coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘ह्याट्रिक’ बनाउने कसरत

सिरहाको नक्सा र उम्मेदवार सुरेशचन्द्र दास यादव ।

लहान– आसन्न निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार सुरेशचन्द्र दास यादव प्रत्यक्षतर्फ सांसद दोर्होयाउने एक्ला नेता हुन् । उनी यसपटक आफ्नो जितलाई ‘ह्याट्रिक’ बनाउने कसरत गर्दै छन् । त्यसका लागि उनले नेपाली कांग्रेसका बलिया उम्मेदवार फोरम–राजपा गठबन्धनका शत्रुधनसिंह कोइरीलाई हराउनुपर्ने छ ।

यादवलाई पछाडि पार्न सके फोरम राजपा गठबन्धनका कोइरीका लागि संसदीय राजनीतिको ढोका खुल्नेछ । धनगढीमाई नगरपालिकाको वडा नम्बर ३ देखि १४ नम्बर, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर १, गोलबजार नगरपालिकाको वडा नम्बर १३, सुखीपुर नगरपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका औरही गाउँपालिका समेटिएको सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा  वाम गठबन्धन र फोरम राजपा गठबन्धन अमनेसामने छन् ।
भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा फोरम एक्लै लडदासमेत काँग्रेस र एमालेलाई टक्कर दिएकाले राजपासँगको गठबन्धनले चुनाव जित्न सहज हुने कोइरी बताउँछन् ।

‘यस क्षेत्रमा पहिलाभन्दा वाम गठबन्धन बलियो र कसिलो भएकाले जित सहज भएको वाम गठबन्धनका उम्मेदवार यादव बताउँछन् । स्थानीय तह निर्वाचनपछि कांग्रेस र फोरमबाट धेरै नेता कार्यकर्ता वामगठबन्धन दलमा प्रवेशले हाम्रो जित सुनिश्चित बनाएको छ,’ उनले भने । ‘स्थानीय तहको निर्वाचन परिणामको गणीतले पनि हामी बलियो देखिएका छौँ,’ उनले भने, ‘फोरम र कांग्रेसका ‘क्याडर’ को आगमनले थप सशतm भएका छौं ।’

६१ वर्षीय यादव भने मतदाताले एकपटक आफूलाई जिताउनेमा आशावादी छन् । प्रतिस्पर्धीलाई आफूले लोकप्रिय मतले जवाफ दिने उल्लेख गर्दै उनले भने,‘मेरा लागि यो अग्नीपरिक्षा हो । जनताले मलाई छान्नेछन् ।’ उनी ०४८ यताका दुई निर्वाचनमा उम्मेदवार बने । दुवैपटक जिते ।  उनी ०४८ र २०५१ सालका चुनावमा विजयी भएका हुन् । नयाँ कि अनुभवी उम्मेदवार छान्नेमा मतदाता विभाजित देखिन्छन् । यस क्षेत्रको जनमतले जनताको हितमा काम गरेका  अनुभवी नेता छान्नुपर्ने मान्यता राख्छन । लोभ देखाउनेलाई होईन कि जनहितमा काम गरेर देखाएकालाई मत हाल्ने मनसाय बोकेका पंतिm ठूलो छ । यद्यपी यहाँका करिब ४० प्रतिशत अस्थिर जनमत रहेको अनुमान गरिन्छ । यो जनमत  जता ढल्किन्छ वाजी उसैले मार्ने देखिन्छ ।

यादव उत्साहसाथ आमसभा र घरदैलोमा सहभागी भैरहेका छन् । ०५१  सालमा विजयी भएपछि उनी ०५२ सालमा स्वास्थ्य साहायक राज्यमन्त्री भए । त्यसबेला यस क्षेत्रका अधिकत्तर गाउँका युवालाई स्वास्थ्यमा रोजगारी दिलाएका उनी यही भन्दै मतदाता फकाइरहेछन् । वाम गठबन्धनले जित्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भने । वाम गठबन्धनको बहुमतले देशमा दीगो सरकार र आर्थिक क्रान्तिको बाटो खोल्ने भएकाले त्यसका लागि आफूले जित्नुपर्ने यादव बताउँछन् ।

पहिलो मधेस आन्दोलनपछि २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट सिरहा क्षेत्र नं. ४ बाट संविधानसभा सदस्य निर्वाचित कोइरी पार्टी विभाजनपछि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरे ।  त्यसपछि उनी पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री बने । तेस्रो मधेस आन्दोलनताका उनी पुनः उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरे । उनी भन्छन्, ‘मैले मन्त्री भएको बेला जनता आवास कार्यक्रम, जिल्लाको चार ठाउँमा पुल निर्माणसहित पर्यटन पूर्वाधार विकासका लागि काम गरेको छु । त्यसैले जनताले यो पटक मलाई जिताउँछन्,’ उनले भने ।

