७ वैशाख २०८१ शुक्रबार
अन्य

भावि सम्धी–सम्धिनीसँगको पहिलो भेट

नेपाली समाजमा बिहे दुई व्यक्तिका बीच मात्र हुँदैन, बिहेले त दुई परिवारलाई एकै आँतको समेत बनाउने काम गर्छ । बिहेअघि दुवै परिवार भेटघाट गर्ने, कुराकानी गर्ने, दुलहीभन्दा पहिले परिवार मन पराउने अनि मात्र बिहे छिन्ने काम हुन्छ । यस हिसाबले बिहे पहिलो भेटघाटले नै भावि सम्बन्धको आधार बनाउँछ । पहिलो भेटघाट गतिलो र गहिरो किसिमको होस् भन्ने चाहना राख्ने धेरै हुन्छन् । त्यसैले अधिकांश परिवारले यस कुरामा विशेष ध्यान दिन्छन् ।
पहिलो प्रभाव गज्जबको पार्न उसो भए के गर्ने त ? विशेषज्ञहरु भन्छन्, यी पाँच नियम पालना गरेका खण्डमा भावि सम्धी–सम्धिनीबीच गतिलो प्रभाव जमाउन वा पार्न सकिन्छ ।
सुरुवात राम्रो भयो भने अन्त्य पनि राम्रो हुन्छ भन्ने आहान छ । यो कुरा त वैवाहिक सम्बन्धमा अझ गहिरो गरी लागू हुन्छ । त्यसैले भावि सम्धी सम्धिनीसँग पहिलो पटक भेट गर्दा यी पाँच नियमलाई ख्याल गर्दा राम्रो हुन सक्छ ।
नियम १
पहिले कुराकानी अनि मात्र भेटघाट

जोसँग भेट्दै हुनुहुन्छ, उनीहरुका बारेमा न्यूनतम जानकारी हुन जरुरी छ । यसै आवरण जोडीका कथा सुन्ने क्रममा दुलहा–दुलहीको कुरा छिन्न जाने क्रममा दुलहीकी आमालाई हेरेर दुलही त गज्जबकी राम्री रहिछन् भन्ने प्रतिक्रिया दुलाहा पक्षले दिएको रोचक किस्सा आएको छ । यस्तो भयो भने त्यस बेला केही क्षण हाँसो त होला तर सधैँभरि हाँसोको पात्र बनिने सम्भावना पनि हुनसक्छ ।
खासगरी दुलाहा पक्षले दुलही पक्षका र दुलही पक्षले दुलाहा पक्षको पारिवारिक–आर्थिक तथा सामाजिक पृष्ठभूमिबारे पहिले नै जानकारी लिनु राम्रो हुन्छ । कुनै दुविधा भए भेटपछि आफ्ना दुविधा मेट्नु आवश्यक हुन्छ । भेट गर्नुअघि कुनै दुविधा नहोस् भनी फोनमा कुराकानी जारी राख्नु पर्छ ताकि अपूर्ण परिचय वा अपरिचयको अवस्था नरहोस् । अपूर्ण परिचय र अपरिचयको अवस्थामा दुवै पक्षलाई सङ्कोच हुन्छ । सङ्कोचको अवस्था नरहेकै राम्रो ।
सुझाव : जोमार्फत बिहे हुन लागेको हो, मध्यस्थकर्तालाई पनि पहिलो भेटमा साथै राख्नु उचित हुन्छ ।
नियम २
घरबाहिरको भेट राम्रो

बिहे हुने वा नहुने निश्चित नगरेको अवस्थामा, दुवै पक्षलाई एकअर्कामा दुविधा रहेको अवस्थामा पहिलो भेट कुनै शान्त ठाउँ, रेस्टुराँ वा धार्मिक स्थलमा गर्नु राम्रो हुन्छ । त्यसो त यस्तो भेटघाटका बेला एकलकाँटे निर्णय नगर्नु नै उत्तम हुन्छ । यसमा दुवै पक्षको राजीखुसीमा स्थान चयन गर्दा राम्रो हुन्छ । के कारणले कुन ठाउँ चयन गरेको, भेटघाट स्थलमा परिवारका कुन कुन सदस्य आउँदैछन् भन्ने विषयमा राम्रो सम्वाद हुन आवश्यक छ ताकि पाहुनालाई उचित प्रबन्ध गर्न सकियोस् । रेस्टुराँमा पनि यस किसिमको भेटघाट गर्न सकिन्छ । यस्तो अवस्थामा रेस्टुराँ छान्दा शान्त ठाउँ नै रोज्नु पर्छ । भिडभाड र कम होहल्ला हुने रेस्टुराँ भए अति उत्तम ।
सल्लाह : यस किसिमको भेटघाटमा भावि दुलाहा–दुलहीलाई पनि समावेश गर्नु उचित हुन्छ । यस्तो हुन सक्दा दुवैले एकअर्कालाई भेट गर्ने, कुराकानी गर्ने वा एकअर्कालाई परख गर्ने अवसर पाउँछन् । यसअघि नै भावि दुलाहा–दुलहीबीच भेटघाट भइसकेको अवस्थामा यो भेट अझ बढी आत्मियता बढाउने किसिमको हुन सक्छ ।
नियम ३
उपहारबाट अपनत्व बढ्छ

