माइजुकी भदैनी (कथा)

शनिबार, ०९ मङि्सर २०७४, १९ : २० पोस्तक श्रेष्ठ

दशैँको टिकाको दिन। आफ्नो घरमा टिका लगाएपछि प्रशन्न मामाको घर नवलपरासी पुग्यो। उ पुग्दा मामाको घरको ढोका खुलै थियो।

'माईजु!' बाहिरदेखि नै कराउँदै उ भित्र पस्यो।

भित्र माईजु त हुनुहुन्थेन तर भान्सामा काम गरिरहेकी एउटी नवयौवना थिइन्। अपरिचित। पहिले कहिल्यै नेदेखेको।

'माइजु हुनुहुन्न?'

'तँपाई प्रशन्न हो?' अपरिचित केटीबाट उल्टै प्रश्न आयो। प्रशन्न छक्क पर्‍यो।

'हो, तर तँपाईलाई कसरी थाहा भयो? '

'छ्या, मलाई तपाई भन्न पर्दैन। तिमी भने हुन्छ। तपाई भन्दा सानै छु।'

'ल ठिक छ, तिमी नै भन्छु । तिमीलाई मेरो उमेर पनि थाहा रहेछ । अरु के थाहा छ मेरो बारेमा?'

'तँपाई, सायद बिएस्सी अन्तिम वर्षमा पढ्दै हुनुहुन्छ, त्रिचन्द्र कलेजमा।'

'वाह, अनि?'

'घर पूर्व–चितवन ।'

'अनि?'

'पढाइमा तेज हुनुहुन्छ।'

'तिमी त मलाई बेचेर खान्छौ कि क्या हो?'

'बेच्ने त होईन, बन्धकसम्म राख्न सक्छु', उनी हाँसिन् ।

'अनि आफ्नो बारेमा चाँहि भन्नु पर्दैन?'

'पत्ता लगाउनूस् न।' उनी खित्खिताएर हाँसिन्, अनि भान्साको काममै लागिन्।

'पूर्णिमा, ए पूर्णिमा !' बाहिर माईजुको आवाज आयो।

'बाख्राहरुलाई पानी देऊ त नानी !'

उनी हजुर भन्दै बाहिर निस्किईन्। उनको नाम पूर्णिमा रहेछ। नाम त थाहा भयो। अरु कुरा पनि बिस्तारै थाहै हुँदै जाला भन्ने लाग्यो।

प्रशन्न पनि बाहिर निस्कियो। माईजुलाई ढोग गर्‍यो।

'ए भान्जा बाबु, कति खेर आइपुग्नु भयो? यो पूर्णिमाले ले चिया बनाएर खुवाएकी हो कि नाई?'

माईजुले स्याउला लिएर आउनु भएको रहेछ। बाख्रालाई स्याउला झुण्ड्याइ सकेपछि माइजू पिँढीको खाटमा बस्नु भयो। प्रशन्न पनि सँगै बस्न गयो। माईजु र भान्जाबिच सञ्चो–बिसञ्चो, हालखबर सोधपूछ भयो। मामा भने गाऊँमा कोही बिरामी भएकोले जानुभएको रहेछ। वहाँ औषधी पसल चलाउनु हुन्छ। सबैले डाक्टर–साब भन्थे। दशैँमा पनि वहाँलाई भ्याइनभ्याई थियो।

यो बीचमा पूर्णिमाले चिया बनाएर ल्याइन् ।

'पूर्णिमा को हो माईजु? मैले पहिला देखेको थिइन त।'

'यो मेरी भदैनी हो बाबु। यिनीहरु पहाडबाट झरेको दुई वर्ष जति भयो। यो बेलाबेला मलाई सघाउन आऊँछे।'

'माइजुको यति राम्री भदैनी रहिछ, पहिला भन्नु भए न त! चिया पनि मिठै बनाउँदी रहिछ।' ती युवतीलाई अलिकति फुर्क्याएँ।

