बेनिशा हमाल
अभिनेत्री
फरक–फरक चरित्रमा काम गर्न रुचाउने अभिनेत्री हुन्– बेनिशा हमाल । उनी अभिनित फिल्म ‘झ्यानाकुटी’ मंसिर १ गतेदेखि प्रदर्शनमा आएको छ । बेनिशाले आफ्नो जीवनका केही प्यारो लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छन्ः
पुस्तक
मलाई अफ्गानी लेखक खालिद हुसेनको ‘काइट रनर’ एकदमै मनपरेको पुस्तक हो । चार वर्षअघि मलाई एकजना साथीले यो पुस्तक गिफ्ट दिएको थियो । त्यतिबेला म भर्खर–भर्खरै पुस्तक पढ्न थाल्दै थिएँ । बालमनोविज्ञानमा आधारित यो पुस्तक मलाई यथार्थपरक लाग्छ । यही पुस्तकमाथि पछि फिल्म बन्यो, फिल्म पनि राम्रो थियो ।
लेखक
मलाई ब्राजिलियन उपन्यासकार पाउलो कोएल्हो एकदमै प्रिय लाग्छ । उहाँका धेरै पुस्तक पढेकी छु । उहाँको पुस्तकले कहीँकतै प्रेरित गरिरहेको हुन्छ । लेख्ने शैली उस्तै दमदार छ । प्रकृतिसँग नजिक पुर्याइदिन्छन् उहाँका पुस्तकले । उहाँको भूमिका बाँध्ने तरिकै मीठो लाग्छ ।
भेट्न मन लागेको व्यक्ति
अभिनेत्री चार्ली थोरेनलाई भेट्न मन छ । उहाँले ‘मोन्स्टर’ फिल्मबाट अस्कर अवार्डसमेत जित्नुभयो । उहाँले फिल्ममा निर्वाह गर्ने पात्र र अभिनय देखेर म चकित हुन्छु । उहाँको फिल्म उहाँ आफैँले धानिदिनु हुन्छ, कोही हिरो चाहिँदैन । उहाँलाई भेटेर एक पल्ट सोध्न मन छ, ‘तपाईं त्यस्तो ‘रियालिस्टक वे’ मा इमान्दारीसाथ कसरी काम गर्न सक्नुहुन्छ ?’
भेटिरहन मन लाग्ने व्यक्ति
मलाई फिल्म निर्देशक एवम् सम्पादक प्रवीण श्रेष्ठलाई भेटिरहन मन लाग्छ । उहाँ मेरो बेस्ट फ्रेन्ड हो । म सुःख/दुःख जस्तोसुकै परिस्थितिमा रहे पनि उहाँ सधैँ मसँगै रहनुहुन्छ । म उहाँको र उहाँ मेरो अगाडि हुँदा हामीले एकअर्कालाई कहिल्यै ‘प्रिटेन्ड’ गर्नुपर्दैन ।
नेता
केपी शर्मा ओली मलाई इन्टरटेनिङ र बौद्धिक लाग्छ । मैले दुई–तीन पटक भेटेकी पनि छु । उहाँको इन्टरभ्यू फलो गरिरहेकी हुन्छु । मलाई मात्र नभएर उहाँले अरुले मान्छेहरुलाई गरेको व्यवहार पनि मलाई मनपर्छ ।
सौन्दर्य प्रशाधन
म ‘टिट्री’ ब्रान्डको बडी सप यूज गर्छु । मलाई यो अग्र्यानिक लाग्छ । हानिकारक वस्तु धेरै मिसिएको हुँदैन र मेरो ‘ओइली स्किन’लाई पनि फिट हुन्छ ।
ब्याग
मलाई माइकल कोर्स ब्रान्डको ब्याग एकदमै मनपर्छ । यही ब्रान्डको दुइटा ब्याग मलाई गिफ्ट आ’को छ । फाट्ला भनेर यूज नै नगरी राखेकी छु ।
घडी
यो पनि माइकल कोर्स ब्रान्डकै मनपर्छ ।
चस्मा
रेभनको एभिएटर । यो मेरो फेसमा सुट गर्छ र अरुले पनि ‘राम्री देखियो’ भनेर कमेन्ट गर्नुहुन्छ ।
फिल्म
मलाई महानायक राजेश हमालको ‘देउता’ जति हेरे पनि बोर लाग्दैन । सानोमा धेरैपल्ट हेरियो । फिल्ममा हुनुपर्ने सबै गुणहरु छ यो फिल्ममा । पुराना यादहरु जोडिएकाले पनि यो फिल्म प्रिय लाग्छ ।
आफ्नो चरित्र
आफूले निर्वाह गरेको मध्ये मलाई एकदमै मनपर्ने क्यारेक्टर ‘झ्यानाकुटी’को मालती खड्का विष्ट नै हो । यो चरित्र एकदमै स्वभिमानी छे । बच्चा, घर, जँड्याहा श्रीमान्लाई उसले एकै समयमा सम्हाल्नुपर्छ ।
कलाकार
मलाई राजेश हमाल प्रिय लाग्छ । सानोबेला म उहाँको गीतमा केटा भएर नाच्थेँ । त्यतिबेला मलाई धेरैले राजेश हमाल–राजेश हमाल भनेर जिस्काउँथे । यी सब कारण पनि मेरो दिमागमा एक्टर भन्नेबित्तिकै उहाँको छाप बस्यो ।
गीत
‘बेहुली’ फिल्ममा उदितनारायण र दीपा गहतराजले गाउनुभएको ‘माया के होला’ बोलको गीत जति सुन्यो उति मिठो लाग्छ ।
पर्व
तिहार मलाई मनपर्ने पर्व । कारण– झिलमिली मौसम, भाइटीका र देउसीभैली नै त हो ।
जोडी
बाराक ओबामा र मिसेल ओबामाको जोडी मलाई ‘आइडल’ लाग्छ । उहाँहरुको संघर्ष, सहयात्रा र सहकार्यको कथाले मलाई लोभ्याउँछ ।
निर्देशक
‘कालोपोथी’का निर्देशक मीनबहादुर भाम मलाई एकदमै ‘डेडिकेटेड’ लाग्छ । उहाँले फिल्मलाई आफ्नो व्यक्तिगत जीवनभन्दा बढी प्राथमिकता दिएको देख्दा चकित हुन्छु ।
गायक/गायिका
उदितनारायण झा र अभया सुब्बा मलाई मनपर्ने गायक–गायिका हुन् । सानैदेखि सुनेको हो उदितको स्वर, निकै युनिक लाग्छ । स्वरमा स्वर्ग भा’को मान्छे हो उहाँ । त्यस्तै अभयाका गीत अर्थपूर्ण हुन्छन्, स्वरको स्तर पनि अरुभन्दा फरक लाग्छ ।
प्रस्तुतिः अनिल
प्रकाशित: ११ मंसिर २०७४ ०८:२० सोमबार