यस किसिमको भेटघाटमा आएका अतिथिहरुलाई उपहार दिनु उचित हुन्छ । उपहार महँगो हुनुपर्छ भन्ने छैन तर उपहार दिँदा यसले उपहारदाताको भावना अभिव्यक्त गर्छ । यस्तो भेटघाटको अवसरमा मिठाई लैजाने परम्परा पुरानै हो । यसका अतिरिक्त सम्धी–सम्धिनीको परिवारमा बालबालिका तथा वृद्धवृद्धा छन् भने उनीहरुका लागि ससाना उपहार दिनु राम्रो देखिन्छ ।
सल्लाह : परिवारमा को को हुनुहुन्छ भन्ने कुरा फोनमा पहिले नै सुनिश्चित गर्नु राम्रो हुन्छ ताकि उपहार कसकसलाई दिने हो छुट्याउन सहज हुन्छ ।
नियम ४
असहज कुराबाट बच्नुहोस्

पहिलो भेटमा नै असहज कुराकानी नगर्नुहोस् । जबसम्म आवश्यक पर्दैन, असहज कुरा नगर्नु नै उचित हुन्छ । खास गरेर परिवारमा को पोइल गएको थियो, को जेल परेको थियो, कसले जाँड खाएर होहल्ला मच्चाएको थियोजस्ता कुरा त गर्नै मिल्दैन । कतिपय सम्धी–सम्धिनी सिधासिधा दाइजोका कुरा गर्न रुचाउँछन् तर पहिलो भेटमा दाइजो तथा लेनदेनका विषयमा कुरा गर्नु हुँदैन । यस्तै आफ्नो सामाजिक र आर्थिक रवाफ देखाउने अनि आफ्ना नातेदारका बारेमा गुणगान गाउनेजस्ता कुराहरुलाई प्राथमिकता दिनै हुँदैन ।
सल्लाह : यस्तो भेटघाट फेरि फेरि गर्न नमिल्ने अवस्था भएको खण्डमा बिहेसँग जोडिएका हरेक पाटाका बारेमा प्रस्ट कुरा राखेको राम्रो ।
नियम ५
कुरा नलुकाउनुहोस्

सम्धी–सम्धिनीको पहिलो भेटघाटमा प्रायः मानिसहरु शिष्टाचार र शालिनताका नाउँमा धेरै नबोल्ने हुन्छन् । धेरै नबोल्ने मात्र होइन, सोधपुछमा पनि खासै चासो नदिन सक्छन् । बढी बोलिएला कि भन्ने देखिने डरले पनि कतिपय आवश्यक सरसल्लाह तथा कुराकानी नहुन सक्छ । यस्तो अवस्थामा कुनै एक पक्षले अति आवश्यक कुराको जानकारी दिने र लिने कुरामा चासो दिनै पर्छ ।
जस्तो, भावि दुलाहा–दुलहीको स्वास्थ्य समस्या केही छ कि, आर्थिक अवस्था कस्तो छ, करियरमा उतारचढाव केही महसुस भइरहेको छ या छैन, बिहेपछि संयुक्त परिवार नै हुनेछ या एकल परिवार हुनेछ अथवा परिवारले दुलहीको करियर तथा पढाइमा सहयोग गर्ने सम्भावना कत्तिको छ भन्ने जस्ता कुरामा दुलही पक्षले दुलाहा पक्षलाई सोधपुछ गरेको राम्रो हुन्छ । जुन कुरा लुकाउँदा भविष्यमा दुलाहा वा दुलही पक्षलाई अप्ठेरो पर्ने देखिन्छ, त्यस्ता कुरालाई पहिले नै बताइदिनुपर्छ ।
सल्लाह : पहिलो भेटघाट यस्तो होस् कि अर्को भेटघाट कहिले होला भन्ने प्रतीक्षा होस् । यो भेटले दुलही वा दुलाहा पक्षलाई यस्तो भरोसा दिलाओस् कि उनीहरुले एउटा गज्जबको परिवारसँग सम्बन्ध गाँस्यौँ भनेर मख्ख परून् ।

प्रकाशित: ११ मंसिर २०७४ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App