पूर्णिमाले पुलुक्क हेरिन्। उनको पुष्ट गालामा लालिमा फैलियो।

'ल माइजु, मलाई टिका लगाईदिनूस् न त। म फर्किहाल्ने हो। मामा कतिखेर आउने ठेगान भएन।'

'ह्या बाबु, के को हतार हो, वर्ष दिनमा एक चोटी आउनुहुन्छ, जहिले पनि जान कै हतार। भरे मामाले टिका लगाइदिनु हुन्छ, आज यतै बस्नूस्।'

माइजु प्रशन्नको झोला च्यापेर भित्र पस्नु भयो।

'होइन माइजु, मलाई जान पर्छ।'

'कहाँ जान पर्छ र?' माइजुले सोध्नु भयो।

'खै, ससुराली टिका लगाउन जान पर्ने हो कि?' पूर्णिमाले छेड हानी।

'यसले कसैलाई नछोड्नी भई', माइजु हाँस्नुभयो।

प्रशन्न पनि नमुस्कुराई रहन सकेन।

त्यसपछि माइजु गोठमा भकारो सोहोर्न जानु भयो। प्रशन्नले पनि मौका छोप्यो।

'तिमीले कर गर्‍यौ भने त बस्छु नि, मेरी माईजुकी प्यारी भदैनी!'

सानो हुँदा प्रशन्न मामाको घर धेरै पटक बसेको थियो। हिँउदे विदा भरी नै बस्थ्यो कहिले त। मौका पायो कि मामाको घर पुगि हाल्थ्यो। मामा प्रायः जसो आफ्नै काममा ब्यस्त हुने भएकोले वहाँसँग बरु त्यति सामिप्यता भएन, जति माईजुसँग भयो। माईजुले अति माया गर्नु हुन्थ्यो। मामा माइजुका सन्तान थिएनन्। सायद त्यसैले पनि होला, माइजु प्रशन्नमा आफ्नो मातृत्व खन्याउनु हुन्थ्यो। तर ठूलो भइसकेपछि भने पढाइको बोझले गर्दा, उ मामा घर त्यति जान पाएको थिएन र गइहाले पनि रात बसेको थिएन।

उ त्यो दिन त्यहीँ रोकियो। खै के ले हो, उसलाई त्यहाँ रोक्यो। त्यो दिन मात्र होइन, अर्को दिन पनि रोकियो। पूर्णिमासँग गफ गरेर, हाँस–खेल, ठट्टा गरेर समय बितेको पत्तै भएन। कहिले उनीहरु सँगै बाख्रालाई स्याउला लिन गए। कहिले भैंसी फुकाएर चराउन गए। नजिकै दशैँको पिङ राखेको थियो। पिङमा मच्चिन पनि पुगे। केटाकेटीहरु हुलमा मिस्सिएर अबेरसम्म लङ्गूरबूर्जा पनि खेले।

जुनेली रात, चन्द्रमाले दिन प्रतिदिन पूर्णाकार लिइरहेको थियो। प्रशन्नको मनमा पनि पूर्णिमाले आकार लिइराखेकी थिइन्। उ कल्पनाको अकासमा उड्न थालिसकेको थियो।

मामाघरबाट बिदा भएर निस्कन लाग्दा प्रशन्नलाई महशुस भयो, उ केही छोडेर जाँदै थियो। उसको मन बेचैन थियो। सायद पूर्णिमालाई पनि त्यस्तै भएको हुनुपर्छ। उनको अनुहार पनि मलिन देखिन्थ्यो। यो दुई दिनको भेटमा पनि उनीहरु धेरै नजिक भइसकेका थिए।

'अब कहिले आउनुहुन्छ?' हिँड्ने बेला पूर्णिमाले सोधिन् ।

'सायद अर्को दशैंमा।'

प्रशन्न आँगनबाट निस्किएर बाटोमा के पुगेको थियो, माईजुको आवाज आयो।

'ए भान्जा बाबु, माघ २५ मा पूर्णिमाको बिहे हुँदैछ। आउनु पर्छ है।'

