्ण आवश्यक सामाग्री केन्द्रमा पठाउने क्रममा छौँ।’

नवलपुरमा कात्तिक १९ गते जिल्ला प्रशासन कार्यालय र मंसिर ५ गते जिल्ला अदालतको उद्‍घाटन गरिएको थियो । छुट्टै जिल्लाको मान्यता पाएपछि यहाँ पहिलोपटक निर्वाचन हुन लागेको हो ।

‘नयाँ जिल्ला भएतापनि सुरक्षादेखि लिएर निर्वाचनको आवश्यक तयारी सकिएको छ’, सुवेदीले थपे, ‘निर्वाचन शान्तिपूर्ण रुपमा हुनेछ, कुल २ हजार भन्दा बढि कर्मचारी खटाउनेछौँ, निर्वाचनमा सम्पन्न गर्नको लागि सबै सुरक्षाकर्मी सहित निर्वाचनमा खटाईने कर्मचारीहरुसँग सम्पर्क गरिरहेका छौँ ।’ उनले भने, ‘दलहरुले पनि शान्तिपूर्ण रुपमा नै प्रचारप्रसार गरेका छन्, अहिलेसम्म आचारसंहिता उल्लंघनका कुनै लिखित मौखिक उजुरी आएका छैनन्, आचारसंहिता भित्र रहेर चुनावी गतिविधी गर्न दिईएको निर्देशन दल र उम्मेदवारले पालना गरेका छन्, स्थानीय तहहरुले पनि सहयो गरेका कारण कुनै अप्रिय गतिविधी भएका छैनन् ।’

यहाँ कुल २ लाख २१ हजार ७ सय १४ जना मतदाता रहेका छन् । मतदाताको संख्याको आधारमा एक केन्द्रमा सुरक्षाकर्मीबाहेक ८ जना कर्मचारी खटाईने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुल २२८ मतदान केन्द्र मध्ये स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरि १२ वटा मतदान केन्द्र अति संवेदनशील रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, ३८ केन्द्र संवेदनशील र बाँकी रहेका २७८ केन्द्र सामान्य रहेको जनाईएको छ ।

‘निर्वाचनलाई सुरक्षित बनाउन केन्द्रिय सुरक्षा अनुसार नै सुरक्षाकर्मी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालय सहित अन्य सुरक्षा निकायसँग परामर्श गरि चुनाव सुरक्षा योजना बनाएका छौँ,’ मरासिनीले भने, ‘चुनाव शान्तिपूर्ण रुपमा नै सम्पन्न हुनेछ।’

जिल्लास्थित कार्यालयले पूर्णता पाईसकेपछि चुनावमा थप सहजता भएको उनले बताए । नवलपुरमा हालसम्म जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, राष्ट्रिय अनुसन्धानको जिल्ला कार्यालय स्थापना भएका छन् । जिल्ला प्रशासन कार्यालयले यसअघिकै ईलाका प्रशासन कार्यालयबाट प्रशासनिक कार्य सञ्चालन गरिरहेको छ।

‘सबै प्रशासनिक कार्यालयको लागि घर भाडामा लिने प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘निर्वाचनपछि यसले पूर्णता पाउनेछ।’

यहाँ निर्वाचनमा प्रदेश तथा प्रतिनिधीसभामा स्वतन्त्रसहित १० दलले भाग लिएका छन् । कांग्रेसका महामन्त्री शशांक कोईराला यही जिल्लाबाट प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ बाट चुनावमा उठेका छन्।

 

प्रकाशित: १२ मंसिर २०७४ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App