पहिलो संविधानसभा निर्वाचनमा जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमध्ये पाँचमा फोरमले झण्डा फहराएका थिए । एउटा क्षेत्रमा माओवादी जितेका थिए । दोस्रो संविधासभा निर्वाचनमा जिल्लामा फोरम निल भए । तिनवटा क्षेत्र कांग्रेस दुईवटा एमाले र एक क्षेत्रमा माओवादी केन्द्र जितेका थिए ।

स्थानीय निर्वाचनमा १७ स्थानीय तहमध्ये ६ वटामा माओवादी केन्द्र पाँचमा समाजवादी फोरम, चार तहमा एमाले र दुई तहमा कांग्रेस जितेका छन् । पछिल्लो निर्वाचनमा प्राप्त मतअनुसार एमाले पहिलो र समाजवादी फोरम दोस्रो स्थानमा छन् । कांग्रेस तेस्रो स्थानमा छ ।

एमाले माओवादी केन्द्रबीचको गठबन्धनका कारण वाम गठबन्धन बलियो देखिन्छ । यता कांग्रेस फोरम–राजपा गठबन्धनसँग चुनावी तालमेलगरी वाम गठबन्धनलाई जोडदार धक्का दिने दाउमा देखिन्छ ।

सिरहामा दुईपक्षीय टक्कर
सिरहा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य प्रत्यासी प्रदीप गिरी र वाम गठबन्धनबाट प्रत्यासी गंगाप्रसाद यादवबिच टक्कर हुँदैछ । दुवै जनाको जिल्लामा अलग्गै पहिचान छ । उनीहरुले लामो समयदेखि यस क्षेत्रलाई राजनीतिक ‘गढ’ बनाउँदै आएका छन् । राष्ट्रिय राजनीतिमा छाउँदै आएका ‘बुद्धिजीवी नेता’ गिरी र जिल्लाको राजनीतिमा छाउँदै आएका यादवबीच यसपालि ‘प्रतिष्ठा’ जोगाउन प्रतिस्पर्धा हुँदैछ ।

निर्वाचन क्षेत्र नम्बर २ मा तीनजना पूर्वसांसद चुनावमा भिड्दैछन् । लामो समय कांग्रेस राजनीतिमा सक्रिय भई लगातार दुई पटक (२०४८ र २०५१ ) मा तत्कालीन सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित सुरेशचन्द्र दास आसन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य प्रत्यसी छन् । सिरहा क्षेत्र नम्बर ३ बाट संविधासभा सदस्य निर्वाचित शत्रुधनसिंह कोइरी दासलाई टक्कर दिँदैछन् । यस क्षेत्रमा दास र कोइरीबीचमै प्रतिष्ठा जोगाउने प्रतिस्पर्धा हुने देखिन्छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका साझा उम्मेदवार लीलानाथ श्रेष्ठ र फोरम राजपाबाट साझा उम्मेदवार अशेस्वर यादवबीच प्रतिस्पर्धा हुँदैछ । श्रेष्ठ दोस्रो संविधासभा निर्वाचनमा तत्कालीन सिरहा क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा असेश्वर नौला प्रत्यासी हुन् ।

सिरहा क्षेत्र नम्बर ४ मा फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार एवं राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादव र वाम गठबन्धनका साझा उम्मेदवार एवं पूर्वकानुनमन्त्री अजयशंकर नायकबीच प्रतिस्पर्धा छ । यादव ०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार गणेश मण्डलसँग पराजित भएका थिए । नायक ०७० सालको संविधानसभापछि समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य चुनिएका थिए । उनी पहिलो पटक प्रत्यक्षबाट चुनाव लड्दै छन् ।

उस्तै–उस्तै नारा
वाम गठबन्धन, कांग्रेस र फोरम राजपा गठबन्धन तिनवटैका उम्मेदवार उस्तै–उस्तै चुनावी नारा लिएर मतदाताकहाँ पुगेका छन् । उनीहरुले ग्रामीण सडक, हुलाकी सडक, सिँचाई, मलखाद्धको सहज उपलब्धता,  युवा स्वरोजगारजस्ता नारालाई मुख्य चुनावी मुद्दा बनाएका छन् । त्यस्तै, व्यवसायमूलक शिक्षा, गाउँमा भरपर्दो स्वास्थ्य सेवा, स्थानीय पर्यटनको विकासजस्ता काम गर्ने उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् ।