पूर्णिमा आँगनमा माइजु सँगै उभिराखेकी थिई। लुसुक्क घरभित्र पसी। यता प्रशन्नको मनमा एक्कासि पहिरो गयो। उसको कल्पनाको उडान हठात अवतरण भयो।

गह्रौँ मन लिएर प्रशन्न काठमाडौं फर्क्यो। दशैँमा गाऊँघर गएका मानिसहरु सबै फर्कि नसकेकोले काठमाडौँ अझै रित्तै थियो। शरद ऋतुमा सफा हुन पर्ने अकास पनि किन हो, धुँदिलो थियो। परीक्षा नजिकै आइरहेको थियो। तर उ पढाइमा एकाग्र हुन सकिरहेको थिएन। छोटै समय भए पनि पूर्णिमासँग बिताएका पलहरुको झझल्को मात्र आइरह्यो। पूर्णिमाको वाकपटुता, चञ्चलपन वरिपरि घुमिरह्यो।

उसले सम्झ्यो, टिका लगाईदिंदा मामाले सोध्नु भएको कुरा।

'भान्जालाई आशीर्वाद चाँहि के दिऊँ हँ, भन त ?'

‘मलाई माग्नूस, मलाई ’ मामा–माईजुको पछाडि उभिएकी पूर्णिमाले आफूतिर ईशारा गरेकी थिइन्।

‘कस्ती उत्ताउली केटी हो।’ मुश्किलले हाँसो थामेको थियो प्रशन्नले।

'मनको कामना सबै पूरा होस् भनिदिनूस् न फूपाजु।' पूर्णिमाले सुझाव दिएकी थिई ।

'ल मेरो भान्जाको सबै मनोकामना पूरा होस्।'

प्रशन्नलाई लाग्यो, सायद त्यतिखेर पूर्णिमालाई पाऊँ भनेर उसले कामना गर्न बिर्सियो कि क्या हो, उनी अर्कैकी हुने भई।

काठमाडौँ फर्किएको केही दिन भएको थियो। फेसबूकमा पूर्णिमाको ‘फ्रेन्ड रिक्वेष्ट’ आयो। उसले तत्काल न स्वीकार गर्न सक्यो न अस्वीकार। केही दिन त्यतिकै ‘पेन्डिङ्ग’ राख्यो।

मेसेन्जरको घण्टी बज्यो ।

'मेरो फ्रेन्ड रिक्वेष्ट किन एक्सेप्ट नगर्नु भा’को?'

'फेसबूक हेर्न भ्या'को छैन', उसले ढाँट्यो।

एकछिन च्याटरुम शान्त भयो ।

'केही भन्नूस् न।' उताबाट पूर्णिमाको अनुरोध आयो ।

'अर्काकी हुनेवाली दुलहीलाई के भन्नू र ?'

'ए, कुरा त्यसो पो!'

एकछिनको मौनतापछि मेसेन्जर फेरि बज्यो।

'म पढाइमा पनि औसत मात्र छु। खास लक्ष पनि केही छैन। हुर्केकी छोरी भनेर बाबुआमाले कुरा छिनिदिए। मैले नाई भन्नु पर्ने कुनै कारण थिएन। मेरो फूपुको भान्जा एकदिन भेट हुनेछ र मेरो दिल चोर्नेछ भनेर मलाई के थाहा।'

'ठिकै छ, एउटा मिठो सपना बिचमै टुट्यो भनेर सोच्न पर्ला। जे होस, तिमीसँग बिताएको पल जीवनभरि सम्झना बनेर रहिरहनेछ।'  प्रशन्नले टाइप गर्‍यो।

'माफ गर्नूस्, तँपाइको दिल अन्जानमै दुखाएँ', उताबाट जवाफ आयो।

'केही छैन पूर्णिमा, तिम्रो दोष छैन। म मेसेन्जर बन्द गर्छु है अब। करिब एक महिनामा मेरो परीक्षा छ। तयारी गर्नुछ', प्रशन्नले कुराको बीट मार्‍यो।

