coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिबीलाई जहाज किन्न थप एक साता म्याद

काठमाडौं- नेपाल वायुसेवा निगम सञ्चालक समितिले आफ्नो ३० वर्ष पुरानो जहाज सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई सात दिनभित्र खरिद गर्न दिने निर्णय गरेको छ ।

डेढ करोड रुपैयाँ बुझाएको बिबीले मंसिर १४ भित्र बाँकी रकम चुक्ता नगरे अमेरिकी कम्पनी एभियनलाई जहाज बिक्री गर्ने निगमको तयारी

बिबी एयरवेजले गत असोज २७ मा निगमको तीन दशक पुरानो बोइङ जहाज खरिद गर्न कूल रकमको १० प्रतिशत चुक्ता गरेको थियो । त्यसको एक साताभित्र खरिद–बिक्री सम्झौता गर्ने म्याद दिइए पनि हालसम्म बिबीका कुनै पनि अधिकारी सम्पर्कमा नआएपछि निगम व्यवस्थापनको प्रस्तावपछि सञ्चालक समितिले एक थप एक साता समय दिने निर्णय गरेको हो ।
‘हाम्रो सञ्चालक समितिले बिबी एयरवेजलाई जहाज खरिद गर्न अन्तिम पटक थप सात दिनको म्याद दिने निर्णय गरेको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले शनिबार नागरिकसँग भने, ‘अन्तिम म्याद दिएका छौं, अब पनि बिबी खरिद गर्न आएन भने अर्को कम्पनीलाई जहाज बेच्ने र उसले बुझाएको दस प्रतिशत रकम फिर्ता नदिने निर्णय भएको छ ।’
उनका अनुसार मंसिर ६ गते बसेको सञ्चालक समिति बैठकले बिबीका लागि उक्त निर्णय गरेको हो । आगामी बिहीबार (मंसिर १४) भित्र बिबीले बाँकी रकम चुक्ता गरेन भने उसलाई जहाज दिइँदैन । सञ्चालक समितिले पुनः म्याद थपे वा नथपे पनि अब भने व्यवस्थापनले अर्को पटक म्याद नथप्ने निर्णय गरिसकेको छ । ‘यस पटक भने बिबीका अधिकारी सम्पर्कमा आउने विश्वास छ,’ श्रेष्ठले भने ।
तीन दशक पुरानो उक्त जहाज ६ महिनादेखि लिलाम बढाबढमा बेच्न गरेको प्रयास असफल भएपछि निगम सञ्चालक समितिले जहाजको भाउ १७ लाख १० हजार डलरबाट २ लाख १० हजार घटाएर १५ लाख डलरमा बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको थियो ।  
पहिलो पटक टेन्डर आह्वान गर्दा एउटा पनि आवेदन परेको थिएन । दोस्रो पटक भने अमेरिकाको एभियन सिस्टम्स इन्कर्पोरेटेड र इजरायलको एपिएस एयरपार्ट्स, सर्भिसेस एन्ड सप्लाइज लिमिटेड तथा नेपालका हिमालया एभिएसन कन्सल्ट्यान्ट तीलगंगा, टिबिआई ग्रुप नेपाल गैरीधारा, जनार्दनमान डंगोल सानेपा, बिबी एयरवेज नागपोखरी र अनु मानन्धर नयाँबानेश्वरले बि७५७ जहाज खरिद गर्न आवेदन हालेका थिए ।
तीमध्ये एभियनले १० लाख डलर, टिबिआई ग्रुपले १२ लाख ५० हजार डलर र हिमालया एभिएसनले १३ लाख डलरमा जहाज किन्ने प्रस्ताव गरेका थिए । बाँकी चारजनाले भने मूल्य प्रस्ताव गरेका थिएनन् ।
‘अबको अन्तिम म्यादभित्र पनि बिबी जहाज खरिद गर्न आएन भने अमेरिकाको एभियन सिस्टम्स इन्कर्पोरेटेडलाई जहाज बिक्री गर्ने छौं,’ निगमका कर्पोरेट डाइरेक्टर श्रेष्ठले भने, ‘नेपाली कम्पनीले नै खरिद गरोस् भन्ने हाम्रो चाहना हो ।’
