coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोट हाल्ने मतदाता धमाधम भित्रिदै

खोटाङ– खोटाङमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्नका लागि मतदाता भित्रिनेक्रम बाक्लिएको छ । आइतबार हुने निर्वाचनमा भोट हाल्नका लागि राजधानी काठमाडौंलगायतका शहरबाट मतदाता जिल्ला भित्रिनेक्रम बढेको हो । केही दिनयता बाहिरिनेभन्दा जिल्ला भित्रिने यात्रु बढी देखिएको खोटाङ यातायात व्यवसायी संघका काउण्टर प्रमुख अमिर अधिकारीले बताए ।
शुक्रबारयता दिक्तेलबाट बाहिरिनेभन्दा भित्रिने बस तथा जीपको संख्या बढी छ । उनका अनुसार निर्वाचनका कारण दिक्तेलबाट बाहिरिने यात्रुको संख्या घटेको र सदरमुकाम भित्रिने यात्रुको चाप बढेको छ । ‘दिक्तेल आउने गाडीमात्र चलिरहेका छन्,’ अधिकारीले भने, ‘बाहिरिने गाडी त दिनमा एक÷दुई वटा मात्र देखिन्छ ।’
खोटाङ र ओखलढुंगाको जयरामस्थित दुधकोसीमा पक्की पुल निर्माण भएपछि शुक्रबारदेखि जिल्ला भित्रिने मतदाता बढि देखिएका छन् । दुधकोसीमा पुल नहुँदा गाडी परिवर्तन गरिरहनुपर्ने झन्झट हुने भएकाले पुलको प्रतिक्षामा बसेका अधिकांश मतदाता पुल सञ्चालनमा आएपछि जिल्ला भित्रिरहेका छन् ।
राजधानी काठमाडौं, पूर्वको धरान, बिराटनगर लगायतका ठाउँबाट जयराममा आइपुगेका यात्रुले गाडी पाउन नै मुस्किल भएको बताएका छन् । निर्वाचनमा योग्य उम्मेद्वारलाई भोट दिने अवसर नछुटाउनका लागि मतदाता घर फर्किरहेका छन् । कतिपय मतदाता निर्वाचनकै दिनसमेत मतदान केन्द्र आइपुग्ने गरेका छन् ।
 

मतदाता पनि गाउँ केन्द्रित
निर्वाचन मिति एक दिनमात्र बाँकी रहेपछि खोटाङका सदरमुकाम दिक्तेल र बजार सुनसान हुन थालेका छन् । सदरमुकाम तथा व्यापारिक केन्द्रमा बसोबास गर्ने मतदाता भोट हाल्नका लागि गाउँ केन्द्रित भएपछि दिक्तेल बजार सुनसानजस्तै भएको छ । हाल निर्वाचनका कारण अधिकांश मतदाता गाउँ केन्द्रित भएका छन् ।

 

प्रकाशित: ९ मंसिर २०७४ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App