coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिविले योग विषयको अध्ययन थाल्ने

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले अगामी शैक्षिक सत्रदेखि योग विषय अध्ययन थाल्ने भएको छ । त्रिवि संस्कृत विभागले एक वर्षे योग विषय अध्ययन गराउन लागेको हो ।
यसै सन्दर्भ पारेर विभागले विश्वविद्यालयका पदाधिकारीहरूलाई योगाभ्यास गराएको छ । आइतबार गराइएको योगाभ्यासमा उपकुलपति तिर्थ खनियाँ, रेक्टर सुधा त्रिपाठी, रजिष्ट्रार डिल्लीराम उप्रेती, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन रामप्रसाद खतिवडा, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवलगायत विश्वविद्यालयका सबै संकायका डिन सहभागी थिए । योगाभ्यासमा मानविकी संकायका पूर्व डिन चिन्तामणि पोखरेल र वर्तमान डिन शिव भूषालले समेत निकै ध्यानपुर्वक योगाभ्यास गरिरहेका थिए ।
संस्कृत विभागले आयोजना गरेको योगाभ्यासमा योग गुरु डा. सुवोध सिम्खडाले विविध आसन सिकाएका थिए । ‘विश्वविद्यालयमाका विद्यार्थी तथा शिक्षक दुवैलाई अनुसासित बनाउन योग आवश्यक छ । योगले शिक्षक र विद्यार्थी दुवैको स्मरण शक्ति बढाउने र तार्किक क्षमता वृद्धि गर्छ,’ पुस्तकालय विज्ञानका प्रमुख भीमध्वज श्रेष्ठले भने ।
‘योग शिक्षा व्यवहारिक भएको र मन तथा शरीर दुवै स्वास्थ्य राख्ने भएकाले विश्वविद्यालयमा पठनपाठन गराउन निकै आवश्यक रहेको छ,’ योगाभ्यासमा सहभागी रेक्टर त्रिपाठिले भनिन् । ‘संस्कृत विभागलाई आकर्षित गर्न योग शिक्षाले भूमिका खेल्ने विश्वास लिएको छ,’ उनले भनिन् ।
संस्कृत विभाग प्रमुख नारायण गौतमका अनुसार विश्वविद्यालय कार्यकारी परिषदले योग शिक्षा विषय अध्यापनको अनुमति पाइसकेको छ । कुनै पनि विषयमा स्नातक गरेको विद्यार्थीले मात्र एक वर्षे योग शिक्षा अध्ययन गर्न पाउने छन् । ‘कुल १२ सय पूर्णांकको एक वर्षे योग शिक्षाका लागि विद्यार्थीले स्नातकमा पास गरेको हुुनुपर्छ,’ विभागीय प्रमुख गौतमले नागरिकसँग भने, ‘यसमा ६ सय पूर्णांकको प्राक्टिकल र ६ सय पूर्णांकको सैद्धान्तिक विषय पढाइन्छ ।’
गौतमका अनुसार पहिलो वर्ष ४० विद्यार्थी भर्ना लिइन्छ । दुई सेमेस्टरमा पढाइने यो विषयका लागि विद्यार्थीले प्रति सेमेस्टर ५० हजार खर्च लाग्ने अनुमान छ । हाल स्वदेश तथा विदेशका विद्यार्थीसमेत भर्नाका लागि सम्पर्कमा आइसकेको गौतमले जनाए । आइतबारको योगाभ्यासमा पनि जर्मनी, हल्यान्ड र फिलिपिन्सका विद्यार्थी सहभागी थिए ।
योग गुरु सिम्खडाले जीवन र परमात्मा संगम नै योग भएको बताउँदै उनले योगले मानव शरीर र मस्तिष्क स्वस्थ्य राख्ने बताए । ‘योगलाई २४ घन्टै प्रयोग गर्न जान्न सक्ने नै सफल मावन हुन्छ,’ उनले बताए ।
योग सह–प्रशिक्षक डा. सुवोध शुक्लले योग विषय संस्कृतसँग जोडिएकाले पठनपाठन संस्कृत भाषामा भए पनि त्यसको अनुवाद भने नेपालीमा समेत गरिने बताए । ‘सबै विद्यार्थीले संस्कृत बुझदैनन्,’ उनले भने, ‘त्यही भएर नेपाली विद्यार्थीका लागि नेपाली र विदेशीलाई अंग्रेजी भाषामा अनुवाद गरेर सिकाइन्छ ।’
त्रिवि उपकुलपति तिर्थ खनियाँले विश्वविद्यालयमा प्राचिनदेखि अधुनिक विषय अध्यापन गराइने भएकाले योग शिक्षा तत्काल सुरु गर्न सबै खालका सहयोग गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा संस्कृत विभागले संस्कृत सुरभी नामक वार्षिकी अनुसन्धानात्मक त्रैभासिक पत्रिकाको विमोचन पनि गरियो ।

प्रकाशित: ११ मंसिर २०७४ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App