७ वैशाख २०८१ शुक्रबार
समाज

१९ महिनामा साढे चार अर्बको सम्पत्ति नष्ट

काठमाडौं- विपद्का घटनाबाट मात्र पछिल्लो १९ महिनामा नेपालले साढे ४ अर्ब रुपैयाँभन्दा बढीको क्षति बेहोर्नुपरेको छ । यसमा बाढी, पहिरो, चट्याङ, महामारी र आगलागीका घटनाबाट भएको व्यत्तिगत सम्पत्तिको क्षतिमात्र समावेश छ । सार्वजनिक सम्पत्ति र ठूला पूर्वाधारमा पुगेको क्षतिलाई यसमा समेटिएको छैन ।

विपद्का घटनाबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न मन्त्रालयमार्फत बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको भए पनि क्षति भने बर्सेनि बढ्दो क्रममा रहेको छ ।

‘प्राकृतिक प्रकोपबाट ठूलो क्षति हुने गरेको छ,’ गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउतले नागरिकसँग भने, ‘यसतर्फ कसैको ध्यान पुगेको छैन ।’
विपद्का घटनाबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न मन्त्रालयमार्फत बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको भए पनि विपद्ले पु¥याउने क्षति भने बर्सेनि बढ्दो क्रममा रहेको छ । पछिल्लो ६ वर्षमा मात्र बाढी, पहिरो, चट्याङ, विद्युत् सर्ट, महामारी र आगलागीका घटनाबाट २७ अर्ब रुपैयाँभन्दा बढीको व्यक्तिगत सम्पत्ति नष्ट भएको छ । यसमा भूकम्पले पु¥याएको क्षति समेटिएको छैन ।
‘प्राकृतिक विपद्का घटना विविध कारणले बढेका छन् । प्रत्येक वर्ष यस्ता घटनाबाट नेपालमा करिब ९ सय जनाले ज्यान गुमाउने गरेका छन् भने वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढिको क्षति बेहोर्नुपरेको छ,’ राउतले बताए ।
गृह मन्त्रालयले सन् १९७१ देखि २०१६ सम्म नेपालमा भएका विपद्का घटना समेटेर तयार पारेको एक प्रतिवेदनमा यो ४५ वर्षको अवधिमा नेपालमा २१ हजार ८ सय ५६ वटा प्राकृतिक विपद्का घटना भएका छन् । प्रत्येक वर्ष औषतमा ५ सयको हाराहारीमा यस्ता घटना नेपालमा हुने गरेका छन् । यो ४५ वर्षको अवधिमा प्राकृतिक विपद्का घटनामा ३९ हजार ६ सय ५९ जनाले ज्यान गुमाएका छन् । प्रत्येक वर्ष औषतमा ८ सय ८१ जनाको मृत्युको कारण प्राकृतिक विपद्का घटना बन्ने गरेको छ ।
विपद् व्यवस्थापन महाशाखा प्रमुख राउतका अनुसार सन् १९७१ देखि २०१६ सम्म ४५ वर्षको अवधिमा प्राकृतिक विपद्का कारण नेपालले एक खर्ब ३५ अर्बभन्दा बढीको क्षति बेहोर्नुपरेको छ । यो अवधिमा औषतमा प्रत्येक वर्ष प्राकृतिक विपद्का कारण ३ अर्ब रुपैयाँभन्दा बढीको व्यक्तिगत सम्पत्ति नष्ट भएको छ । ‘प्राकृतिक विपद्का घटना बढे पनि प्रत्येक वर्ष हुने मानवीय र सम्पत्तिको क्षति उस्तै देखिन्छ,’ राउतले भने ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर भत्किँदा ८ हजार ७ सय ९० जनाको ज्यान गएको थियो । सो भूकम्पले ९ खर्ब ३८ अर्ब रुपैयाँबराबरको क्षति गरेको थियो । यो क्षतिलाई प्रतिवेदनमा समेटिएको छैन ।