पूर्णिमाले एउटा अश्रुमिस्रित ‘इमोजी’ पठाई ।

त्यसपछि प्रशन्न परीक्षाको तयारीमा जुट्यो। फेसबूक कहिलेकाँही मात्रै खोल्थ्यो। पूर्णिमा पनि अनलाईन देखिन्नथिन्। न उनीबाट कुनै फोन आयो, न कुनै सन्देश। प्रशन्नलाई लाग्यो, सायद उनले पनि अब बिर्सिन्। यथार्थलाई आत्मसात गरिन्। प्रशन्नको मानसपटलबाट पनि पूर्णिमाको याद बिस्तारै क्षीण हुँदै गयो।

परीक्षा सकिएको केही दिन भएको थियो। प्रशन्नको खास काम केही थिएन। पत्रिका, पुस्तकहरु पढेर समय बिताउँदै थियो। एक साँझ फोनको घण्टी बज्यो।

'म तँपाईकी माइजुकी भदैनी। गोङगबु बसपार्कमा छु, मलाई लिन आउने कष्ट गर्नु हुन्छ?'

तिहारमा कसैले सयौं रङ्गीन पटाकाहरु एकैचोटी फुटाएको जस्तो महशुस भयो प्रशन्नलाई।

'पूर्णिमा, तिमी कसरी अकस्मात काठमाडौँमा ?'

'एउटा जरूरी काम परेर आएको। सविस्तार भेटमै भनूँला नि।' उताबाट आवाज आयो ।

प्रशन्न मोटरसाईकल लिएर निस्क्यो। उनी बसपार्कको गेटमै कुरिरहेकी थिइन्। उ पूर्णिमालाई देख्न अधैर्य त थियो नै, त्यतिकै चकित पनि।

सञ्चो–बिसञ्चोको औपचारिक प्रश्नहरु सकिएपछि उसले सोध्यो।

'तिमी कहाँ जाने हो, पुर्‍याईदिन्छु, कोही छ आफ्नो मान्छे यहाँ?'

'छ एकजना, आफ्नै फुपूको भान्जा।' उनी मुख छोपेर खितिती हाँसिन्।

'ह्वाट ! ठट्टा नगर न पूर्णिमा !'

'हो भन्या, मेरो यहाँ अरु कोही छैन। किन ठट्टा गर्छु र !'

कस्तो दुस्साहसी केटी रहिछे भन्ने लाग्यो उसलाई।

'खबरै नगरी, केटी मान्छे एक्लै यसरी काठमाडौँ आउने हो? म नभेटेको भए?' उसले लगभग हप्काएको शैलीमा बोल्यो।

'आजकल केटीहरु एक्लै अमेरिका, अष्ट्रेलिया पुग्छन्, मलाई आफ्नै देशको राजधानी आउन के गाह्रो?'

बोलक्कड त उनी थिइन् नै। कुराले जित्न सम्भव थिएन। प्रशन्नले आत्मसमपर्णको भावमा आफ्नो टाउको समात्यो। उसलाई लिएर आफ्नो डेरामा जानुको अर्को विकल्प थिएन। गेट खोलेर पस्न लाग्दा माथि कौशीबाट घरपेटी आमाले हेरिरहेकी थिइन्। प्रशन्नलाई अलि असहज जस्तो महशुस भयो।

'मेरी माईजुकी भदैनी।' घरपेटीआमातिर हेरेर खिसिक्क हाँस्यो, मानौँ स्पष्टिकरण दिन जरुरी नै छ।

भित्र पस्ने बितिक्कै पूर्णिमाले सरसर्ती कोठा अवलोकन गरिन्। एउटा सुत्ने कोठा र जोडिएको सानो भान्छा थियो। एउटा पलङ, एउटा काउच, एउटा टेवल र दूइवटा कूर्चीहरु।

