काठमाडौं-नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेसँगै ४ वटा निर्देशन जारी गरेका छन्। सिंहदरबारमा पदभार ग्रहण गरेपछि प्रचण्डले सबैभन्दा पहिलो प्राथमिकतामा ‘गरिबका लागि सरकार’ नामको अभियानको निर्णय गरेका छन् ।
यो अभियान अन्तर्गत पहिचानको क्रममा रहेको गरिब घरपरिवारहरुको पहिचान कार्य सम्पन गरि उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गरेर आयआर्जन, शिक्षा, स्वास्थ्य, बिमा तथा तालिम र प्रविधी हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसँग एकिकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु कार्यान्वयन हुनेछन् ।
दास्रो नम्बरमा भूकम्प प्रभावित परिवारलाई आगामी ४५ दिनभित्र पहिलो किस्ताको अनुदान उपलब्ध गराउने रहेको छ । यस्तै तेस्रो र चौथौ नम्बरका निर्णयमा क्रमशः चिकित्सक नपुगेको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिना भित्र चिकित्सक पठाई सक्ने तथा त्यो भन्दा माथिल्लो स्तरका सरकारी अस्पतालहरुले एकै छाता भित्र सबै सुविधा दिने नीति अन्तर्गत गुणस्तरीय औषधी उपलब्ध गराउन र नेपाल भरका दलित र कर्णालीका नवाजात शिशुको जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साह स्वरुप रु १ हजार दिने निर्णय भएको छ ।
प्रधानमन्त्री दाहालले पदभार सम्हाल्ने क्रममा संचारकर्मीसँग कुरा गर्दै जनताको पक्षमा र देशको पक्षमा धेरै काम गर्ने मनस्थिति बनाएको बताए। उनले पहिलो पटक प्रधानमन्त्री हुँदा आफू अपरिपक्व रहेको तर पछिल्लो दश बर्षमा धेरै ज्ञान पाएको बताए। उनले पुराना दोष अब हट्ने बताए।
भिडियोमा हेराैं प्रधानमन्त्री दाहालको पदभार ग्रहण गरेपछिको पहिलो प्रतिकृयाः
भिडियोः दिपेश श्रेष्ठ
प्रकाशित: २० श्रावण २०७३ १४:१६ बिहीबार