८ वैशाख २०८१ शनिबार
समाज

मनाङको नार पुगेका सुरक्षाकर्मी बिरामी

उच्च हिमाली भेगमा पर्ने मुस्ताङको नार गाउँ । जहाँ निर्वाचन गराउन खटिएका खटिएका कर्मचारी र सुरक्षाकर्मी हाइ अटिल्टयुडका कारण बिरामी पर्न थालेका छन् ।

पोखरा- अरूतिर सुरक्षा र अस्वस्थ दलीय प्रतिस्पर्धाले निर्वाचनमा चुनौती थपिएका बेला  हिमाली जिल्लामा भने भौगोलिक कारणले कठिनाइ भएको छ । उच्च हिमाली भेगमा निर्वाचन गराउन खटिएका कर्मचारी बिरामी पर्न थालेका छन् । अधिक चिसो र हाइ अल्टिच्युड उच्च हिमाली भेगको मुख्य समस्या भएको त्यहाँ खटिएका कर्मचारीले बताएका छन् ।
हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम नार गाउँमा निर्वाचन गराउन पुगेका सुरक्षाकर्मी चिसो र हाइ अल्टिच्युडका कारण बिरामी परेपछि फिर्ता ल्याउनु परेको छ । मनाङ सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर नार पुगेका सशस्त्र प्रहरीका निरीक्षक कैलाश कटुवाल ‘हाइ अल्टिच्युड’ लागेर बिरामी भएपछि फिर्ता भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
उनका अनुसार कटुवाललाई हेलिकोप्टरबाट पोखरा ल्याइएको छ । ‘क्षेत्रीय सुरक्षा समितिले बिरामी परेका निरीक्षकलाई थप उपचारका लागि पोखरा लगेको छ,’ उनले भने । उच्च भेगमा खटिएका कर्मचारीलाई चिसोको समस्या बढी रहेको उनले बताए । ‘सुरक्षाको भन्दा पनि भौगोलिक विकटता बढी चुनौती भएको छ,’ पन्तले भने, ‘निर्वाचन गराउन पुगेका सुरक्षाकर्मी र अन्य कर्मचारी पनि बिरामी हुने थप डर छ ।’ उनका अनुुसार उच्च हिमाली भेगमा चिसोसँगै हाइ अल्टिच्युडको डर बढी हुन्छ । अहिलेसम्म हिउँ नपरे पनि हाइ अल्टिच्युडको त्रास भने कुनै पनि बेला रहने उनले बताए ।
नारमा खटिएका कर्मचारीका अनुसार हाइ अल्टिच्युड लागेर निरीक्षक कटुवालले वान्ता गरेका थिए । त्यसपछि टाउको दुख्ने र रिंगटा लाग्ने भएपछि उनलाई हतारहतार तीनघन्टा हिँडाएर तल झारी हेलिकोप्टरमा पठाइएको थियो । समुन्द्री सतहदेखि करिब ४२ सय मिटर उचाइमा रहेको नार र त्यही हाराहारीमा पर्ने फू मनाङका सबैभन्दा दुर्गम मतदानस्थल हुन् । नार र फू एकै उचाइमा भए पनि एकबाट अर्को गाउँमा आउजाउ गर्न कम्तीमा १ दिन लाग्छ ।
‘थोरै संख्यामा मतदाता रहे पनि भौगोलिक कठिनाइ बढी छ,’ प्रजिअ पन्तले भने । खटिएका कर्मचारी बिरामी पर्न थालेको र मौसम बिग्रदै जान थालेपछि मतदान पछि मतपेटिका सदरमुकामसम्म ल्याउनका लागि हेलिकोप्टर माग गरेको उनले बताए । ‘आइतबार बिहानैतिर मतदान सकिन्छ । तर, मतपेटिका ल्याउन हेलिकोप्टरको विकल्प छैन । कर्मचारी बिरामी हुने र मतपेटिका बोकाएर ल्याउँदा करिब ३ दिन लाग्ने भएपछि कर्मचारी र सामग्री ओसार्न हेलिकोप्टर माग गरेको उनले बताए । हिमाली जिल्ला मनाङमा जम्मा ५ हजार ८ सय ८१ जना मतदाता छन् । ती मतदाताले २८ वटा मतदानस्थलबाट मत दिनेछन् । मनाङमा एक मतदानस्थलमा एक केन्द्र रहेका छन् । सबैभन्दा दुर्गम नार–फू मा ५ वटा मतदानस्थलमा २ सय ७१ मतदाता रहेका छन् ।
नारमा खटिएका मतदान अधिकृत रामकृष्ण तामाङले चिसो र तीव्र गतिको हावाका कारण घरबाहिर निस्कनसमेत नसकिने अवस्था रहेको बताए । ‘मतदाता थोरै भएर मात्र सहज नहुने रहेछ । सुरक्षा चुनौती छैन । तर, मौसमको डर छ,’ नारबाट टेलिफोनमा नागरिकँग भने, ‘दिउँसो घाम लाग्दा केही सहज भए पनि बिहान बेलुकी भएपछि घरबाहिर निस्कन सकिन्न ।’ सबैभन्दा टाढा नार–३ मेटाबाट मतदानका लागि आउने मतदाता ३ घन्टा पैदल हिँड्नुपर्ने कर्मचारीले बताएका छन् ।
स्थानीय स्वास्थ्यकर्मी र नारकी बासिन्दासमेत रहेकी छोदेन याङकेन लामाका अनुसार समुद्री सतहबाट ३ हजार मिटरमाथि उक्लिँदा हाइ अल्टिच्युडको खतरा हुन्छ । ‘तीन दिन लगाएर कर्मचारी निर्वाचन गराउन आउनु भएको छ,’ उनले भनिन्, ‘यहाँ आएका सबैजसो कर्मचारी र सुरक्षाकर्मी चिसोले पीडित हुनुभएको छ ।’ उनका अनुसार निर्वाचनमा मत दिन पाउँदा मतदाता निकै नै खुसी छन् । दुर्गम भएपछि सडक पहुँच नहुँदा नार र फू का बासिन्दालाई आउजाउ गर्न निकै नै समस्या रहेको उनले बताइन । ‘यहाँका बासिन्दाले मोटर बाटो पर्खिरहेका छन्,’ उनले भनिन्, ‘त्यही आशाले योपटक भोट खसाल्न उत्सुक छन् ।’
अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि सबै तयारी पूरा भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि तयारी पूरा भएको बताए । ‘शान्ति सुरक्षाको बलियो व्यवस्था छ । तर, मौसमी चुनौती छ,’ उनले भने, ‘अहिलेसम्म कतै अप्ठेरो आइपरेको छैन ।’ मुस्ताङमा सबैगरी ९ हजार ४ सय २७ जना मतदाता छन् । मुस्ताङमा ३७ वटा मतदानस्थलमा ३७ केन्द्र छन् ।

प्रकाशित: १० मंसिर २०७४ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App