कहाँ कसको पल्ला भारी
लहान नगरपालिका, धनगढीमाई नगरपालिकाको वडा नम्बर १ र २, लक्ष्मीपुरपतारी गाउँपालिकाको वडा नम्बर २,३,४,५,६, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका समेटेर कायम गरिएको सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा ८८ हजार ७२ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट एमालेले २० हजार ६ सय १९ र माओवादी केन्द्रले ३ हजार ७ सय ७५ मत प्राप्त गरेका थिए । दुवै दलको मत जोड्दा २४ हजार ३ सय ९४ हुन आउँछ । यस क्षेत्रमा नेपाली कांग्रेसले १५ हजार २ सय १०, संघीय समाजवादी फोरमले १४ हजार ६ सय ७२ र राष्ट्रिय जनता पार्टी (राजपा) ले ११ सय ६३ मत पाएका थिए । फोरम राजपा गठबन्धनको मत जोड्दा १५ हजार ८ सय ३५ हुन आउँछ । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको मत पहिलो, फोरम राजपा गठबन्धनको मत दोस्रो र कांग्रेसको मत तेस्रो स्थानमा छ । यद्यपी यो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार गंगाप्रसाद यादव र कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार प्रदिप गिरीबिच कडा टक्कर छ । कारण गिरीको आगमनले अर्को पार्टीका नेता कार्यकर्तापनि उनकै पक्षमा मत माग्दै हिडिरहेका छन् । समाजवादी फोरम यस क्षेत्रमा कमजोर हुनुमा टिकट वितरणपछि बढेको असन्तुष्टि र नेताकार्यकर्ताको बहिरर्गमन हो ।

धनगढीमाई नगरपालिकाको वडा नम्बर ३ देखि १४ नम्बर, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर १, गोलबजार नगरपालिकाको वडा नम्बर १३, सुखीपुर नगरपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका औरही गाउँपालिका समेटिएको सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा स्थानीय निर्वाचनमा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले २४ हजार ५ सय ७३ मत प्राप्त गरेको थियो । यस क्षेत्रमा नेपाली कांग्रेसले १५ हजार २ सय ८६ मत ल्याएको थियो भने फोरम राजपा गठबन्धनले १८ हजार ६ सय १३ मत पाएको थियो । यस क्षेत्रमा पनि वाम गठबन्धन पहिलो, फोरम राजपा गठबन्धनको दोस्रो र कांग्रेस तेस्रो नम्बरमा छ । यो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार सुरेशचन्द्र दाश यादव र फोरम राजपा गठबन्धका प्रत्यासी शत्रुधनसिंह कोईरीबिच कडा टक्कर देखिएको छ ।

गोलबजार नगरपालिकाको १ नम्बर वडा देखि १२ नम्बर वडा, नरहा गाउँपालिकाको वडा १ र २, विष्णुपुर गाउँपालिकाको वडा नम्बर १ र ५, अर्नमा गाउँपालिकाको वडा नम्बर १,२,३, सिरहा नगरपालिका समेटर कायम गरिएको निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले गत स्थानीय तह निर्वाचनमा २७ हजार २ सय ९८ मत ल्याएका थियो । नेपाली कांग्रेसले १३ हजार ३२ मत ल्याएको थियो भने फोरम राजपा गठबन्धन (संघीय समाजवादी फोरम –राष्ट्रिय जनता पार्टी) ले १५ हजार ६ सय ३४ ल्याएको थियो । यो निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धन मतका हिसावले पहिलो नम्बरमा देखिन्छ भने फोरम राजपा गठबन्धन दोस्रो र कांग्रेस तेस्रो नम्बरमा छ । यो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार लिलानाथ श्रेष्ठ र फोरम राजपा गठबन्धनबाट प्रत्यासी असेश्वर यादव बिच कडा टक्कर देखिन्छ ।

कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिकाको वडा नम्बर २,३ र ४, नरहा गाउँपालिकाको वडा ३,४ र ५ समेटेर कायम गरिएको निर्वाचन क्षेत्र नम्बर ४ मा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले २३ हजार ५ सय ३ मत पाएको थियो । नेपाली कांग्रेसले १० हजार ५ सय ३१ मत ल्याएको थियो भने फोरम राजपा गठबन्धन (संघीय समाजवादी फोरम (राष्ट्रिय जनता पार्टी) ले १६ हजार ५ सय ३१ मत ल्याएको थियो । यहाँ पनि वाम गठबन्धन पहिलो , फोरम राजपा गठबन्धन दोस्रो र कांग्रेस तेस्रो नम्बरमा छ । यो क्षेत्रमा वाम गठबन्धनबाट प्रनिनिधिसभा सदस्य उम्मेदवार अजयशँकर नायक र फोरम राजपा गठबन्धनबाट प्रत्यासी राजपा अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवबिच कडा टक्कर छ ।

प्रकाशित: १२ मंसिर २०७४ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App