७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या’

नयाँ दिल्ली- भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा गत साता मारिएका पत्रकार सुदीप दत्त भौमिकको हत्या भ्रष्टाचारसम्बन्धी समाचार लेखेको कारणले भएको बताइएको छ ।

त्रिपुराका पत्रकार सुदीप दत्त भौमिकलाई समाचार लेखेको विषयलाई बदला लिने उद्देश्य लिएर त्रिपुरा स्टेट राइफल्स (टिएसआर)का कमान्डेन्टको आदेशमा एक जवानले गोली हानी हत्या गरेको भौमिक कार्यरत ‘स्यान्दान पत्रिका’ का सम्पादक सुबल कुमार देले बताएका छन् । सुरुमा पत्रकार भौमिकलाई हत्या गरेको आरोपमा टिएसआरका जवान नन्दु रियङलाई पक्राउ गरिएपनि पछि उनले टिएसआरका कमान्डेन्ट तपन देबार्माले गोली हान्न आदेश दिएका कारण गोली हानेको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

देबार्माको संलग्नतामा भएको आर्थिक अनियमितता र भ्रष्टाचारसम्बन्धी विभिन्न रिपोर्ट भौमिकले लगातार प्रकाशन गरेपछि उनको हत्या भएको ‘स्यान्दान पत्रिका’का सम्पादक देले बताएका छन् ।

‘भौमिकलाई दोस्रो टिएसआरका कमान्डेन्ट तपन देबार्माले बोलाएका थिए र पूरै होस हवासमा उनको हत्या गरे । सुदीपको एक मात्रै अपराध भनेको उनले देबार्मा संलग्न रहेको कैयौं आर्थिक अनियमितता र भ्रष्टाचारसम्बन्धी विवरण सार्वजनिक गरेका थिए,’ सम्पादक देलाई उल्लेख गर्दै ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ ।

टिएसआरका सैनिक अधिकारीसँग विवाद भएर भाग्ने क्रममा उनलाई गोली हानेको भन्ने विषयलाई अस्वीकार गर्दै सम्पादक देले आफूले देबार्माको कार्यालय र भौमिकको कुइनामा रगतको टाटो देखेको बताए ।

‘भौमिकको मोबाइल फोन र नोटबुक हराइरहेको छ । उनको परिचयपत्र र पर्स भने भेटिएका छन् । भौमिकले रेकर्ड गरिरहेको र नोट पनि टिपोट गरिरहेको भएर अधिकारीले ती सामाग्री कब्जा गरेको हुनसक्छ,’ सम्पादक देले बताए ।
‘स्यान्दान पत्रिका’का सम्पादक एवं प्रकाशक सुबल कुमार देले भने, ‘भौमिकले गरेको खोजीका आधारमा हामीले पत्रिकामा समाचार छापेका थियौं र त्यस दिन पनि सैनिक कमान्डेन्टले नै बोलाएका कारण उनी त्यहाँ गएका थिए ।’

    ‘समाचार लेखेका आधारमा उनको हत्या भएको हो । यसबाहेक अर्काे कुनै कारण छैन,’ उनले भने ।
    सम्पादक सुबल कुमारले भौमिक टिएसआर मुख्यालयका अधिकारीको औपचारिक अनुमति मात्र नभएर समय लिएर नै सो कार्यालयमा पुगेको बताएका छन् । ‘पछि उनको हत्या भयो भन्ने सुनेपछि हामी आश्चर्यमा परेका थियौं,’ उनले भने ।

    ती अधिकारीले भौमिकलाई त्यहाँ बोलाएर आफ्ना अंगरक्षकलाई गोली हान्न लगाएको विषय पछि पत्ता लागेको थियो । यस विषयमा आरोपित अधिकारीको भने कुनै प्रतिक्रिया आएको छैन ।
पूर्व राज्य सांसद एवं एक स्थानीय पत्रिकाका सम्पादक तपस देले मनिक सरकारले नेतृत्व गरेको राज्य सरकारको आलोचना गर्दै भौमिकको हत्या असहिष्णुको कारण भएको आरोप लगाएका छन् ।
‘सुदिपको हत्यालाई म सरकार र प्रशासनको असहिष्णुको नतिजा भन्छु । उनीहरु भ्रष्टाचारलाई प्राथमिकतामा राखेर तयार पारिएको रिपोर्ट सामना गर्न चाहँदैनन् । भ्रष्टाचारसम्बन्धी विवरण सार्वजनिक गर्नेलाई मार्नु उनीहरुका लागि सजिलो भएको छ किनभने सरकारले कुनै कदम चाल्दैन,’ देले बताए ।
‘सञ्चारकर्मीलाई सुरक्षा प्रदान गर्न नसक्नुमा सरकार दोषी रहेको छ । नकारात्मक समाचार बाहिरने बित्तिकै पत्रकार हत्या गर्ने परिपाटी सुरु भएको छ । यहाँ भ्रष्टाचार संस्थागत भएको छ । पहिले सञ्चारमाध्यम किन्न प्रयत्न गरिन्छन् र जब त्यो प्रयत्न असफल हुन्छ पत्रकार मारिन्छन्,’ देले बताए ।

भारतमा त्रिपुरामा नै दुई महिना अघि एक आन्दोलनको समाचार संकलनका क्रममा रहेका एक आन्दोलनकारीले टेलिभिजन पत्रकारको हत्या गरेका थिए । त्यसको महिना दिन मात्र अघि पनि एकजना महिला सम्पादकको हत्या भएको थियो । उनको हत्या भने आफ्नै घरमा भएको थियो । भारतमा पछिल्ला समय पत्रकार हत्याका घटनामा बृद्धि भइरहेको छ ।

प्रकाशित: १० मंसिर २०७४ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App