१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रशासन भ्रष्ट हुँदै गएपछि लोकसेवाले नैतिक शिक्षा लागू गर्‍याे

काठमाडौं – लोकसेवा आयोगले सहसचिव तहको पाठ्यक्रममा नैतिक मूल्यमान्यतासम्बन्धी पत्र समावेश गरेर गत वर्षदेखि परीक्षा लिन सुरु गरेको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष२०७३/७४को वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले अप्राविधिकतर्फको सहसचिवको परीक्षामा नैतिक मूल्यमान्यतासम्बन्धी पत्र समावेश गरेर गएको गएको वर्षदेखि परीक्षा लिन सुरु गरेको जनाएको हो । ‘हाल अप्राविधिकतर्फको सहसचिवको परीक्षामा नैतिक मूल्य मान्यता सम्बन्धी विषय समावेश गरिएपनि चाँडै नै प्राविधिक तर्फकोमा पनि समावेश गरिनेछ।’ आयोगका प्रवक्ता लक्ष्मी विलास कोइरालाले नागरिकन्यूजसँग भने, ‘लगातारका चुनावमा कर्मचारीको खटनपटन भइरहेकाले निर्णय हुन बाँकी छ । आयोगले आफ्नो तर्फको तयारी पुरा गरेको छ ।’

(राष्ट्रपतिसमक्ष अायोगको ५८ अौ‌ प्रतिवेदन बुझाउँदै अायोग अध्यक्षा उमेश मैनाली) 

अहिले अप्राविधिकतर्फका प्रशासन, परराष्ट्र, लेखापरीक्षण, संसद, न्याय सेवा अन्तर्गतका सबै राजपत्रांकित प्रथम श्रेणी (सहसचिव वा सो सरहका पद) का लागि द्वितीय पत्र अन्तर्गत नैतिक शिक्षा पत्र समावेश गरिएको छ । ‘सार्वजनिक क्षेत्र व्यवस्थापनमा जवाफदेहिता र व्यवसायिकता’ शीर्षक दिइएको पाठ्यक्रमको उद्देश्यमा भनिएको छः ‘उच्च तहका कर्मचारीको लोकतान्त्रिक निजामती सेवाको अन्तरङ्ग मूल्यहरु, उच्च व्यवसायिक नैतिकता, इमानदारिता, निष्पक्षता, वस्तुनिष्ठ, न्याययुक्त, सदाचारी (भ्रष्ट प्रवृत्ति नभएको), कानुनी राज्यप्रति प्रतिबद्ध, स्पष्टवक्ता, प्रशासनको दिशानिर्देश गर्नसक्ने, मातहतका कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुको यथोचित संलग्नता र सहभागिताबाट लोकतन्त्रको प्रतिफल वितरण गर्न सक्ने व्यक्तिको रुपमा सबैले विश्वास गर्ने जस्ता कौशल/क्षमता/गुणहरुको परीक्षण गर्ने रहेको छ।’ तीन खण्डमा विभाजन गरिएको पाठ्यक्रमको पहिलो खण्डमा आचरण र नैतिकता, दोस्रो खण्डमा सार्वजनिक जवाफदेहिता र तेस्रो खण्डमा सार्वजनिक क्षेत्र व्यवस्थापनमा व्यवसायिकता अन्तर्गत विविध विषय समावेश गरिएको छ ।

नैतिक शिक्षाको पाठ्यक्रम हेर्नुहोस्

मुलुकभित्र नैतिकता र मूल्यमान्यताको अवस्था खस्कँदो रहेको बताइरहेका बेला आयोगले बदलिँदो परिस्थितिअनुसार सरकारी सेवामा सुधारका केही प्रयास थालिएको उल्लेख गरेको छ । राजनीतिक तहदेखि नै भ्रष्ट प्रवृत्ति मौलाउँदै गएको सन्दर्भमा कर्मचारी प्रशासन अछुतो नरहेको प्रवक्ता कोइरालाले बताए । उनले भने, ‘राजनीति र प्रशासन मात्र नभइ समाज नै भ्रष्ट बन्दै गएको छ ।’

प्रवक्ता कोइरालासँगको अन्तर्वार्ता सुन्नुहोस् ।

 

प्रकाशित: ९ मंसिर २०७४ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App