'चिया खान मन लाग्यो', उनी भान्साकोठा तिर लागिन्। प्रशन्न पनि पछि–पछि गयो।

'के काम परेर आयौ, एक्लै?', मनमा कोतुहुलता राखिरहन सकेन र सोध्यो।

'खासमा भन्ने हो भने म घुम्न आएको। तपाइँलाई थाहै छ, मेरो छिट्टै बिहे हुँदैछ। त्यो भन्दा अघि, थोरै भएपनि जीवनको केही स्वतन्त्रता अनुभव गरूँ भनेर आएको। काठमाडौँ कहिले आएकी थिइन, घुम्न चाहन्छु।'

उनी बोल्दै गईन् ।

'मलाई थाहा छ, बिवाह पछि म पराईघर जानेछु। कसैकी श्रीमती बन्नेछु, कसैकी बुहारी त कसैकी भाउजु हुनेछु। एकाध वर्षमा आमा पनि बन्नेछु। घरको चुलो–चौको, खेत–वारी, पानी–पँधेरोमै मेरो जीवन सीमित हुनेछ। त्यो भन्दा पहिले बाहिरको संसार कस्तो रहेछ, अनुभव गर्न चाहन्छु।'

'काठमाडौँ घुम्न मात्र भनेर त तिमीलाई बाबु–आमा, फुपूहरुले पठाऊनु भएन!' प्रशन्नले शङ्का ब्यक्त गर्‍यो।

'मेरो आईएको ट्रान्सकृप्ट हरायो। परीक्षा नियन्त्रण कार्यालयबाट प्रतिलिपी निकाल्न पर्‍यो भनेर आएको। तपाइँलाई भेट्छु भने पछि फूपुले पनि नाइनास्ती गर्नु भएन। यति कुरा मिलाउन आजकलका केटीहरुलाई के गाह्रो? तँपाई कुन जमाना हुनुहुन्छ मेरो फूपुको प्यारो भान्जा–बाबु ?' उनी मज्जाले हाँसिन् ।

प्रशन्न भने हाँस्न सकेन। यो केटीको के चाला हो यो भन्ने सोचिरह्यो।

दुवै मिलेर खाना पकाएर खाए। एकछिन टिभी हेरे। पूर्णिमा सायद बसको यात्राले होला, थाकेकी जस्ती देखिन्थिन्। हाई काढ्न थालिन् र एकैछिनमा सोफामै पल्टिन्। प्रशन्नले उनको लत्रेको टाउकोमा शिरानी राखिदियो। कम्बल पनि ओडाइ दियो। निदाएकी पूर्णिमालाई एकछिन एकोहोरो हेरिरह्यो। मस्तनिद्रामा उनी मायालु देखिन्थिन्। उनको अनुहार निश्चिन्त थियो। शान्त र सुन्दर पनि।

प्रशन्न आफ्नो पलङमा पल्टियो। मनमा अनेक कुरा खेलेर धेरै बेरसम्म निद्रा परेन। यसो के आँखा लाग्न थालेको थियो, केही आवाज आयो। पूर्णिमा सोफाबाट खसिछ। प्रशन्न एक्लै हाँस्यो। पूर्णिमालाई उठाएर पलङतिर लिएर गयो। उनलाई पलङमा सुताएर आफू के उठ्न खोजेको थियो, निन्द्रामै पूर्णिमाको हात प्रशन्नको घाँटीमा बेरियो। पूर्णिमाको तातो श्वास प्रशन्नको अनुहारमा ठोकियो र ईन्द्रियहरुलाई तरङगीत तुल्याएर गयो। प्रशन्नले पूर्णिमाको हात बिस्तारै पन्छायो र आफू चाँहि सोफामा सुत्न गयो।

प्रशन्नले पूर्णिमालाई काठमाडौंमा घुम्नलायकका सबै ठाऊँहरु घुमायो। हरेक दिन उनीहरु कतै न कतै घुम्न गए। पशुपति, बौद्ध, स्वयम्भु, बसन्तपूर, भक्तपुर, पाटन, दक्षिणकाली, नगरकोट, धुलिखेल आदि। धरहरा चढायो। भृकुटीमण्डपको रोटेपिंग पनि खेलायो। न्यूरोडमा पानी–पूरी खुवायो। बानेश्वरमा म.म.। हप्ता बित्यो। दशदिन बित्यो। पूर्णिमाको फर्किने कुरै थिएन। उनी मस्त थिईन् , घुमफिर र रमाईलोमै। केही कुराको परवाह थिएन। चिन्ता थिएन।

