coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

ऋचा–दीपाश्री वाकयुद्धको तेस्रो पाटो

‘गेट वेल सुन’ सामाजिक सञ्जालका भित्ताभर फिल्म आवद्ध कलाकारको समूहले लेखिरहेका थिए। ‘लौन कसलाई के भयो ? कोचाँहि बिमारी पर्‍यो?’ भनेर एकछिन मन आत्तिएको थियो। 

‘छक्का पञ्जा २’ की निर्देशक दीपाश्री निरौलाले व्यक्तिगत फेसबुक अकाउन्टमा लेखेकी रहिछन्, ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मुर्ख भन्नु भएछ। प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले तपाइँका फिल्मले कहिल्यै दर्शक पाएनन्। गेट वेल सुन!’
यही स्ट्याटस ‘छक्का पञ्जा २’ फिल्ममा आवद्ध अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र गौरव पहारी लगायतले कपी गरे। आफ्नो फेसबुक पेजमा पेष्ट गरे।

एक आम मानिसले कुनै कुरामा चित्त बुझेन भने अभिव्यक्ति राख्न पाउने अधिकार छ। फेरि सर्जकले आफ्ना सिर्जनाबारे सधैँ राम्रो प्रतिक्रिया पाउनै पर्छ भन्नेपछि छैन।

महिला हिंसाविरूद्धको १६ दिने अभियान चलिरहेको छ। महिला हिंसाविरुद्ध आवाज उठाउनुपर्छ भनेर संसारभर विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन्। नेपाली फिल्म क्षेत्रमा अहिले पनि अभिनेत्री, महिला फिल्ममेकर, महिला कलाकार र प्राविधिकहरुको स्थिति र पारिश्रमिकलाई लिएर ठूलो बहस भइरहेको छ।

लामो समयदेखि नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय भएकी उनले एउटा समूह बनाएर एक अभिनेत्रीविरुद्ध सामाजिक सञ्जाल नकारात्मक अभिव्यक्ति दिनु सही कसरी हुन्छ? अझ ‘कागले कान लग्यो’ भनेर कुरा नबुझिकन सामूहिक रुपमा समकक्षीविरुद्ध कसरी कलाकारहरु हुल बाँधेर लाग्न सक्छन्? नेपाली फिल्म क्षेत्र यसै त सानो छ। त्यसमाथि समकक्षी एकले अर्कालाई प्रोत्साहित गरेर अघि नबढी सफलता पाइन्न। 
तपाइँहरु आफैँ एकले अर्काको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध एकजुट भएर सामूहिक रुपमा सामाजिक सञ्जालमार्फत एकजनाको खेदो खन्नु हुन्छ। फिल्म क्षेत्र उभो लागेन भनेर बहस गर्नु त बेकार हो।

हामी स्वतन्त्र छौं। त्यसैले विभिन्न माध्यमबाट अभिव्यक्ति र विचार राख्नु सामान्य हो। कसैको वाक स्वातन्त्रता हनन् गर्ने अधिकार कसैलाई छैन।  गत मंसिर २ मा एकादेश अन्तरार्ष्ट्रिय फिल्म महोत्सवको एउटा  प्रसंगमा अभिनेत्री ऋचा शर्माले के भनिन् भन्ने अभिव्यक्तिलाई लिएर कला क्षेत्रमा लागेका कलाकारले सामूहित आकोश पोख्नु कहाँसम्मको न्यायसंगत हुन्छ?

‘छक्का पञ्जा २’ एक कमेडी विधाको फिल्म हो। त्यही फिल्ममा एक महिला निर्देशकले महिलालाई नै रुढिवादी पाराले चित्रण गरेको पाउँदा आफू छक्क परेको ऋचाको भनाइ थियो। ‘इन्टरभलमा मैले दीपा दिदीलाई यो के गर्नुभएको भनेर सोधेकी थिएँ। दिदीले पूरा फिल्म हेर भन्नुभयो। फिल्म अवधिभर दर्शक रमाएको देख्दा त्यो चित्रण सामान्य नै हो कि भन्ने पनि ठानेँ’, अभिनेत्री शर्माले महोत्सवमा भनेकी थिइन्। दर्शकका रूपमा नेपालीहरू हिपोक्रेट (ढोँगी) भएको भनाइ ऋचाको थियो।

‘छक्का पञ्जा २’ टोली आफूविरुद्ध खनिएपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘म एक कलाकार, निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा विचार दिन पाउँछु। दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौं। मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मुर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिसाको विषयलाई हाँस्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस्।’

एक आम मानिसले कुनै कुरामा चित्त बुझेन भने अभिव्यक्ति राख्न पाउने अधिकार छ। फेरि सर्जकले आफ्ना सिर्जनाबारे सधैँ राम्रो प्रतिक्रिया पाउनै पर्छ भन्नेपछि छैन। अहिले कुनै समुदायको चित्त दुख्छ भनेर सेन्सरबोर्डले बारम्बार हरेक दृश्यको मुल्याङ्कन गरेर सेन्सर पास गर्नेगर्छ। सबैले आफ्नो क्षेत्रमा राम्रो काम गर्ने प्रयास गरिरहेका छन्। म नराम्रो प्रतिक्रिया चाहिँ सुन्नै चाहन्न् भनेर ढिप्पी गर्नु पनि गलत हो। 

फिल्म भनेको कला प्रस्तुतिको माध्यम हो। यसमार्फत सबैले आ–आफ्नो विचार प्रस्तुत गर्न पाउँछन्। आज अभिनेत्री ऋचा शर्माविरुद्ध एक हुल लागे। भोलि अर्को कोहीविरुद्ध अर्को हुल लाग्ला। कसैको अभिव्यक्ति स्वतन्त्रताबिरुद्ध लाग्ने अधिकार हामी कोहीलाई पनि छैन्। कला क्षेत्रमा कसैले अभिव्यक्ति सुन्नै नसक्ने कलाकारहरु कसरी दर्शकमाझ प्रस्तुत हुनसक्लान् र? अभिव्यक्ति सुन्नै नसक्नेहरु मनोरञ्जन क्षेत्रमा नभएर कुनै व्यापारमा लागेर आम्दानी गर्दा उत्तम हुन्छ। 

त्यसो त अभिव्यक्ति स्वतन्त्रता हो भन्दैमा मनपरी बोल्दै हिँड्न पनि भएन्। स्वतन्त्रतासँगै हाम्रा अधिकार र कर्तव्यका अनेकौ कुराहरु जोडिएर आउँछन्। मैले बोल्दा कुनै समुदायलाई असर गर्नु भएन्। ‘तैले किन यस्तो भनिन् भनेर संगठित रुपमा लाग्नु भए अपराध हो। 

प्रकाशित: १२ मंसिर २०७४ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App