७ वैशाख २०८१ शुक्रबार
खेल

हारे पनि आर्सनल अन्तिम ३२ मा

पेरिस– आर्सनलले कोलोनसँग पराजित भए तापनि युरोपा लिगको अन्तिम ३२ मा स्थान पक्का गरेको छ।

बिहीबार सम्पन्न समूह ‘एच’ को खेलमा आर्सनलले कोलोनलाई १–० को नतिजा सुम्पिएको हो।
६२औं मिनेटमा सेरोउ ग्युरासेले पेनाल्टीमा गरेको गोल कोलोनको जितका लागि पर्याप्त बनेको थियो।
समूहको अर्को खेलमा ब्रिसोभ र रेड स्टार बेलग्रेडले गोलरहित बराबरी खेलेपछि आर्सनलले एक खेलअगावै अघिल्लो चरणमा स्थान पक्का गरेको हो । यस नतिजापछि ५ खेलको समाप्तिमा ६ अंक जोडेको कोलोनले दोस्रो स्थानमा उक्लिँदै अन्तिम ३२ मा प्रवेश गर्ने सम्भावनालाई जीवित राखेको छ ।  समान खेलमा १० अंक जोडेको आर्सनल समूहको शीर्ष स्थानमा तथा ६ अंक जोडेको बेलग्रेड तेस्रो र ५ अंक जोडेको ब्रिसोभ अन्तिम स्थानमा छन्।

‘यस खेलमा हामीले पाएका अवसरलाई गोलमा परिणत गर्न विफल भयाैँ तर कोलोनले पाएको एउटै अवसरलाई गोलमा परिणत गर्दै हामीसँग तीन अंक खोस्न सफल भयो,’ आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले भने।
यता सात पटकको युरोपियन च्याम्पियन एसी मिलानले पनि प्रतियोगिताको अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।
समूह ‘डी’ को खेलमा मिलानले अस्ट्रिया भियनामाथि ५–१ को सहज जित हात पारेको हो।

२१औं मिनेटमा क्रिस्टोफ मौस्चेनले गरेको गोलमा भियनाले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि सिकार्डो रोड्रिग्वेजले गरेको गोलमा मिलान खेलमा फर्किएको थियो । ३६औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै  मिलानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि प्याट्रिक कट्रोनेले गोल गर्दै मिलानको अग्रता बढाएका थिए।

७० औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै टोलीको अग्रता ४–१ मा पुर्‍याएका थिए । खेलको अन्तिम मिनेटमा कट्रोनेले गरेको गोलमा मिलानले सहज जितका साथ अघिल्लो चरणमा स्थान पक्का गरेको हो।

यस नतिजापछि  ५ खेलको समाप्तिमा ११ अंक जोडेको मिलान समूह ‘डी’ को शीर्ष स्थानमा र ७ अंक जोडेको एके एथेन्स दोस्रोमा छन् । समान खेलमा समान ४÷४ अंक जोडेको भियना र रिजेका क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
त्यस्तै एट्लान्टाले एभर्टनमाथि ५–१ को सानदार जित हात पार्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान पक्का गरेको छ। 

एट्लान्टाको जितमा ब्रायन क्रिस्टान्टे र आन्द्रियाज कोर्निल्युसले समान २/२ गोल गरेका थिए । त्यस्तै रोबिन गोसेन्सले एक गोल गरे । एभर्टनका सान्ड्रो रामिरेजले सान्त्वना एक गोल गरेका थिए।

यस जितपछि ५ खेलको समाप्तिमा ११ अंक जोडेको एट्लान्टा शीर्ष स्थानमा यथावत् छ । समान खेलमा समान ११ अंक जोडेको लियोन गोलअन्तरमा पछि पर्दैै दोस्रो र ३ अंक जोडेको एपोलन लिमासोल तेस्रो स्थानमा छन् । यता लिगका पाँचमध्ये ४ खेल गुमाएको एभर्टन १ अंकका साथ अन्तिम स्थानमा छ।

बिहीबारै सम्पन्न अन्य खेलमा लाजियोले भिट्नेसेसँग १–१ को बराबरी खेल्दै समूह ‘के’ को विजेताका रूपमा अन्तिम ३२ मा स्थान पक्का गर्दा सोही समूहको अर्को खेलमा ज्युलटे बारिजेमलाई ३–१ ले पराजित गरेको निसले समूह उपविजेताको रूपमा अघिल्लो चरणमा स्थान बनाएको हो।

त्यस्तै साल्जबर्गले समूह ‘आई’ को विजेता र मार्सेलले उपविजेता तथा भिलारियालले समूह ‘ए’ को विजेताका रूपमा अन्तिम ३२ को टिकट काटेका छन्।

समूहको अर्को खेलमा ब्रिसोभ र रेड स्टार बेलग्रेडले गोलरहित बराबरी खेलेपछि आर्सनलले एक खेलअगावै अघिल्लो चरणमा स्थान पक्का गरेको हो।

प्रकाशित: ९ मंसिर २०७४ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App