मान्छेहरुको भीडभाडमा पूर्णिमा प्रशन्नको पाखुरा चपक्क समाउँथिन्। शुरुमा प्रशन्नले अलि असहज महशुस गरेको थियो।

'हातै त नसमाऊन, चिन्ने मान्छेहरु कोही भेट्यो भने?', प्रशन्न हात छुटाउने असफल प्रयास गर्थ्यो।

'भीडभाडमा हराउलीस्, भाञ्जा बाबुको हात नछोड्नु नि भन्नु भा’को छ फुपूले।' पूर्णिमा खित्खिताएर हाँस्थी।

कुरै कुरामा उनी प्रशन्नको कपाल तान्ने, नाक समाउने, प्याट्ट हान्ने गर्थिन्।सिंढी उक्लिदा प्रशन्नले हात दिनु पर्थ्यो। मन्दिर बाहिर जुत्ता खोल्दा र लगाउँदा प्रशन्नले समाई दिनु पर्थ्यो। कहिले के, कहिले के काम लगाइरहन्थी। एक प्रकारले भन्ने हो भने पूर्णिमाले प्रशन्न माथि हैकम जमाईसकेकी थिई।

पूर्णिमासँगको यो सामिप्यता प्रशन्नलाई पनि मन नपरेको कहाँ हो र। उ सोच्थ्यो, समय यहीं रोकिए पनि हुन्थ्यो। पूर्णिमाको साथ कहिले नटुटे पनि हुन्थ्यो। तर उनको बिवाह अरु कोहीसँग हुँदैछ भन्ने कुराले भने बेला–बेला नमिठोसित झस्काइदिन्थ्यो।

'भयो त तिमीलाई स्वतन्त्रताको अनुभव ?' एकदिन उसले पूर्णिमालाई कुरैकुरामा सोध्यो।

पूर्णिमा एकछिन गम्भीर भइन्। एकटक प्रशन्नको अनुहारमा हेरिरहिन्। केही बेरको मौनतापछि मधुरो स्वरमा बोलिन्।

'गुह्यश्वरी जान बाँकी छ, त्यहाँ एउटा भाकल पूजा गर्नुछ। भोली लगिदिनुहुन्छ? त्यसपछि म फर्किन्छु, तपाइँलाई अरु धेरै दुःख दिन्न।'

पूर्णिमाको फर्किने कुराले प्रशन्नको मुटु धक्क गर्‍यो। कोठाको झ्याल खुलै रहेछ। त्यहीबेला एउटा चिसो सिरेटो चल्यो र उसको मुटु छोएर निस्क्यो।

‘तिमी नजाऊ, यहीँ बस।’ भन्न मन लागेको थियो तर भन्न सकेन। उ त्यो रात राम्ररी निदाउन सकेन।

भोली पल्ट उनीहरु गुह्यश्वरी मन्दिर गए। मन्दिरको ढोकानिर प्रशन्नले मोटरसाईकल रोक्यो।

'तँपाई भित्र जाँदै गर्नूस्, म पूजा–सामाग्री किनमले गर्छु।' पूर्णिमाले भनिन्।

प्रशन्न भित्र गयो। एकछिनमा पूर्णिमा पनि भित्र आईन्। साथमा एउटा पण्डित पनि थियो। प्रशन्नले सोच्यो, सायद भाकल पूजाको लागि होला। पण्डितले दुवैलाई सँगै उभ्यायो र के के मन्त्रोचारण गर्न थाल्यो। संस्कृतको मन्त्र उसले बुझ्ने कुरै भएन। पण्डितले पोकाबाट दुईवटा माला निकाल्यो। एउटा पूर्णिमालाई दियो र एउटा प्रशन्नलाई। प्रशन्नले केही सोच्न भ्याएकै थिएन। पूर्णिमाले माला प्रशन्नको गलामा लगाई दिई। प्रशन्नको हात समातेर तानी र उसको हातको माला पनि आफ्नै घाँटीमा पहिर्‍यई । वरिपरी हेर्ने मान्छेहरु झुम्मिए।

'यो के गर्दैछौ, पूर्णिमा?'