बिबीले डेढ वर्षदेखि ‘ग्राउन्डेड’ निगमको एकथान ठूलो बोइङ जहाज खरिद गर्न डेढ करोड रुपैयाँ दिएर ‘सम्पर्कबिहीन’ भएपछि निगम व्यवस्थापनले सञ्चालक समितिमा यससम्बन्धी प्रस्ताव लगेर निर्णय गराएको हो ।
निगम सञ्चालक समितिले असोज तेस्रो साता बिबीलाई उक्त जहाज बेच्न अनुमति दिएपछि व्यवस्थापनले बिबीसँग जहाजको कूल मूल्यको १० प्रतिशत रकमवापत १ करोड ५१ लाख ८४ हजार रुपैयाँ लिएको थियो ।
रकम प्राप्त भएको एक साताभित्र जहाज खरिद सम्झौता गर्ने समझदारी थियो ।  तर, डेढ करोड बुझाएपछि बिबी एयरवेजका सम्बद्ध अधिकारी कोही पनि निगमको सम्पर्कमा आएका छैनन् । बिबी एयरवेज गैरआवासीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको कम्पनी हो । भट्ट गैरआवासीय नेपाली (एनआरएन) संघका नवनियुक्त अध्यक्ष हुन् ।
बिबीका अध्यक्ष भट्ट, प्रबन्ध निर्देशक शिशिर भट्टलगायत उच्च अधिकारी जति ताकेता गर्दा पनि सम्पर्कमै नआएपछि निगम व्यवस्थापनले बाध्य भएर सञ्चालक समितिमा प्रस्ताव लगेको थियो । बिबीका महाप्रबन्धक अनिमेष मिश्रसँग एक महिनाअघि कुराकानी हुँदा ‘हामी आउँछौं’ भने पनि त्यसयता उनीहरू सम्पर्कमा नआएको निगमको भनाइ छ ।
यता बिबीका अधिकारीले भने निगमको जहाज आफूहरूले नै खरिद गर्ने बताएका छन् । ‘निगमको बोइङ जहाज हामी नै खरिद गर्छौं,’ बिबीका प्रबन्ध निर्देशक शिशिर भट्टले गत कात्तिक ३० गते नागरिकसँग भनेका थिए, ‘खरिद नगर्ने भए डेढ करोड रुपैयाँ किन बुझाउँथ्यौं ?’
भट्टले आफूहरू सम्पर्कमै रहेको र निगमले भन्नासाथ उपस्थित हुने बताएका थिए ।  बिबीले थप मर्मतपछि निगमको जहाजबाट भारतको नयाँदिल्ली उडाउने तयारी गरेको छ । बिबीले कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एकथान ‘बोइङ ७५७–२००’ सिरिजको जहाज भाडामा लिई २०६९ भदौ २८ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो तर, सञ्चालनको तीन महिनामै सबै उडान बन्द गरेको थियो ।
बिबीले १४ लाख ६० हजार अमेरिकी डलर (१५ करोड १८ लाख ४० हजार रुपैयाँ) मा जहाज खरिद गर्न त्यसको १० प्रतिशतवापत हुन आउने १ करोड ५१ लाख ८४ हजार रुपैयाँ निगमको खातामा जम्मा गरिदिएको छ ।
निगमले बेच्न खोजेको ‘बि७५७–२००’ सिरिजको उक्त जहाज करिब डेढ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ । ‘९एन–एसिए’ कलसाइन भएको १ सय ९० सिट क्षमतायुक्त यो जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो । यसको नाम ‘कर्णाली’ हो । यो जहाज बेच्न निगमले दुईपल्ट ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो ।
निगमका अनुसार उक्त जहाज जे जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गरिएको हो । जहाजमा ‘आरबी२११–५३५इ४’ मोडेलका दुईथान इन्जिन छन् । तीमध्ये एउटा इन्जिनको आयु शून्य छ भने अर्कोको आयु जम्मा १ सय घन्टामात्र छ । जहाज खरिद गर्ने कम्पनीले उडाएर लैजान त्यति अवधि राखिएको हो ।

प्रकाशित: १० मंसिर २०७४ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App