coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

बिहेअघि के गर्ने ?

बिहेअघि केटा वा केटी दुवैको मनमा कैयौँ किसिमका खुल्दुली र अप्ठेरा हुन्छन् । चाहे भावि दुलाहा हुन् या दुलही एक किसिमको संक्रमण कालबाट गुज्रिरहेका हुन्छन् । केही व्यक्ति भने यस किसिमको संक्रमणकाललाई सहजै बिताउन सक्छन् र सहज रुपमा पचाइदिन्छन् । केही भने यस अवस्थालाई झेल्न सकसमा पर्ने मात्र होइन, काउन्सिलिङ (सल्लाह) नै दिनुपर्ने अवस्थामा पुग्छन् । उसो भए यस अवस्थामा दुलाहा वा दुलही कस्ता किसिमका तनावबाट गुज्रन्छन् र त्यसबाट बच्न के गर्न सकिन्छ ?
१. कमिटमेन्ट फोबियाः केही युवाले अघिल्लो विवाह वा असफल प्रेमका कारण मात्र होइन, धोका नै पाएका कारण पनि कसैलाई प्रतिबद्धता जनाउन डराउँछन् । कतिपय आधुनिक युवाका लागि त कुनै एक जना व्यक्तिसँग जीवनभर नै ‘झेल्नुपर्ने’ कुरा अपाच्य ठान्छन् ।
सुझावः बिना कारण उत्पन्न हुने यस किसिमको डरबाट बच्नका लागि भावि दुलाहा या दुलहीले बिहेअघि नै एउटा मैत्रीपूर्ण सम्बन्ध सिर्जना गर्नु उपयुक्त हुन्छ । एकअर्कालाई जतिसक्दो बढी चिन्ने वातावरण बनाउन सक्दा राम्रो हुन्छ । एकअर्कालाई समय दिने र एकअर्काको समस्या समाधान गर्न सकिन्छ ।
२. स्वतन्त्रता गुम्ने डर : अचेलका युवालाई पढाइ प्यारो हुन्छ । कतिपयका लागि त बडो दुःखले पाएको जागिर नै छोड्नुपर्ने पीर हुन्छ । वर्षौंको पढाइ र जागिरका कारण उनीहरु एक किसिमको स्वतन्त्रता उपभोग गर्ने बानी परिसकेको हुन्छ । कतिपय युवा त जीवनलाई आफ्नै हिसाब वा शर्तले बाँच्ने हो भन्ने धारणाले काम गरेको हुन्छ । यस्तो अवस्थामा अचानक नयाँ जीवनसाथीको प्रवेशले जीवन पूरै उलटफेर पो हुने हो कि भन्ने डर हुन्छ ।
सुझाव :  यस्तो अवस्थामा एकअर्कालाई पर्याप्त ठाउँ दिनुपर्छ । ठाउँको अर्थ सधैँ आफूसँगै दुलाहा वा दुलही भइरहनुपर्छ भन्ने मान्यता राख्नु हुँदैन । हरेकको एउटा ‘स्पेस’ हुन्छ भन्ने बुझिदिनुपर्छ । बिहेपछि पनि दुलाहा वा दुलहीले आफ्नो लागि समय निकाल्नु पर्छ । साथीभाइसँग भेटघाट गर्ने र व्यापार साझेदारसँग आफ्नो दुलहा वा दुलहीलाई भेटघाट तथा परिचय गराउनुपर्छ ।
३. बढ्दो पारपाचुके : बिहे हुनुअघिका सबैभन्दा ठूलो डर कतिपय महिला वा पुरुषलाई आफूले पारपाचुके झेल्नुपर्ने हो कि भन्ने अनावश्यक डर पालेर बस्छन् । घर वा परिवारका कसैको जीवनमा त्यस्तो घटना घटेको देखेका युवाहरुमा प्रायः यस किसिमको डर पाइन्छ । त्यसैले उनीहरु बिहे हुनुअघि नै पारपाचुकेको डरका कारण बिहे गर्न डराइरहेका हुन्छन् ।
सुझाव: जुन कुरा आफ्नो परिवार वा छिमेकमा भयो, आफन्तले जे भोगे आफूले पनि त्यही भोग्नुपर्छ भन्ने कुरामा कुनै दम छैन । यसलाई मनबाटै निकाल्नुबाहेक अरु उपाय छैन । जीवन बनाउने आफूले हो, त्यसैले तपाईंले जस्तो जीवन बनाउन चाहनुहुन्छ, त्यस्तै जीवन बन्छ भन्ने कुरा नबिर्सनुस् ।