पूर्णिमा केही नबोली आफ्नै काममा ब्यस्त रहिन्। पर्सबाट दुईवटा औंठी निकाली र एउटा प्रशन्नलाई लगाई दिई। अर्को औंठी प्रशन्नलाई दिई र आफ्नो देब्रे हातको साँइली औंला तेस्र्याई। प्रशन्न अलमलमा पर्‍यो। उ केही बोल्न खोज्दैथियो, पूर्णिमाले प्रशन्नको हातै समेत तानेर औंठी आफैं घुसारी। सबैकुरा यति छिटो–छिटो भईरहेको थियो कि प्रशन्नले केही सोच्नै भ्याईरहेको थिएन। उ यन्त्रवत उभिरह्यो ।

पण्डितले एउटा सानो डिब्बा खोल्यो, त्यसमा सिन्दुर थियो। पण्डितले डिब्बा प्रशन्नको अगाडी सार्‍यो।

'ल दुलहीको सिंउदोमा सिन्दूर हाल्नूस्।'

'पख्नूस् पण्डितजी!' प्रशन्न बल्ल होसमा आएको जस्तो भयो। 'यो के हुँदैछ, पूर्णिमा?'

'तँपाई यति पनि बुझ्नुहुन्न? हाम्रो विवाह हुँदैछ।'

'हाम्रो बिवाह कसरी हुनसक्छ?'

'के तँपाई मलाई माया गर्नु हुन्न? गर्नुहुन्न भने ठिकै छ, मलाई सिन्दूर नहाल्नूस्।' पूर्णिमाको स्वर शुष्क भयो, 'म फर्किन्छु र जोसंग मेरो बिहे छिनिएको छ, उसैसँग बिवाह गर्छु।'

'म तिमीलाई माया गर्छु, पूर्णिमा । तर के यसरी हाम्रो बिवाह हुन जरूरी छ र? माईजुलाई मैले कसरी मुख देखाउनू?'

'मेरो अर्कै केटासँग कुरा छिनिसकेको छ, तँपाईलाई थाहा छदैंछ। त्यो विवाह तोड्ने अरु कुनै तरीका छ? तँपाई मलाई मन पराउनुहुन्छ। माया पनि गर्नु हुन्छ, बस त्यो भन्दा बढी केही गर्न सक्नु हुन्न। तपाईको भर परीरहेँ भने त म अर्कैको घरको दैलो पोत्न पुग्नेछु। रह्यो फूपुको कुरा, वहाँको चिन्ता नगर्नूस्। यहाँ के के हुदैछ, मैले फूपुलाई हरेक दिन जानकारी दिइरहेकी छु। वहाँकै सहमतिमा यो हुँदैछ।'

'अहिले त मेरो भर्खर पढाइ सकिएको छ। नोकरी पनि छैन ।'

'बिएस्सीसम्म पढ्नु भएको छ, एउटा जागीर त जसरी पनि पाउनुहुन्छ । म पनि निरक्षर त होईन, केही न केही त गरिहाल्छु।'

'ल यो सिन्दूर लगाईदिनुहुन्छ कि, मैले जबरजस्ती गर्न पर्‍यो?', उनी कड्किइन् ।

'यति त मलाई आफैँ गर्न देऊ पूर्णिमा।' प्रशन्न मुसुक्क हाँस्यो ।

प्रशन्नले पूर्णिमाको सिउँदो सिंदूरले रंगायो। पूर्णिमाको आँखाबाट आँशू बरर्र झरे।

प्रशन्नले पूर्णिमालाई अँगालोमा लियो। मन्दीर भीडको तालीले गुञ्जियो।

समाप्त





यसमा तपाईको मत

अन्य समाचार

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

Ncell Footer Ad