४५ वर्षको अवधिमा प्राकृतिक विपद्का घटनामा परी ३ सय ५७ जना बेपत्ता भए । यस अवधिमा नै विभिन्न घटनामा ७९ हजार १ सय ४७ जना घाइते भएका छन् भने ५९ लाख ४५ हजार २ सय ८८ घरपरिवार प्रभावित बनेका छन् । प्राकृतिक विपद्ले ४५ वर्षमा १३ लाख २० हजार २ सय ५७ घरमा क्षति पु¥याएको छ ।
गृह मन्त्रालयको तथ्यांकअनुसार ४५ वर्षको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । यो अवधिमा नेपालमा ८ हजार ७ सय २१ आगलागीका घटना रेकर्ड भएको छ । आगलागीपछि बाढीका घटना सबैभन्दा बढी भएका छन् । ४५ वर्षमा ३ हजार ९ सय ५० वटा बाढीका घटना गृहको रेकर्डमा बसेको छ । बाढीपछि महामारीको घटना नेपालमा बढी हुने गरेको छ जसले ठूलो जनधनको क्षति हुने गरेको छ । सन् १९७१ देखि २०१६ सम्म नेपालमा ३ हजार ४ सय ५२ वटा महामारीका घटना भएको गृहको तथ्यांकमा भेटिन्छ । यस्तै, पहिरोको घटना ४५ वर्षको अवधिमा ३ हजार २ सय ४६ वटा रेकर्ड भएका थिए ।
विपद्मध्ये बढी मानिसको ज्यान लिनेमा महामारी रहेको गृहको तथ्यांकले देखाएको छ । महामारीका कारण ४५ वर्षमा नेपालमा १६ हजार ५ सय ८३ जनाले ज्यान गुमाएका थिए । यस अवधिमा भूकम्पका कारण ९ हजार ७ सय ७१ ले ज्यान गुमाएका थिए । यस्तै यो ४५ वर्षको अवधिमा पहिरोमा परी ४ हजार ९ सय ८०, बाढीमा परी ४ हजार ४ सय ४६, आगलागीमा परी १ हजार ६ सय ५ र चट्याङमा परी १ हजार ६ सय २० जनाको मृत्यु भएको थियो ।
‘विपद्का घटनाबाट हुने क्षति कम गर्न जति लगानी यो क्षेत्रमा हुनुपथ्र्यो त्यो भएको छैन । दातृ निकायले पनि विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्छ  अनिमात्र यसबाट हुने क्षति कम गर्न सकिन्छ,’ विपद् व्यवस्थापन महाशाखा प्रमुख राउतले भने ।
गृह मन्त्रालयको रेकर्डमा रहेका २०७३ वैशाख १ देखि २०७४ मंसिर ८ गते (१९ महिना) सम्म नेपालमा भएका प्राकृतिक विपद्को घटना र तिनले पु¥याएको क्षति विवरण झन् कहालीलाग्दो छ । यो १९ महिनाको अवधिमा बाढी, पहिरो, चट्याङ, विद्युत सर्ट, महामारी र आगलागी जस्ता प्राकृतिक विपद्सँग सम्बन्धित ४ हजार १ सय ५४ घटना भएका छन् जसबाट ४ अर्ब ६१ करोड २८ लाख ४५ हजार ६ सय ८६ रुपैयाँबराबरको व्यक्तिगत सम्पत्ति नोक्सान भएको छ । यस अवधिमा ती घटनाका कारण ९ सय २८ जनाले ज्यान गुमाएका छन् भने १ सय ३२ जना बेपत्ता छन् । यसै वर्ष बाढीले तराईका जिल्लामा पु¥याएको ठूलो भौतिक क्षतीलाई यसमा जोडिएको छैन । गृहले व्यक्तिगत सम्पत्तिमा भएको नोक्सानीको मात्र रेकर्ड राख्नेहुँदा ठूला पूर्वाधारमा पुगेको क्षतिलाई यसमा समेटिएको छैन । यस वर्ष तराईमा आएको बाढीले १ सय ६१ जनाको ज्यान लिएको थियो भने ६० अर्ब रुपैयाँबराबरको सम्पत्ति क्षति गरेको थियो ।
