८ वैशाख २०८१ शनिबार
समाज

क्षणभरमै निभ्यो खुसीको दियो

रुकुम- सिस्ने गाउँपालिका–६, रुकुमकोटका नवीन क्षेष्ठ र इटहरि उपमहानगरपालिका–१७ की अनीता प्रधान मंसिर ६ गते (बुधबार) विवाह बन्धनमा बाँधिए । अनीताको माइतीघरमा बिहे गरेका उनीहरू आशीर्वाद थाप्न र खुसी छर्न भोलिपल्ट बिहीबार श्रेष्ठको घर रुकुमकोट आए । शनिबार कार्यक्षेत्रमा पुग्ने तयारीअनुरुप उनीहरू शुक्रबार बेलुकापख पूर्वी रुकुमस्थित घरबाट हाँसीखुसी बिदा भएका थिए । तर नियतिलाई उनीहरूको हाँसीखुसी लामो दाम्पत्य जीवन बिताउने चाहना स्वीकार्य भएन । घरबाट हिँडेको तीन घन्टा पनि पुगेको थिएन । निधारको टीका पनि आलै थियो । एकाएक उनीहरू चढेको जिप दुर्घटनामा प¥यो । त्यही दुर्घटनाले नवदम्पतीको जीवन खोस्यो । जिप दुर्घटनामा श्रेष्ठ दम्पत्तीसहित सातजनाको मृत्यु भयो । दुर्घटना नवदम्पतीसहित सातको मृत्यु भएपछि रुकुम शोकमा डुबेको छ ।

 एउटै पेसा र एउटै घर बनाएका नवदम्पतीको चिता पनि एउटै बन्यो । श्रेष्ठ र प्रधान सुरक्षाकर्मी थिए । दुवै प्रहरी निरीक्षक थिए । श्रेष्ठ सुर्खेतमा कार्यरत थिए भने प्रधान रौतहटमा कार्यरत थिइन् । ‘दुई इमानदार प्रहरी र  दम्पत्ती गुमायौं’, रुकुमकोटका श्रीराज गौतमले भने, ‘यो निकै दुःखद घटना बन्यो । यस्तो अल्पआयुमै कसैले मृत्यु सोचेको हुँदैन् । तर नसोचेको भयो ।’ श्र्रेष्ठ २०७० चैतमा र प्रधान २०७१ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । श्रेष्ठ बाबुआमाका जेठो छोरा थिए । उनका एक दिदी र एक भाइ छन् । उनका बुवा टेकबहादुर प्राथमिक तहका शिक्षक हुन् ।

‘मिलनसार, असल, कर्तव्यनिष्ठ युवक गुमाएका छौं’, स्थानीय लिलामणि गौतमले भने । यसले गाउँमा ठूलो क्षति पुगेको उनले बताए ।  ‘नवीन इमानदार र कर्तव्यनिष्ठ प्रहरी निरीक्षक थिए’, रुकुमकोटका पूर्णजंग शाहले भने, ‘सधैं देश र जनताका लागि मात्रै चिन्ता गर्थे । सानैदेखि अध्ययनशील श्रेष्ठ माध्यमिक शिक्षासम्म नृत्यमा पनि रुचि राख्थे । तर उच्च शिक्षा अध्ययन गर्न सहर पसेका उनी प्रहरी निरीक्षक बने । दुर्घटनापछि उनका आफन्त सबै शोकमा छन् । सबैका आँखामा आँशु छन् ।

पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसिकोट खलंगा आउने क्रममा  ग१ज ४२६० नम्बरको जिप मुसिकोट नगरपालिका–६, कालिमाटीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मुत्यु हुने अन्यमा मुसिकोट नगरपालिका–१ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र सुरेखा शाह श्रेष्ठ र त्रिवेणी गाउँपालिका–कि यमुना मल्ल छन् । जनक फुटबल रेफ्री, सुदन यातायात व्यवसायी, सुरेखा र यमुना शिक्षिका थिए ।

दुर्घटनामा तुल्सीपुर उपमहानगरपालिका–१६ घर भएका चालक प्रेम सिउजाली थापा, सहचालक बाँफीकोट गाउँपालिका मग्माका प्रमे केसी र यात्रु बर्दियाका टेकबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । दुर्घटनाको कारण थाहा हुन नसकेको जानकारी उनले दिए ।

 

प्रकाशित: १० मंसिर २०७४ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App