coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अड्किएका नेपालका कन्टेनर हिँडे

वीरगन्ज- कोलकतास्थित भारतीय बन्दरगाहमा दुई हप्ताअघिदेखि ‘कन्जेसन’ (जाम)मा परेका करिब १५ सय कन्टेनर धमाधम नेपालतर्फ आउन थालेका छन् । तेस्रो मुलुकबाट आयातित मालसमानका ती कन्टेनर नेपाल हिँडेपछि समस्या हट्न थालेको बताइएको छ । आइतबारसम्म त्यहाँ तीन सय ५४ मात्र कन्टेनर हिँड्न बाँकी रहेको तथ्यांक पाएपछि नेपाली आयातकर्ताले राहतको सास फेरेका छन् ।

‘समस्या समाधान भइसकेको भने होइन । यसै प्रकारले त्यहाँबाट कन्टेनरलाई छिटोछरितो हिँडाइयो भने अहिले देखिएको समस्या र फेरि पनि यो अवस्था दोहोरिने खतरा हट्ने छ ।’

‘प्राप्त जानकारी अनुसार आइतबारसम्म त्यहाँ अब तीन सय ५४ कन्टेनर मात्र हिँड्न बाँकी छ, अहिले कोलकाताबाट कन्टेनर नेपालका लागि बाहिरिने अवस्थामा सुधार देखिएको छ,’ आयातकर्ता समेत रहेका वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडियाले भने, ‘समस्या समाधान भइसकेको भने होइन । यसै प्रकारले त्यहाँबाट कन्टेनरलाई छिटोछरितो हिँडाइयो भने अहिले देखिएको समस्या र फेरि पनि यो अवस्था दोहोरिने खतरा हट्ने छ ।’
विदेशबाट कोलकाता ल्याएपछि चलान भएर कोलकातामै अड्किएका कन्टेनरको संख्या कात्तिकको अन्तिम सातासम्म एक हजार नाघेको थियो भने बन्दरगाह आइपुगेका पाँच सयभन्दा बढी कन्टेनर अझ चलान हुने पखाइमा थिए । समस्या महिनौं लम्बिन सक्ने ठानेर आयातकर्ता डराएका थिए । दुई हप्तापछि अवस्था फेरिँदा उनीहरुले राहत महसुस गरेका हुन् ।
नेपालका लागि विदेशबाट हिँडेका कन्टेनर कोलकातामा अड्किने समस्या गत एक दशकदेखि बारम्बार दोहोरिरहने गरेको छ । यसबाट नेपालको तेस्रो मुलुकसँगको समग्र व्यापार नै प्रभावित हुनुका साथै बर्सेनि अर्बौं रुपैयाँ नेपाललाई आर्थिक नोक्सानी पनि हुने गरेको छ । कन्टेनर खाली गरेर सिपिङ कम्पनीलाई कोलकाता पुगेदेखिको १४ दिनभित्र नफर्काइए प्रतिदिन ६० देखि ८० अमेरिकी डलरसम्म जरिवाना पर्ने गरेको छ ।
यो वर्ष चिसो बढेर तापक्रम न्यून बिन्दुमा झर्नु अगावै कोलकाताको कन्जेसनमा नियन्त्रण पाउनुलाई पनि उपलब्धि मानिएको छ । जाडोमा समुद्रमा पानीको सतह घट्दा कोलकाताजस्तो सानो बन्दरगाहमा आउने मालसामानहरु ‘लो वाटर सरचार्ज’मा पर्ने गरेका छन् । जलमार्गमा जहाजलाई पानीको घटेको सतहले प्रभाव पारेजस्तै बन्दरगाहबाट हिँडेका कन्टेनर रेलमार्ग र सडकमार्गका हुस्सु र कुइरोको चपेटामा परेर ढुवानी सुस्त हुने गरेको छ । त्यो मौसमी समस्या आउनुअगावै कन्जेसनको समस्या सल्टिनु ‘राम्रो भएको’ व्यापारी बताउँछन् ।  
कोलकाताबाट सडक मार्गभन्दा रेलमार्गबाट आउने कन्टेनरको संख्या बढेको छ । रेलमार्गले ढुवानी गर्ने सेवाप्रदायक भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन अफ इन्डिया (कन्कोर) हो । कन्कोरले कोलकतामा बन्दरगाह बाहेकको आफ्नो टर्मिनल (कन्टेनर वा मालसमान लोड अनलोड गर्न बनाइएको खास ठाउँ)बाट कन्टेनर लोड गर्न थालेपछि समस्या समाधानतिर लागेको हो । कन्कोरले नेपाली कार्गो ढुवानी गर्ने रेलको संख्या पनि थपेको छ ।
‘कोलकता बन्दरगाहबाट मात्र लोड भइरहेका कन्टेनर कन्कोरले अर्को टर्मिनल माजरहाटबाट पनि लोड गर्न पाएपछि, रेकको संख्या बढाइएपछि र कन्टेनर ह्यान्डलिङ एजेन्टले साँथ दिएपछि समस्या समाधान हुन लागेको हो,’ वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्याकारी अधिकृत विष्णुकान्त चौधरीले भने, ‘आइतबारमात्र सिर्सिया सुक्खा बन्दरगाहका लागि हिँडेका २२ वटा मालबाहक ट्रेन बाटोमा छन् ।’
यसमा कन्टेनर बोकेका, फलाम बोकेका, बोराबन्द सामान बोकेका सबै खाले रेक रहेको उनले बताए । जसमा कन्टेनरवाला रेक १९ छन् । ‘कोलकताबाट हिँड्यो भन्ने कुरा ठिकै छ, हाम्रो ठाउँमा कन्टेनर कति दिनमा आइपुग्छ भन्ने कुरा महŒवपूर्ण छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका आयातकर्ता गणेशप्रसाद लाठले भने, ‘कन्कोरले चाहिनेभन्दा बढी समय बाटोमा लगाइरहेको छ ।’
समस्या हुन नदिन ‘सिपर’, सिपिङ कम्पनी, बन्दरगाह, ह्यान्डलिङ एजेन्ट, नेपाली व्यापार सहजीकरण गर्ने भारतका लागि नेपाली महावाणिज्यदूतावास, कन्कोर, भारतीय रेल्वे, हिमालयन टर्मिनल्स, आयातकर्ता र स्थानीय ट्रान्सपोर्टर सबैले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्नुपर्ने यी सबै स्विकार्छन् । तालमेल बिग्रिँदा बेलाबेलामा तेस्रो मुलुकसँगको नेपाली व्यापारमा समस्या भने आइरन्छ ।

प्रकाशित: ११ मंसिर २०७४ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App