पछिल्लो १९ महिनामा भएका प्राकृतिक विपद्का घटना हेर्दा नेपालमा मासिक औषत २ सय १८ वटा घटना हुने गरेका छन् जसले २४ करोड २७ लाख ८१ हजार ३ सय ५२ रुपैयाँबराबरको क्षति पु¥याउने गरेको छ । यस्तै, प्राकृतिक विपद्का कारण मासिक औषत ४८ जनाले ज्यान गुमाउने, ६ जना बेपत्ता, ७२ जना घाइते र १ हजार ६ सय १५ घर प्रभावित हुने गरेका छन् ।
‘विकास निर्माणका कार्य अघि बढाउँदा अब जोखिमको अध्ययन गरेर मात्र योजना अघि बढाउनुपर्छ । सरकारका तीनवटै तह (केन्द्र, प्रदेश र स्थानीय) ले प्राकृतिक प्रकोप र त्यसबाट हुने जोखिमको आकलन गरी  कार्य योजना बनाउनुपर्छ,’ विपद् व्यवस्थापन महाशाखा प्रमुख राउत भन्छन्, ‘जेखिम न्यूनीकरण पूर्वतयारीमा बढी लगानी गर्न सकेमात्र यस्ता घटनाबाट हुने क्षति कम गर्न सकिन्छ ।’
अहिले गृह, उद्योग, भौतिक पूर्वाधार तथा यातायात, सिँचाइ, वातावरण, विज्ञान, वन, स्थानीय विकास, स्वास्थ्यलगायतका  मन्त्रालयलाई प्राकृतिक विपद् न्यूनीकरण गर्न भन्दै सरकारले बजेट उपलब्ध गराउने गरेको छ । सबै मन्त्रालयलाई सरकारले विपद् व्यवस्थापनका नाममा छुट्याउने बजेट वार्षिक अर्बभन्दा बढी हुने गर्छ । तर त्यसको प्रभावकारिता न्यून हुने गरेको गृहको तथ्यांकले देखाउँछ ।
‘खासगरी प्राकृतिक विपद्बाट हुने जोखिम कम गर्न पूर्वतयारी र सचेतना बढाउने खालका कार्यक्रममा बढी ध्यान दिनुपर्ने हुन्छ । प्राकृतिक विपद् आउन लागेको पूर्वजानकारी दिने प्रणाली विकास गर्न सके पनि धेरै क्षति कम गर्न सकिन्छ । यस्तै, खोज तथा उद्धारका लागि सुरक्षा निकायको क्षमता पनि अभिवृद्धि गर्नुपर्ने हुन्छ,’ राउतले भने ।
गृहको पछिल्लो १९ महिनाको तथ्यांक हेर्दा प्राकृतिक विपद्का घटनाले सबैभन्दा बढी क्षति भक्तपुरमा पु¥याएको छ । भक्तपुरमा यस अवधिमा यस्ता घटनाका कारण ७७ करोड २८ लाख ७७ हजार ३ सय ३० रुपैयाँबराबरको व्यक्तिगत सम्पत्ति क्षति भएको छ । यस्तै, भक्तपुरपछि प्राकृतिक विपद्का घटनाले ठूलो क्षति पु¥याएका अन्य जिल्लामा क्रमशः काठमाडौं, पर्सा, गुल्मी, प्युठान, संखुवासभा, भोजपुर र सोलुखुम्बु छन् ।
प्राकृतिक विपद्को घटनाले सबैभन्दा कम क्षति पु¥याएको जिल्लामा मनाङ पर्छ । बितेका १९ महिनामा मनाङमा प्राकृतिक विपद्को घटनाले एक रुपैयाँ पनि नोक्सानी भएको छैन । मनाङपछि प्राकृतिक विपद्का घटनाले कम क्षति गरेका जिल्लामा क्रमशः दार्चुला, जाजरकोट, कालिकोट, बाजुरा, आछाम, बैतडी र बझाङ छन् ।

प्रकाशित: १० मंसिर २०७४ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App