coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुर्गमका केन्द्रमा भोट बाँडफाँड

शंकर श्रेष्ठ/सरिता श्रेष्ठ

धादिङ- धादिङको रुवीभ्याली गाउँपालिका–२ दोङदेङदेवी मावि मतदान केन्द्रमा दलहरुले भोट बाँडेर लिएका छन्। प्रतिस्पर्धामा रहेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले भोट बाँडेर लिएका हुन् । श्रोतका अनुसार मतदान केन्द्रमा बुथ प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि दुबै गठबन्धनका उम्मेदवार स्थानीय तहको निर्वाचनलाई आधार बनाएर भोट बाँड्न सहमत भएका हुन्।

भोट बाँडफाँड भएको यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा काँग्रेसका दिलमान पाख्रिन र वाम गठबन्धनबाट एमालेका खेम लोहनी प्रतिस्पर्धामा छन्।  प्रदेशसभा तर्फ बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जगत सिंखडा र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बर तामाङ प्रतिस्पर्धामा छन् ।

जम्मा ७ सय ३८ मतदाता रहेको उक्त केन्द्रमा ७ सय ३० मत खसेको छ । सडक संजालले नपुगेको यो क्षेत्र प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश सभा २ मा पर्छ । दुर्गमको केन्द्रमा ९८ प्रतिशत मत खस्नुले गठबन्धनहरुवीच मिलेमतो भएको दलका नेताहरुको नै पुस्ट्याइ छ ।

गठबन्धनहरुबीच मत बाँडफाँड भएपनि कसले कति मत बाँडे भन्ने विषय भने गोप्य राखेका छन् । स्रोतका अनुसार स्थानीय तहमा त्यहाका राजनैतिक दलहरुले प्राप्त गरेको मतका आधारमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनले मत प्रतिशतमा बाँडेका छन्।

स्थानीय तह निर्वाचनमा रुवीभ्याली गाउँपालिका वडा नं. २ मा ४ सय २७ मत खसेको थियो । त्यस मध्य एमालेले १ सय २४, राप्रपाले १ सय १२ र नेकपा माओवादी केन्द्रले ५० मत पाएका थिए । अहिले सो क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रले बाम गठबन्धन बनाएका छन् भने राप्रपा र नेपाली कांग्रेस मिलेर लोकतान्त्रिक गठबन्धन बनाएका छन् ।

दुबै गठबन्धनका उम्मेदवारको सहमतिमा भोट बाँडफाँड भएको रुवीभ्याली गाउँपालिकाका एक नेताले बताए । मत बाँडफाँडको विषयमा मतदान अधिकृतले भने अनविज्ञता प्रकट गरेका छन् । उनले भने, ‘दलहरु मिलेको वा नमिलेको भन्ने हामीलाई वास्ता भएन, मतदाताले लाइनमा बसेर शान्तिपुर्ण तरिकाले मतदान गरेका छन् ।’

मत फाँडफाँड भएको दोङदेङदेवी मावि मतदान केन्द्र पुग्न सदरमुकाम धादिङबेसीबाट २ दिन पैदल हिड्नुपर्छ । यो राप्रपाका नेता एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङको प्रभाव रहने क्षेत्र हो।

प्रकाशित: १० मंसिर २०७४ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App