coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शिवपुजनको उम्मेदवारी खारेज हुँदा कसलाई फाइदा ?

सर्लाही- निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा बामगठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका शिवपुजन रायको उम्मेद्वारी खारेज गरेपछि अन्य दुई प्रतिष्पर्धी उम्मेद्वार उत्साहित भएका छन्।

सोही क्षेत्रमा नेपाली कांग्रेसबाट खडा भएका अमरेशकुमार सिंहले रायको उम्मेद्वारी खारेजले आफूलाई थप सहज भएको बताए।  ‘मेरो जीत सुनिश्चित जतिकै थियो, शिवपुजनजीको उम्मेदवारी खारेजले थप सुनिश्चित भएको छ’, नागरिकसँग कुरा गर्दै सिंहले दाबी गरे, ‘अब म ३० हजार मतान्तरले चुनाव जित्दै छु।’

सोही क्षेत्रमा राजपा फोरम गठबन्धनका उम्मेद्वार राकेशकुमार मिश्र पनि रायको उम्मेद्वारी खारेजीले उत्साहित देखिएका छन्। ‘राय विगतदेखि नै मधेस अधिकारको आन्दोलनमा लाग्दै आएको व्यक्तित्व हुनहुन्छ’, मिश्रको तर्क थियो, ‘अघिल्लो दुई चुनाव मधेसवादी दलबाटै उम्मेद्वारी दिनुभएको थियो, त्यसैले अब उहाँलाई भोट दिने मतदाताको पहिलो रोजाई म नै हुनेछु।’

तर कांग्रेस उम्मेद्वार सिंह भने शिवपुजनलाई हरेक निर्वाचनमा मधेसी ‘मुभमेन्ट’ नभई ‘जातिय फ्याक्टर’का कारण यादव समुदायको भोट पर्ने गरेको दाबी गर्छन्। ‘म निरन्तर रुपमा क्षेत्रका जनतासँग भिजिरहेको छु र क्षेत्रको विकास निर्माणमा लागिरहेको छु’ उनको दावी थियो, ‘क्षेत्रको समग्र विकास र आम जनताको सुरक्षाका लागि मेरो विकल्प छैन।’

प्राया काठमाडौं नै बस्ने राजपा उम्मेद्वार मिश्र स्थानीय स्तरमा भने कम परिचित रहेको राजपाका स्थानीय नेताहरु नै स्वीकार्छन्। स्थानीय स्तरमा प्रभावशाली राजपा नेता अलख सिंहले कांग्रेस उम्मेद्वार सिंहको तुलनामा मिश्रलाई क्षेत्रका मतदाताले नचिन्ने बताए। जसको फाईदा सिंहले उठाउने देखिन्छ।

९२ हजार ५४४ मतदाता रहेको साविक ६ नं. क्षेत्रको सबै भूभाग एवं साविक ५ नं. क्षेत्रका केही भूभाग मिलेर बनेको हालको ४ नं. क्षेत्रमा कांग्रेसका सिंह, माओवादीका राय र राजपा–फोरमका मिश्रबीच नै प्रतिष्पर्धा थियो। राय २०६४ सालको चुनावमा राजपा अध्यक्ष मण्डलका अध्यक्ष ठाकुर तथा कांग्रेसका सिंहलाई पराजित गर्दै मधेसी जन अधिकार फोरम नेपालको तर्फबाट सभासद् निर्वाचित भएका थिए । २०७० को निर्वाचनमा ६ नं. क्षेत्रबाट साविक तराई मधेस लोकातन्त्रिक पार्टी एवं हाल राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर तथा साविक तराई मधेश सद्भावना पार्टीको तर्फबाट उठेका रायलाई हराउँदै कांग्रेसका सिंह प्रत्यक्ष निर्वाचित सांसद् हुन। २०६४ सालमा १५ हजार ६८८ मतका साथ राय विजयी भएका थिए भने ठाकुरले १५ हजार ४१६ तथा सिंहले ११ हजार ९१७ मत प्राप्त गरेका थिए । २०७० सालमा भने अघिल्लो निर्वाचनमा तेस्रो भएका कांग्रेसका सिंहले १७ हजार ४०० मत सहित जीत हाँसिल गरे भने तमसपाबाट उठेका रायले १० हजार ३६५ तथा तमलोपाका ठाकुरले ७ हजार ३२ मत मात्र पाएका थिए।

निरन्तर कांग्रेसबाट राजनीति गर्दै आएका सिंह र ३ वटा चुनावमा ३ वटै छुट्टाछुट्टै दलबाट उम्मेद्वार खडा भएका रायबीच यो पटक पनि कडा टक्कर हुने आँकलन गरिएको थियो। यस क्षेत्रमा हालै सम्पन्न स्थानीय तहको मत परिणाम अनुसार सबैभन्दा बढी कांग्रेसको २० हजार ७१६ मत रहेको छ भने बामगठबन्धन अन्तर्गत माओवादी केन्द्रको १६ हजार १२१ तथा एमालेको ५ हजार २७२ मिलाउँदा कांग्रेसभन्दा केही बढी अर्थात २१ हजार ३९३ मत रहेको छ । राजपा फोरम गठबन्धन अन्तर्गत भने राजपाको १३ हजार ९७६ तथा संघीय समाजवादी फोरमको ३ हजार ४५८ गरी १७ हजार ४३४ मत छ।

यता माओवादी केन्द्रका स्थायी समिति सदस्य डाचाराज वाग्ले भने निर्वाचन आयोगले आफ्नो पार्टीका उम्मेद्वार रायको उम्मेद्वार खारेजी प्रकृया, विधी र न्यायसंगत नभएको दाबी गर्छन् । ‘निर्वाचन आयोगको निर्णय विरुद्ध हामी सर्बोच्च अदालत जान्छौं’, उनले भने, ‘अदालतले उचित न्याय पाउने छौ भन्ने विश्वास छ।’

पहिलो संविधानसभामा सदस्य रहेका राय आफूले पाएको कुटनीतिक राहदानीको दुरुपयोग  गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति हुन्। लगत्तै उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । जुन मुद्दा विचाराधिन छ।

प्रकाशित: ११ मंसिर २०७४ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App