८ वैशाख २०८१ शनिबार
राजनीति

मतपेटिकालाई तीन घेराको सुरक्षा (फोटो फिचर)

सिन्धुपाल्चोक-  जनमतले भरिएका मतपेटिकालाई तीन घेराको सुरक्षा दिइएको छ। मतपेटिका राखिएको भवनलाई निषेधित क्षेत्र घोषणा गर्दै तीन घेरामा रहेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेका हुन्।

सोमबार बिहानसम्म सबै मतदान केन्द्रबाट सम्पूर्ण मटपेटिका आइसकेपछि जिल्ला कृषि विकास कार्यालयको भवनमा राखिएको छ। शिलबन्दी गरी भवनका आठ कोठामा राखिएका मटपेटिकालाई कडा सुरक्षा दिइएको छ । भवन परिसरमा पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् । तेस्रो घेरमा रहेर परिसर बाहिरको सुरक्षामा नेपाली सेना खटिएको छ।

 ‘मटपेटिकासहितको भवन हातामा कडा सुरक्षाको व्यवस्था गरिएको छ,’ प्रमुख निर्वाचन अधिकृत दीपक खनालले नागरिकसँग भने। उनका अनुसार भवनको एउटा तलामा निर्वाचन क्षेत्र नं. १ को र अर्कोमा २ नम्बर क्षेत्रका मटपेटिका राखिएका छ । तलाका प्रत्येक चार/चार कोठामा छुट्टाछुट्टै प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक मत रहेका मतपेटिका राखिएको छ।

उम्मेदवार र उनीहरुका प्रतिनिधिको रोहबरमा मटपेटिका राखिएका सबै कोठा शिलबन्दी गरिएको थियो । भवनको मुख्यद्धारमा ताल्चा लगाइएको छ । भवनका दुबै तलाको अवस्था हेर्नको लागि सिसी टिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत खनालले बताए । ‘सबैले देख्न सक्ने गरी डिस्प्ले बोर्डको समेत व्यवस्था गरेका छौँ,’ उनले भने।

भवन परिसरमा दलका प्रतिनिधि बस्न टेन्ट गाडिएको छ । त्यहाँ उम्मेदवारका प्रतिनिधि बसेका छन् । उनीहरुले मटपेटिकाको सुरक्षामा सुरक्षाकर्मीलाई सघाउने छन्। ‘यसले मतपेटिका केही भइहाल्ने हो कि भन्ने शंका निवारण गर्छ,’ खनालले भने। दलीय प्रतिनिधिलाई भवन परिसर प्रवेशका लागि फोटोसहितको परिचयपत्र दिइएको छ । उनीहरु आलोपालो मिलाएर मटपेटिका सुरक्षामा खटिने छन्।

आइतबार सम्पन्न मतदानमा सिन्धुपाल्चोकमा झण्डै ७० प्रतिशत मत खसेको थियो । ती मत ८ सय ५५ मतपेटिकामा शिलबन्दी अवस्थामा छन् । मटपेटिका सुरक्षाको कमाण्ड डिएसपी बिमल कँडेलले सम्हालेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App