coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माइनस ९ डिग्रीमा ४ घन्टा हिँडेर मतदान

पोखरा- हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार–फू गाउँपालिका–३ कि फूर्वा लामा आइतबार बिहान करिब ४ घन्टा उकालो हिँडेर मतदान गर्न पुगिन् । बिहान ६ बजे नै मुटु काँप्ने चिसोमा उकालो लागेकी उनी १० बजे मतदानस्थल पुगिन् । लामा घरबाट हिँड्दा त्यहाँको न्यूनतम तापक्रम माइनस ९ डिग्रीजति थियो  ।

मनाङका नार र फू लाई छुट्याउने विन्दु मेतामा होटल थापेकी लामा भोट हाल्नकै लागि उत्साही हुँदै नारको साम्दोछिरिङ गुम्बाको मतदान केन्द्र पुगेकी थिइन् । उनीजस्ता मेताका धेरै मतदाता मतदानका लागि माथि (नार) पुगेका थिए । केही त मतदानमा भाग लिन शनिबार नै बास बस्नेगरी माथि (नार) पुगिसकेका थिए । तर, कामले व्यस्त हुँदा लामाजस्ता अरु मतदाता बिहानी चिसोलाई बेवास्ता गर्दै मत हाल्न पुगेका थिए ।

‘भोट हाल्नकै लागि हामी चिसोको बेवास्ता गर्दै उकालो लाग्यौं,’ भोट खसाएर बाहिरिएपछि टेलिफोनमा नागरिकसँग लामाले भनिन्, ‘आफ्ना प्रतिनिधि चुन्नका लागि आएका हौं । जितेर जानेले हामीजस्ता दुर्गममा बस्नेलाई सहज हुनेगरी विकास ल्याइदिए हुन्थ्यो ।’ नेता चुन्नकै लागि आफूहरू माइनस ८–९ डिग्रीको चिसोमा चार घन्टा हिँडेर मतदान केन्द्र्र पुगेको मतदाताले बताए । ‘बिहान ६ बजे हिँडेर भोट खसाल्न आयौं । उकालो चढ्दा ४ घन्टा लाग्यो, फर्किंदा ३ घन्टामा पुग्न सकिन्छ,’ लामाले भनिन्, ‘भोट हाल्न आएर फर्किंदा दिन बित्छ ।’

नारकै अर्की महिला तथा स्वास्थ्यकर्मी छोदेन याङकेन लामाका अनुसार नारमा यति बेला बिहान र बेलुकी तापक्रम माइनस ९ डिग्रीमा झर्छ । कुनै दिन त्योभन्दा पनि बढी चिसो हुन्छ । उनले भनिन्, ‘विकासको ढोका खुला र गाउँसम्म मोटरबाटो पुग्ला भनेर मतदान गर्न आएकी हुँ ।’

साम्दो छिरिङ गुम्बाका मतदान अधिकृत रामकृष्ण तामाङका अनुसार भोट हाल्न कतिपय मतदाता शनिबार नै आएर आफन्तकहाँ बसेका थिए ।

मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले मनाङमा शान्तिपूर्ण मतदान भयो । जिल्लामा ५ हजार ८ सय ८१ जना मतदाता छन् । उनका अनुसार तीमध्ये ४३ सय २१ (७३.४७ प्रतिशत) मत खसेको प्रारम्भिक अनुमान छ ।

मुस्ताङमा ७१ प्रतिशत मत खस्यो
अर्काे हिमाली जिल्ला मुस्ताङका मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीका अनुसार जिल्लामा ७१ प्रतिशत मत खसेको छ । ‘हिमाली जिल्लामा ७१ प्रतिशत मत खसेकोलाई सन्तोषजनक लिनुपर्छ । हिमाली भेगमा चिसो सहेर पनि मतदाता मत हाल्न  पर्खेर बसेका रहेछन्,’ उनले भने, ‘कतिपय मतदाता भोट हाल्नकै लागि पनि जिल्ला फर्केका थिए । चिसो र हिउँ छल्दै भए पनि मतदाता गाउँमै रोकिएका रहेछन् ।’ जिल्लामा ९ हजार ४ सय २७ मतदाता छन् ।

प्रकाशित: ११ मंसिर २०७४ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App