coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से २१ अंकले बढ्यो, व्यापार बाहेक सबै समूहमा सुधार

काठमाडौं- पुँजी बजारलाई ‘जुवा घर’को मान्यताबाट हेर्ने वाम गठबन्धनले आगामी सरकार बनाउने हल्ला चलाएर सेयर बजारमा चलखेल गर्न खोज्ने दलाललाई निस्तेज पार्दै लगानीकर्ताले चुनावलाई स्वागत गरेका छन् । पहिलो चरणको चुनावकै दिन (मंसिर १०)मा नेप्से परिसूचक २१ अंकले बढेको छ ।

सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचन गर्ने घोषणा गरेपछि सेयर कारोबारको दोस्रो बजार सकारात्मक रुपमा अगाडि बढिरहेको थियो । यहीबीच दुई कम्युनिस्ट पार्टी (एमाले र एमाओवादी केन्द्र) बीच बनेको गठबन्धनले बनाउने आगामी सरकार सेयर बजार विरोधी हुने हल्ला चलाएर दलालले चलखेल गर्न खोजेका थिए । तर आइतबार सुरुदेखि नै लगानीकर्तामा सेयर खरिद गर्न देखिएको उत्साहले यो चलखेललाई परास्त गरेको हो ।
एमाओवादी केन्द्रले पहिलोपटक २०६५ मा सरकार बनाउँदा त्यस बेलाका अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवा घर’ को संज्ञा दिएपछि केही दिन विवाद सिर्जना भएको थियो । सेयर कारोबार दैनिक जसो घट्दै गएपछि एमाओवादीले पत्रकार सम्मेलन नै गरेर आफ्नो भनाइ सुधारेको थियो । भट्टराईले विकासमा विदेशी लगानीकर्ता र पुँजीको प्रयोग गरिने र खुला बजार अर्थतन्त्रलाई नकारात्मक रुपमा नहेरिने बताउनु परेको थियो । त्यसपछि बजारमा क्रमशः सुधार हुँदै आएको थियो । अहिले पनि सेयर बजारमा चलखेल गर्ने तत्वहरुले वाम गठबन्धनको हवाला दिँदै आफ्नो स्वार्थपूर्ति गर्न खोज्दै थिए ।  
मुलुकका ३२ हिमाली र उच्च पहाडी जिल्लामा प्रतिनिधि र प्रदेश सभाको पहिलो चरणको चुनावमा मतदान भइरहेका बेला राजधानी काठमाडौंमा सेयर खरिद गर्नेहरुको चाप थियो । आइतबारको कारोबारमा नेप्से परिसूचक मात्र नभएर सबै सूचक बढेका छन् ।
लगानीकर्ता र ब्रोकरका अनुसार चुनावको माहोल र उत्साहका कारण आइतबार सेयर कारोबार बढेको हो । लगानीकर्तामा वाम गठबन्धनको सेयर बजार विरोधी हौवा चलाइए पनि चुनावपछि स्थायी सरकार बन्ने आशमा लगानी बढेको हो ।  
नेपाल स्टक एक्सचेन्जका अनुसार समग्र कारोबारको सूचक नेप्से एकै दिन २१.०५ अंकले बढेर एक हजार पाँच सय १४.३४ बिन्दुमा पुगेको छ । यो १.४१ प्रतिशतको बढोत्तरी हो । एक्सचेन्जका अनुसार आइतबार कारोबार सुरु भएको ११ बजेदेखि नै सेयर खरिदमा चाप परेको थियो । सेयर खरिदमा लगानीकर्ताको उत्साह बढेसँगै कारोबार पनि सुरुदेखि नै बढ्न पुगेको थियो । तैपनि कारोबारको चार घन्टे अवधिमा सेयर कारोबारमा केही उतारचढाव भने आएको थियो । बजार खुल्नेबित्तिकै बढेर एक हजार पाँच सय दुईमा पुगेको नेप्से आधा घन्टा (११.३०) पछि केही तल (१४९८) मा आएको थियो ।
लगानीकर्ताको सेयर खरिदमा देखिएको चापका कारण आइतबार सवा एक बजे आइपुग्दा नेप्से परिसूचक बढेर एक हजार पाँच सय १६ बिन्दुमा पुगेको थियो । यसपछि केही उतारचढाव आउँदा करिब दुई बजे नेप्से एक हजार पाँच सय आठ बिन्दुमा आएको थियो । आइतबारको कारोबार बन्द हुँदा फेरि केही बढी नेप्से एक हजार पाँच सय १४ बिन्दुमा आएको हो ।
आइतबारको कारोबारबाट नेप्सेसँगै सेन्सेटिभ ४.७२, फल्ट १.५८ र सेन्सेटिभ फल्ट १.४६ अंकले बढेका छन् । यो दिन व्यापार समूहबाहेक सबै समूहको सेयर कारोबार बढेको छ । व्यापार समूह भने ६.३४ अंकले घटेको हो ।
एक्सचेन्जका अनुसार आइतबारको कारोबारमा सबैभन्दा बढी इन्स्युरेन्स समूह ८२ अंकले बढेको छ । यस्तै जलविद्युत् समूह ६८ र लघुवित्त समूह २८ अंकले बढेका छन् । विकास बैंक समूह र बैंकिङ समूह १८ अंकले बढेका छन् । यो दिन सबैभन्दा कम सेयर बढेका समूहमा फाइनान्स र होटल समूह परेका छन् ।
एक्सचेन्जका अनुसार आइतबार लगानीकर्तामा उत्साह थपिए पनि सेयर किनबेचको रकम भने त्यत्ति धेरै भएको छैन । यो दिन कुल कारोबार ५९ करोड ७५ लाख रुपैयाँको भएको छ । सेयरमा उत्साह आएका बेला एक अर्बभन्दा बढीको कारोबार भएका घटना पनि छन् । यस्तै आइतबार पाँच हजार सात सय १० पटक भएको कारोबारबाट १० लाख ८३ हजार पाँच सय ८८ कित्ता सेयर किनबेच भएका थिए । नेप्सेमा सूचिकृत कम्पनीमध्ये आइतबार एक सय ५५ कम्पनीको कारोबार भएको छ ।

प्रकाशित: ११ मंसिर २०७४ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App