७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मीको कठिन जित

झापा- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब झापाली मैदानमा जीतको यात्रालाई निरन्तरता दिँदै मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको सेमिफाइनल पुग्न सफल भएको छ । आइतबार सुदूर पश्चिमविरुद्ध टाई–ब्रेकरमा ३–० को संघर्षपूर्ण जीत निकाल्दै आर्मीले सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिसँगको भेट पक्का गरेको हो ।
बिहीबार मात्रै सताक्षी गोल्डकपको उपाधि उचालेको आर्मीले आइतबार भने निक्कै संघर्ष गर्नुपरेको थियो  । आठौं मिनेटमै अग्रता लिएर पनि आर्मीले स्टार खेलाडी भरत खवासको विर्सनलायक प्रदर्शनका कारण जीतका लागि टाइब्रेकर सम्म कुर्नुप¥यो । पेनाल्टी सुटआउटमा विपक्षी टोलीका तीन खेलाडीको पेनाल्टी खेर जानुमात्र आर्मीको सफलताको आधार बनेको थियो ।
अधिकांश समय सुदूर पश्चिममाथि हाबी भएर पनि आर्मीले अग्रता जोगाइराख्न सकेन । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा आर्मीका कप्तान भरत खवास नै चुके । उनको पेनाल्टी विपक्षी गोलकिपर अनन्त शेखले सजिलै विफल पारिदिए ।
कप्तान चेतन थारुको प्रहार पोस्टबाहिर गयो ।  नरेन्द्र चौधरी र राकेश हमालको प्रहार पनि पोस्टमा लागेर फर्कियो । तर, आर्मीका लागि भने भरतबाहेकका सबैले गोल गरेका थिए  । चोटका कारण अन्तिममा मात्रै मैदान प्रवेश गरेका नवयुग श्रेष्ठ तथा  सन्तोष तामाङ र दिपक गुरुङले पेनाल्टी सदुपयोग गरे  । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टोलीको जीत ‘संघर्षपूर्ण’ भएको स्वीकार गरे ।  
आधा दर्जनभन्दा बढी गोलको अवसरलाई भरतले खेर फ्याँकेका थिए । खेलको आठौं मिनेटमै दिनेश हेञ्जनले बल एक्लै अघि बढाउँदै गोल गरेका थिए । सुदूरका खेलाडीले ‘अफसाइड’ ठानेर छाडेको बल ‘टयाप’ गर्दै दिनेशले खाता खोलेका थिए ।
१४औं मिनेटमा पेनाल्टी बक्सभित्रै रहेका भरतले हेडमार्फत गरेको प्रहार सुदूरका गोलकिपरले जोगाए । १८औं मिनेटमा पनि भरतले अवसर गुमाए । पोस्ट नजिकै पाएको बललाई उनले फ्रेमभित्र प्रहार गर्न सकेनन् । २४औं मिनेटमा विवेक बस्नेतले भरतलाई दिएको ‘क्रस’ नियन्त्रण गर्न गोलरक्षक शेख अघि बढेका थिए । उनी बिट भएपछि सुदूरको गोलपोस्ट रित्तै थियो । यद्यपि भरतले बल नियन्त्रणमा लिनै सकेनन् । यसबाहेक २९, ३८ र ५३औं मिनेटमा पनि भरतले गोलको अवसर खेर फ्याँकेका थिए  ।
आर्मीले निरन्तर आक्रमण गरिरहँदा सुदूर पश्चिम भने पूर्णतः रक्षात्मक बन्न बाध्य थियो  । तर, ५८औं मिनेटमा सुदूर पश्चिमले काउन्टर अट्याकमा गोल गर्दै खेल बराबरीमा ल्यायो । आर्मीका अधिकांश खेलाडी अघि बढेको बेला राजेन्द्र ठगुन्नाले दिएको बललाई जीवन चौधरीले सुन्दर गोलमा परिणत गरे ।  
आर्मीका लागि गोल गरेका दिनेश म्यान अफ दी म्याच भए । सोमबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र हिमालयन शेर्पा क्लबले प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल्नेछन् ।

प्रकाशित: ११ मंसिर २०७४ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App