५ वैशाख २०८१ बुधबार
अर्थ

रेल जोड्न सुरु गरियो (भिडियो सहित)

काठमाडौं- जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेल (लिक) जोड्न सुरु गरिएको छ । ३५ किलोमिटर लामो उक्त मार्गमा रेल सञ्चालनका लागि बुधबारदेखि लिक जोड्न सुरु गरिएको हो । उक्त मार्गका लागि आवश्यक झन्डै ४१ हजार टन लिक सोमबारदेखि भारतबाट ल्याउन सुरु गरिएको हो ।
धनुषा जिल्लाको मैनातपुरमा लिक जोड्न सुरु गरिएको रेल विभागका इन्जिनियर विनोद ओझाले बताए । ‘बुधबारदेखि रेल वेल्डिङ सुरु भएको छ,’ ओझाले नागरिकसँग भने । उनका अनुसार तीनवटा टुक्रा जोडेर एउटा लामो रेल (लिक) बनाइन्छ । पछि, पुनः त्यसलाई जोडिन्छ । अहिले साना टुक्रा जोड्न लागिएको हो ।  
रेलका लिक बिछ्याउनुभन्दा पहिला त्यसमा स्लिपर र ढुंगा बिछ्याइन्छ । स्लिपर र ढुंगा पनि भारतबाटै आउँदै छन् । केही दिनभित्रै स्लिपर र ढुंगा आउने ओझाले बताए । अन्य लिकमा काठ बिछ्याउने गरिएकोमा काठको अभावमा ‘सिमेन्ट स्लिपर’ बिछ्याउन लागिएको हो ।   


जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटरमध्ये धनुषा कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा लिक बिछ्याउन लागिएको हो । यो मार्ग २०७५ कात्तिकभित्र सक्ने विभागले जनाएको छ ।
भारतको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको यो परियोजना आसामको नायक इन्फ्रास्ट्रक्चरले बनाइरहेको छ । १० अर्ब रुपैयाँको यो परियोजनाका लागि आएका सबै लिकहरू यसै अन्तर्गत हुन् । यो ब्रोडगेज रेलमार्ग हो ।   
झन्डै ७० किलोमिटरमध्ये जनकपुर–बिजुलपुरासम्मको मार्गमा जमिन मिलाउने काम भइरहेको विभागले जनाएको छ । यो मार्ग निर्माणको लागि कालिकारमण जेभीले ठेक्का पाएको छ । बिजुलपुरादेखि बर्दिबासम्मको भने जग्गा अधिग्रहण हुन सकेको छैन ।
लिक बिछ्याउने तयारी भइरहँदा रेलको डिब्बा किन्ने प्रक्रिया भने अघि बढ्न सकेको छैन । लिक बिछ्याएर सबै काम सकिँदासम्म पनि रेलको डिब्बा आउन÷नआउने पक्का हुन सकेको छैन ।
उक्त मार्गको लागि आवश्यक पर्ने यात्रु र मालबाहक डिब्बा किन्न दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।         
विभागले उक्त मार्गमा चलाउने रेल माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । मन्त्रालयबाट अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।
निर्माण सम्पन्न हुनै लागेको उक्त लिकमा कसरी रेल सञ्चालन गर्न सकिन्छ भनेर विभागले अध्ययन समेत गरेको थियो । अध्ययन अनुसार उक्त मार्गमा हाल कम्तीमा सात हजार यात्रु दैनिक आवतजावत गर्ने अनुमान छ । त्यसैगरी, प्रशस्त मात्रामा सामान ओसारपसार हुने देखिएको छ ।  
अध्ययनअनुसार विभागले यात्रु बोक्ने कम्तीमा पाँचवटा इन्जिन (लोकोमोटिभ) आवश्यक परेको भन्दै मन्त्रालयमा प्रस्ताव गरेको छ । उक्त मार्गमा दैनिक चारवटा इन्जिन सञ्चालन गर्नुपर्ने र एउटा इन्जिन आपतकालीन अवस्थाको लागि तयारी हालतमा राख्नुपर्ने विभागको प्रस्ताव छ ।
त्यसैगरी, सामान बोक्ने चारवटा इन्जिन आवश्यक पर्ने प्रस्ताव विभागले गरेको छ । यात्रुसँगसँगै सामान पनि प्रशस्त मात्रमा हुने, ढुवानी सेवा पनि हुने भएकाले त्यसका लागि कम्तीमा चारवटा इन्जिन आवश्यक पर्ने विभागको ठहर छ ।

प्रकाशित: १० मंसिर २०७४ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App