४. सही तालमेल : खुला विचार भएका दुलाहाले आफ्नी दुलही पनि सोहीअनुरुपकी होस् भन्ने चाहन्छ । त्यस्तै चाहना दुलहीको पनि हुन्छ । यसका पछाडि जीवनमा उचित तालमेल हुन सकोस् भन्ने चाहना हुन्छ । तर अधिकांशतः के देखिन्छ भने दुलाहा बढी बोल्ने भए भने दुलही नबोल्ने वा कम बोल्ने हुन्छिन्, दुलही बढी बोल्ने भए दुलाहा नबोल्ने हुन्छन् । कमै मात्र जोडी दुवै जना बोल्न रुचाउने हुन्छन् ।
सुझाव : हरेक व्यक्तिको आफ्नो स्वभाव हुन्छ भन्ने कुरालाई ध्यानमा राखी एकअर्काको बानीलाई गहिरोसँग बुझ्न सक्नुपर्छ । त्यस किसिमको बानी बदल्ने वा आफूजस्तै बनाउने प्रयास कदापि गर्नु हुँदैन । यस्तो अवस्थामा एकअर्काको बानीमा आफूलाई ‘बानी पार्ने’ काम नै सबैभन्दा उपयुक्त हुन्छ ।
५. करियरको तनाव : आत्मनिर्भर युवतीहरु नयाँ सम्बन्धका लागि नोकरी वा पढाइलाई दाउमा राख्न चाहँदैनन् । त्यस्तै युवाहरु पनि दुलहीका खातिर आफ्ना सबै कुरा छाड्ने पक्षमा हुँदैनन् । बिहेलगत्तै जागिर छाड्ने या परिवर्तन गर्ने दबाब नआओस् भन्ने तनावले उनीहरुलाई सताउने गर्छ ।
सुझाव: एउटा सफल वैवाहिक जीवनका लागि एकअर्कामा विश्वास र आवश्यकता पूरा गर्ने सम्बन्ध नै आवश्यक पर्छ । यस्तोमा दुवै पक्ष अर्थात् दुलाहा र दुलही नै मिलेर काम गर्ने, घरका काम व्यवस्थापन गर्ने, जे गरे पनि मिलेर गर्ने र तालमेल मिलाउँदै जिम्मेवारी बाँडफाँड गर्न सकेको खण्डमा जीवन सुचारु ढंगले चल्छ भन्ने कुरा बिर्सनु हुँदैन ।
६. परिवारिक तालमेलस: कुनै पनि भावि दुलाहालाई सबैभन्दा ठूलो समस्या भनेको नयाँ दुलही आफ्नो परिवार अनुसार ढल्न वा व्यवहार गर्न सक्षम हुन्छे कि हुन्न भन्ने नै हुन्छ । कैयौँ परिवारमा एउटी दुलहीका कारण पूरै संयुक्त परिवार ध्वस्त भएर छिन्नभिन्न भएको पनि हुन सक्छ । यस्तोमा बढीभन्दा बढी सम्झौता दुलहीका तर्फबाट नै हुनुपर्छ भन्ने मान्यता आम नेपाली दुलाहाको हुन्छ ।
सुझाव : कुनै दुलही नयाँ घरमा आउनु भनेको उसमा माइतीका रहनसहन, संस्कृति, काम गर्ने चालढालसमेत आउनु हो । त्यसैले ती रहनसहन, संस्कृति र संस्कार दुलाहाको घरअनुकूल छ वा छैन भन्ने कुरा पहिले नै सुनिश्चित गर्नुपर्छ । रहेनछ भने पनि त्यसलाई कसरी अनुकूल बनाउन सकिन्छ भनी दुवै पार्टनरबीच सल्लाह हुने मात्र होइन, दुवै परिवारबीच कुरा मिलाउनुपर्ने पनि हुनसक्छ । यस्तो अवस्थामा दुलहीलाई अनुकूलको अवस्था पार्न महिनौँ समय लाग्न सक्छ भनी दुवै परिवार मानसिक रुपमा तयार हुनुपर्छ ।जिम्मेवारी या तालमेलबाट डराउनु, आत्तिनुको साटो यो सुन्दर सम्बन्धका लागि आफैँलाई मानसिक रुपमा तयार गर्नुपर्छ । कुनै पनि समस्या भए दुलाहा वा परिवारसँग सरसल्लाह गर्नु उचित हुन्छ । विवाह कुनै बन्धन होइन बरु दुई अपरिपक्व दुलाहा र दुलहीको परिपक्व हुनैपर्ने एउटा साझा यात्रा भने अवश्य हो ।

प्रकाशित: ११ मंसिर २०७४ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App