५ वैशाख २०८१ बुधबार
कला

बायोपिक खेल्न आफ्नै अनुहार बाधा

मुम्बई- बलिउड फिल्ममा जीवनीमा फिल्म बनाउने क्रम बढ्दो छ । बायोपिक फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहँदा निर्माताहरू र कलाकारको बायोपिक फिल्ममै ध्यान दिन थालेका छन् ।   बक्स अफिसमा सर्वाधिक कलेक्सन गरेको आमिर खान अभिनित फिल्म ‘दंगल’ होस् या प्रियंका चोपडाको ‘मेरी कोम’, सुशान्त सिंह राजपुतको ‘एमएस धोनीः दी अनटोल्ड स्टोरी’ र फरहान अख्तरको ‘भाग सानी भाग’ले जीवनीलाई पर्दामा प्रस्तुत गरेर कुस्त पैसा कमाएका थिए । यस्ता फिल्ममा बलिउडका चल्तीका सबै अभिनेत्रीले अभिनय गर्न लागेको समाचार आए पनि कट्रिनाले भने यस्ता फिल्म खेल्ने मौका पाएकी छैनन् । तर, यो मौका अरु कसैका कारण नभइ कट्रिना स्वयंका कारण गुमेको हो ।  कट्रिनाको ‘लुक्स’ भारतीय जस्तो नलाग्दा निर्माताले चाहेर पनि उनलाई फिल्ममा लिन सकेका छैनन् ।  
‘कट्रिना इन्डो–ब्रिटेन मूलकी अभिनेत्री हुन् । फिल्म निर्माताहरूको कथा भारतीय नारीसँग सम्बन्धित भएकाले पनि चरित्र अनुसार क्याट्रिनालाई फिल्ममा भूमिका सुहाउँदैन,’एक फिल्म निर्माताले भनेका छन्,‘फिल्ममा कट्रिनालाई भारतीय मूलकी युवतीको रुपमा प्रस्तुत गर्न पनि उनको रुप र बोल्ने शैलीले सुहाउँदैन । त्यसकारणले पनि चाहेर वा नचाहेर पनि कट्रिनाले बायोपिक फिल्ममा काम गर्ने सम्भावना कम छ ।’
भारतका फिल्म निर्माताहरुले हालसम्म कुनै अन्तर्राष्ट्रिय सेलिब्रेटीको कथामा फिल्म नबनाएकाले पनि क्याट्रिनालाई बायोपिकमा लिन समस्या भएको हो । ‘बलिउडका बायोपिक स्वेदशी  कथामा मात्र बनेका छन् । उनीहरूले विदेशीको जीवनीमा फिल्म बनाएका छैनन्,’ती फिल्म निर्माताले भने,‘त्यसकारण अहिलेका लागि कट्रिनालाई लिएर बायोपिक फिल्म बनाउने योजना केवल एउटा सपना मात्र हुन्छ ।’
यो वर्षको अन्त्यतिर क्याट्रिना र सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा है’ रिलिज हुँदैछ । आगामी वर्ष आमिर खानसँगको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ र शाहरुख खानसँग नाम नखुलाइएको अर्को फिल्म रिलिज हुनेछ । यसबाहेक केही हलिउड फिल्ममा पनि उनी देखिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित: १२ मंसिर २०७४ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App